
काठमाडौँ- यही साउन १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ ले प्रचार अभियानमा विशेष सक्रियता देखाएको छ। काठमाडौँ उपत्यकाभित्रका विभिन्न क्याम्पसमा पुगेर फिल्मको टोलीले फरक र प्रभावशाली शैलीमा प्रचार कार्यक्रम सञ्चालन गरिरहेको छ।
क्याम्पस केन्द्रित प्रचार अभियानमा फिल्मका निर्देशक विभोर पोखरेल, चर्चित गायक रामचन्द्र काफ्ले, लोकप्रिय कवि नाथन रायन तथा कलाकारहरू प्रमोद चौलागाईं, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको सक्रिय सहभागिता रहेको छ। उनीहरूले हालसम्म विनायक सिद्ध कलेज, द इनसाइट भिजन एसएस कलेज, साइपाल एकेडेमी लगायतका शिक्षण संस्थामा पुगेका छन्।
प्रचार विशेषता कविता र गीतको संयोजन हो। कवि रायनले आफ्ना भावनात्मक र मार्मिक कविताहरू प्रस्तुत गर्दा गायक काफ्लेले त्यसमै संगीत र स्वर थपेर विद्यार्थीलाई भावनात्मक रूपमा छोइरहेका छन्।
कविता वाचन, गीत प्रस्तुति र प्रत्यक्ष संवादमार्फत फिल्मको सन्देश प्रभावकारी रूपमा सम्प्रेषण गरिएको छ। फिल्मकै सन्दर्भमा कवि रायनले विशेष कविता रचना तथा वाचन गरेका छन् जुन फिल्ममा पनि समावेश गरिएको छ। नेपाली फिल्ममा कम प्रयोग हुने कविता विधालाई प्रमुख स्थान दिएको यो फिल्म फरक शैलीमा प्रस्तुत हुँदैछ।
यसैबीच, फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ। जसमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाले भोगेका संघर्ष र पीडाको चित्रण गरिएको छ। निर्देशक पोखरेलका अनुसार फिल्मले नेपाली श्रमिकहरूको वास्तविक कथा बोल्ने प्रयास गरेको छ। फिल्मको शीर्षक ‘रियाल रिङ्गेट’ नै कतार, साउदी अरब र मलेसिया जस्ता नेपाली श्रमिक गन्तव्य मुलुकलाई संकेत गर्छ।
फिल्ममा प्रमोद चौलागाईं, निता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ। संगीत पक्षमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसी को योगदान रहेको छ। प्रचारको यो सिर्जनात्मक शैलीले दर्शकको ध्यान तान्न सफल भएको देखिएको छ।