सांसदहरूले उठाए सडक, जलवायु, कृषि, शिक्षा विधेयक, बालअधिकारका सवाल

हिमाल प्रेस ८ साउन २०८२ १६:५७
104
SHARES
सांसदहरूले उठाए सडक, जलवायु, कृषि, शिक्षा विधेयक, बालअधिकारका सवाल

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक मुद्दा उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै उनीहरूले सडक निर्माणको ढिलाइ, जलवायु परिवर्तनको असर, कृषि संकट, बालबालिकामाथिको हिंसा, आत्महत्या दरको वृद्धि, साइबर सुरक्षाको अभाव, लाइसेन्स तथा परिचयपत्र वितरणको जटिलता तथा सार्वजनिक सेवामा हुने अनियमितता जस्ता विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरे।

कपिलवस्तु क्षेत्रका सांसद सराज अहमद फारुकीले पूर्वाधारको अभाव, शिक्षा र बेरोजगारीको समस्या, सामाजिक असमानता, जातीय भेदभाव तथा प्राकृतिक विपद्को जोखिम समाधानका लागि तीनै तहको सरकारबीच समन्वय अपरिहार्य रहेको बताए। सांसद सरिता भुसालले डिजिटल कारोबारबाट विदेशी मुद्रा भित्र्याउन कठिनाइ भइरहेकाले प्रक्रिया सहज बनाउन माग गरिन्। सांसद शान्ति चौधरीले स्मार्ट लाइसेन्स र राष्ट्रिय परिचयपत्र समयमै वितरण नहुनु नागरिकप्रति अन्याय भएको बताउँदै शीघ्र वितरणको माग गरिन्।

सांसद सीताकुमारी रानाले बालबालिकामाथि हुने हिंसा, श्रम शोषण र यौन दुर्व्यवहारका घटनाले उनीहरूको भविष्य प्रभावित भइरहेको भन्दै यस्ता कार्य तुरुन्त अन्त्य गर्न आग्रह गरिन्। सांसद सीता मिजारले सर्पदंशका कारण जनधनको क्षति भइरहेकाले जनचेतना अभियानसँगै प्रत्येक गाउँपालिकामा प्रभावकारी उपचार सुविधा पुर्‍याउन माग गरिन्।

सांसद सुनिता बरालले गत आर्थिक वर्षमा ६ हजारभन्दा बढी व्यक्तिले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक गर्दै मानसिक स्वास्थ्य सेवा तथा साइबर सुरक्षाको आवश्यकता औंल्याइन्। सांसद सुरेन्द्रराज आचार्यले पटक–पटक म्याद थपिँदा पनि नारायणगढ–बुटवल सडकखण्ड निर्माण नहुनु यात्रुका लागि दुःखदायी भएको बताए। सांसद सुशीला सिर्पाली ठकुरीले पुनः लोडसेडिङको सम्भावनाले आमनागरिक चिन्तित भएको भन्दै सरकारले तुरुन्त ध्यान दिनुपर्ने धारणा राखिन्।

सांसद सुशीला श्रेष्ठले उदयपुरको सडक निर्माणमा ढिलाइ भएको बताउँदै शीघ्र काम अघि बढाउन आग्रह गरिन्। सांसद सूर्यप्रसाद ढकालले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालगन्ज–दिल्ली हवाई उडान तथा नेपालगन्ज भन्सारलाई सुक्खा बन्दरगाह बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने बताए। सांसद सञ्जयकुमार गौतमले पूर्व–पश्चिम राजमार्गमा सडक डिभाइडर र ट्राफिक चेकजाँचको शैलीले नागरिकमा आतंक सिर्जना गरिरहेको भन्दै त्यसको पुनरावलोकन गर्न माग गरे।

सांसद हर्कमाया विश्वकर्माले इलाम नगरपालिकाका एम्बुलेन्स चालकलाई राजनीतिक प्रतिशोधका कारण हटाइएको भन्दै पुनः रोजगारी सुनिश्चित गर्न आग्रह गरिन्। सांसद हितराज पाण्डेले सिँचाइको अभावले किसान मर्कामा परेको र पहाड–तराई दुवै क्षेत्रका लागि पानी व्यवस्थापन आयोजना सञ्चालन गर्नुपर्ने बताए। सांसद हेमराज राईले संसद्मा ‘भिजिट भिसा’ विषयमा अनियन्त्रित अभिव्यक्ति दिने सांसदहरूको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मर्यादा कायम गर्न आग्रह गरे।

सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयक समितिमा सर्वसम्मत पारित भए पनि छलफलमा नलिइएकाले तुरुन्त प्रक्रिया अगाडि बढाउन माग गरे। सांसद ज्ञानु बस्नेत सुवेदीले विद्यालय शिक्षा विधेयक लामो समयदेखि अलपत्र रहेको भन्दै यसलाई शीघ्र टुंगोमा पुर्‍याउन आग्रह गरिन्। सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मधेशलाई विपद् सङ्कटग्रस्त घोषणा गरिए पनि किसानको वास्तविक समस्या समाधान गर्न कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए।

प्रकाशित: ८ साउन २०८२ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast