
तनहुँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले विद्यालय शिक्षा विधेयक-२०८० संसद्मा पुर्याउन गरिएको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराएका छन्।
उनले सरकारले समयमै विधेयक टुंगोमा पुर्याउन नसकेको प्रसंगलाई शिक्षाप्रतिको गैरजिम्मेवार दृष्टिकोणको उदाहरणका रूपमा आज सामाजिक सञ्जालमा उल्लेख गरेका हुन्।
भट्टराईले शिक्षा विधेयक अब ढिलाइ नगरी छिट्टै प्रतिनिधिसभाबाट पारित गर्ने गरी सरकारलाई दबाब दिन सरोकारवालालाई आग्रह गरे। ‘अब बहानाबाजी गरेर विधेयक रोक्नु गम्भीर भूल हुनेछ। यसले झन् जटिलता निम्त्याउनेछ’ उनले भने।
हरेक सरोकारवालासँग सम्झौता गर्ने तर कार्यान्वयनमा आर्थिक भार देखाउँदै पछि हट्ने प्रवृत्ति आफैँमा राज्यप्रतिको गैह्रजिम्मेवारी भएको भट्टराईले बताए। उनले कर प्रणाली र भ्रष्टाचार नियन्त्रणमा सरकारले कडाइ गरेको भए शिक्षा क्षेत्रमा लगानी गर्न आर्थिक अभाव नहुने बताए। ‘एनसेलको कर, बिजुलीको महसुल नियमित उठे र भ्रष्टाचार घटे पैसाको अभाव हुँदैन,’ उनले भने।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई सम्बोधन गर्दै भट्टराईले युगअनुसारको शिक्षा प्रणाली निर्माणतर्फ ध्यान दिन आग्रह गरे। ‘दश वर्षपछि पर्ने आर्थिक भार देखाएर आजका सुधारहरू टार्ने हो भने स्वर्णिम युगको कल्पना मात्र हुनेछ,’ उनले भने।
शिक्षा क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजानुपर्ने र यसको विषयमा संसद्मा पर्याप्त बहस नहुनु दुःखद् रहेको उनको टिप्पणी छ। ‘हामीले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक तयार गर्नुपर्ने हो। तर, अभिभावकलाई जिम्मेवार बनाउने नीतिबारे बहस नै भइरहेको छैन,’ उनले भने।
फिनल्याण्ड र चीनजस्ता मुलुकमा अभिभावक शिक्षा अनिवार्य गरिएको सन्दर्भ उल्लेख गर्दै उनले नेपालमा पनि यस्ता नीति आवश्यक रहेको बताए। ‘के हाम्रा अभिभावक बालबालिकाको भविष्यप्रति पूर्ण जिम्मेवार छन्?’ भट्टराईले प्रश्न गरे।
लामो समय शिक्षामा समर्पित शिक्षकलाई सरकारले ‘बहिर्गमन’ को बाटो देखाएको भन्दै भट्टराईले असन्तुष्टि जनाए। ‘लडाकु व्यवस्थापनमा अर्बौं खर्च गर्न सक्ने सरकारले शिक्षकको उचित व्यवस्थापन किन गर्न सक्दैन,’ उनले भने।
त्यसैगरी उनले शिक्षकको गरिमा घटाउने समितिभित्रका बहसप्रति पनि आपत्ति जनाए। पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठप्रति टिप्पणी गर्दै भट्टराईले भने,‘तपाईं देश निर्माणको उमेरमा बिदेसिनुभयो, आज तपाईंको सम्पत्ति विवरणमा कराेडाैं देखिन्छ तर सामाजिक क्षेत्रमा योगदान किन दिन सक्नुभएन?,’ उनले भने। आफू सामान्य शिक्षक भए पनि समाज सुधारका लागि योगदान दिइरहेको उल्लेख गर्दै उनले श्रेष्ठको टिप्पणीलाई ‘शिक्षक विरोधी र खेदजनक’ भने।