
काठमाडौँ- थाइल्यान्ड र कम्बोडियाबीचको सीमा क्षेत्रमा रहेको एक मन्दिरका कारण उत्पन्न तनाव फेरि सैन्य झडपमा परिणत भएको छ। पछिल्लो समय भएका झडपहरूमा कम्तीमा १२ जनाको मृत्यु भएको र १४ जना घाइते भएको जनाइएको छ। थाइल्यान्डका स्वास्थ्यमन्त्रीका अनुसार झडपमा एक सैनिक र ११ सर्वसाधारण मारिएका छन्। दुवै पक्षले एकअर्कामाथि पहिले गोली प्रहार गरेको आरोप लगाएका छन्।
माइन विस्फोटपछि चुलियो तनाव
एक दिनअघि सीमा क्षेत्रमा एक ल्यान्ड माइन विस्फोट हुँदा थाई सैनिक घाइते भएका थिए। जसपछि थाइल्यान्डले कम्बोडियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो।
सीमामा बिहीबार बिहानैदेखि दुवै मुलुकका सैनिकबीच गोली हानाहान भइरहेको छ। कम्बोडियाको सैन्यस्थलमा हवाई आक्रमण गरेको थाइल्यान्डले दाबी गरेको छ।
कम्बोडियाले थाईको ग्रामीण क्षेत्र र अस्पतालमाथि रकेट प्रहार गरेको थाइल्यान्डले आरोप लगाएको छ। कम्बोडियाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठकको माग गर्दै थाइल्यान्डले अत्याधिक बल प्रयोग गरेको आरोप लगाएको छ।
कसरी सुरू भयो विवाद?
कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार ६ः३० बजे थाई सैनिकहरूले सीमास्थित ११ शताब्दीको हिन्दू मन्दिरनजिक काँडेतार लगाउने प्रयास गरेपछि स्थिति तनावग्रस्त बन्यो।
थाई सैनिकहरूले ड्रोन पठाएको र त्यसपछि ८ः३० बजे हवाई फायरिङ गरेको दाबी गरिएको छ। कम्बोडियाका अनुसार थाइल्यान्डले अत्यधिक सैनिक परिचालन, भारती हतियार प्रयोग र हवाई आक्रमण गरेर आक्रामकता देखाएको हो।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले सामाजिक सञ्जालमा लेखेका छन्,‘हामी संवादमार्फत समस्या समाधानको पक्षमा थियौँ। तर, सैन्य कारबाहीको जवाफ सैन्य शक्तिबाट दिनुबाहेक विकल्प छैन।’
थाइल्यान्डले के भन्यो?
थाइल्यान्डको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले कम्बोडियाली सेनाले ड्रोनमार्फत निगरानी सुरू गरेको र त्यसपछि आरपीजी बोकेका सैनिकहरू सीमा क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका छन्। थाई सैनिकले संवादको प्रयास गरे पनि ८ः२० बजे गोलीबारी सुरू भएको दाबी गरेको छ।
विवादको इतिहास
दुवै मुलुकबीच सीमा विवादको जरो सय वर्षभन्दा पुरानो हो। फ्रेन्च उपनिवेशकालमा सीमांकन गरिँदा विवाद उत्पन्न भएको थियो। सन् २००८ मा कम्बोडियाले यो मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा राख्न खोज्दा तनाव चुलिएको थियो।
त्यसयता दुवै देशबीच पटकपटक झडप हुँदै आएको छ। पछिल्लो तनाव मे महिनामा एक कम्बोडियाली सैनिकको मृत्युपछि बढेको हो।
अब के हुन्छ?
विश्लेषकहरूका अनुसार अहिले कुनै पनि पक्षसँग तनाव नियन्त्रण गर्ने नेतृत्व क्षमता देखिएको छैन। कम्बोडियामा आर्थिक संकट, कमजोर नेतृत्व र पूर्वप्रधानमन्त्री हुन सेनको राष्ट्रवादी प्रभाव रहेको छ।
थाइल्यान्डमा अस्थिर गठन सरकार रहेको र त्यहाँ पनि राजनीतिक अस्थिरता कायम रहेको विश्लेषकहरूको भनाइ छ। दुवै मुलुक शान्ति स्थापनाका लागि आसियान राष्ट्रहरूले पहल गर्ने आशा गरिएको छ। (बीबीसीको सहयोगमा)