सरकारलाई चन्द्र भण्डारीको प्रश्न- त्रिभुवन विश्वविद्यालय किन बन्द भइरहन्छ?

हिमाल प्रेस ८ साउन २०८२ १६:३६
16
SHARES
सरकारलाई चन्द्र भण्डारीको प्रश्न- त्रिभुवन विश्वविद्यालय किन बन्द भइरहन्छ?

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले त्रिभुवन विश्वविद्यालय पटकपटक बन्द हुनुमा सरकारको उदासीनता र अकर्मण्यता जिम्मेवार रहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधारमा सरकार पूर्ण रूपमा असफल भएको बताएका हुन्।

पछिल्लो समय तीव्र रूपमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधिमा आधारित पाठ्यक्रम निर्माणमा समेत सरकारले ढिलाइ गरेको भन्दै उनले आपत्ति जनाए।

भण्डारीले प्रश्न गरे, ‘सरकार छ, मन्त्रालयहरू छन्, विज्ञहरू छन् तर त्रिभुवन विश्वविद्यालय किन बन्द भइरहन्छ? सरकारले समस्या किन समाधान गर्न सक्दैन? विश्वविद्यालयले नयाँ कार्यक्रमहरू किन ल्याउन सक्दैन?’

विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनका लागि विश्वविद्यालय सुधार आवश्यक रहेको भन्दै उनले जिम्मेवारविहीन सरकारका कारण शिक्षा क्षेत्र नै ध्वस्त हुँदै गएको टिप्पणी गरे।

फार्मेसी, इन्जिनियरिङ, पारामेडिकल जस्ता विषयहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको माग बढ्दो छ तर त्यस्ता कार्यक्रमहरू सञ्चालनमा सरकारले चासो नदिएको उनले बताए।

युवा विदेश पलायन भइरहेका छन् तर सरकार र दलालहरूको मिलेमतोमा त्यसलाई रोक्ने कुनै गम्भीर प्रयास नभएको भण्डारीको आरोप थियो। उनले सबै पेसामुखी शिक्षा सार्वजनिक विश्वविद्यालयहरूबाटै उपलब्ध गराई आर्थिक कारणले पढ्न नपाउने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ८ साउन २०८२ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast