
काठमाडौँ– सांसदहरूले मधेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर मात्र सरकारको दायित्व पूरा नहुने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसदहरूले संकटग्रस्त र सुख्खा क्षेत्र घोषणा गरेर मात्र सरकारको दायित्व पूरा नहुने बताउँदै समस्या समाधानतर्फ ध्यान दिन ध्यानाकर्षण गराएका हुन्।
नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले मधेश प्रदेशमा तत्काल पिउने पानीको आपतकालिन आपूर्ती र पानीका स्रोतको मर्मतमा कदम चाल्न सरकारको ध्यानार्कषण गराए। आकस्मिक समयमा बोल्दै उनले मधेस प्रदेशलाई विपद संकट क्षेत्र घोषणा गरेता पनि समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै खेद प्रकट गरे।
मधेशमा सिँचाइ र खानेपानीको अभावबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराएका उनले पानीमाथि राजनीतिक नियन्त्रण भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।
‘सिँचाइको अभाव र खानेपानीको अभावमा बाचिरहेका मधेशका नगरिकको समस्यामा सरकार रमिते बनिरहेको छ,’ सांसद श्रेष्ठले भने, ‘पिउने पानीको आपतकालिन आपूर्ति र पानीका स्रोतको मर्मतमा तत्काल चाल्न सक्ने कदम पनि चालेको छैन। नयाँ डिप बोरिङको राजनीतिले छिमेकी जिल्लाका मन्त्रीका निर्वाचन क्षेत्रका जनतालाई राहत मिल्ला तर मधेशका जनतालाई अन्य सात जिल्लाका नागरिकले सरकारले महसुस गर्न पाएका छैनन।’
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषण गरेको थियो। त्यसअघि असारमा बसेको मन्त्रिपरिषद्को बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले मधेशमा पानीको अभावसम्बन्धी विषय सम्बोधनका लागि बजेट छुट्याउनुपर्नेमा जोड दिइन्।
‘सुख्खाग्रस्त क्षेत्र घोषणा मात्र गरेर पुग्दैन। त्यहाँका जनताले खानेपानी पाएका छैनन्। खानेपानी र सिँचाइको व्यवस्था गर्नुप¥यो,’ उनले भने, ‘बजेट रकमान्तर गरेर भए पनि मधेसमा पानीको समस्या समाधान गर्न आग्रह गर्दछु।’
नेकपा (माओवादी केन्द्र) का सांसद बिमला सुवेदीले रसुवाको नौकुण्ड गाउँपालिकामा दुई बालिकाको शंकास्पद मृत्यु भएको भन्दै उक्त घटनाबारे ढिलासुस्ती नगरी अनुसन्धान गर्न ध्यानार्कषण गराइन्।
बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले डेङ्गी सङ्क्रमण बढन थालेको भन्दै ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी बनाउन सम्बन्धीत निकायको ध्यानार्कषण गराए।
सभामुखमार्फत सम्बन्धीत मन्त्रालयको ध्यानार्कषण गराउदै उनले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्नेपर्नेमा जोड दिए।