 
                             
                                            काठमाडौँ- विभिन्न राजनीतिक दलका नेताहरूले मधेश प्रदेशका आठ जिल्लामा खानेपानीको खडेर परेको भन्दै विशेष वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
बिहीबार आयोजित साक्षात्कारमा नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज तथा स्थायी कमिटी सदस्य लिलानाथ श्रेष्ठले ५१ प्रतिशत रोपाइँ बाँकी भएको सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, धनुषा, महोत्तरी र रौतहट जिल्लामा पानीको लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरे।
उनले भने, ‘तराईमा यही साउन १५ गतेपछि बाँकी धान रोपाइँ गर्ने भएको छ, मधेश सुक्खाग्रस्त क्षेत्र बन्नुको मुख्य कारण जलवायु संकट नै हो, वन–जंगलको विनाशको कारण हो, तत्काल सरकारले चुरे किनारामा ठूलो–ठूलो पोखरी, ताल निर्माण गर्नुपर्छ।’ तराई क्षेत्र सुक्खा भइरहेको अवस्थामा संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले ठोस नीति बनाएर तत्काल राहत दिनुपर्ने उनको भनाइ छ।
जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले प्राकृतिक दोहनको कारण तराईका क्षेत्रमा खडेरी परेको उल्लेख गर्दै सरकारले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरे। उनले भने, ‘जलवायु संकटको व्यापक असर नेपालमा परेको छ, पानी नपरेपछि अहिले मधेशमा असर परेको छ, मधेश कृषिप्रधान, कृषिमा आधारित क्षेत्र हो, यसमा नै असर पर्न गयो, चुरे दोहन हुनु मुख्य कारण हो।’
मधेशमा ५१ प्रतिशत धान रोपाइँ भए पनि पानी नभएका कारण खेत चिरा–चिरा भएको उनको भनाइ छ। उनले भने, ‘मधेशमा पूर्णतः सिँचाइको वातावरण बनाउनुपर्छ, गाउँ, टोलको पानी सुकेको छ, जमिनमुनिको आन्तरिक स्रोत पनि सुकेको छ, यसको बारेमा सरकारले तत्काल वैकल्पिक माध्यम अपनाउनुपर्छ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 