
काठमाडौँ- भिजिट भिसा प्रकरणमा संसदीय छानबिन गठन गरी गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। दुवै दलका एकएक जना सांसदले सम्बोधन गरेपछि उनीहरू सदनबाट बाहिरिएका छन्। यो दृश्य प्रतिनिधिसभा बैठकमा झन्डै २ महिनायता देखिँदै आएको छ।
बिहीबार बैठकको सुरुमा रास्वपाकी सांसद तोसिमा कार्की र राप्रपाका सांसद दीपकबहादुर सिंहले बोलेर बैठक छाडेका हुन्।बुधबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाकी सांसद विन्ध्यवासिनी कंसाकारले बोलेर बहिष्कार गरेका थिए। दुई दलका सांसदले बहिष्कार गरे पनि सभामुख देवराज घिमिरेले बैठक चलाउँदै आएका छन्।
भिजिट भिसा प्रकरणमा पहिलोपटक जेठ १३ गते माओवादी, रास्वपा, राप्रपालगायतका दलले संसद् अवरोध गरेका थिए। विपक्षीले जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्न भने दिएका थिए। त्यसपछि उनीहरूले केही दिन प्रतिनिधिसभामा अवरोध जारी राखे। माओवादी केन्द्रले कांग्रेससँगको समन्वयमा एमालेसँग दुईबुँदे सहमति गर्यो र संसद् बैठक अवरोध गर्न छाड्यो।
रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोगको माग गर्दै जेठ ३० पछिका प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै आइरहेको छ। असार ६ को बैठकमा रास्वपा सांसद कालो कपडा लगाएर संसद् बैठकमा गएका थिए। राप्रपाले पनि रास्वपालाई साथ दिँदै आएको छ।
भिजिट भिसामा विदेश जानेसँग रकम लेनदेन गरेको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थ भट्टराईलाई नियन्त्रणमा लिएको थियो। यस विषयलाई प्रतिनिधिसभामा प्रवेश गराएर माओवादी केन्द्रसहितका विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा मागेका थिए।
माओवादी केन्द्रले एमालेसँग सम्झौता गरेर संसद्को अवरोध खोलेको थियो। सरकारले सम्झौताअनुसार असार १० गते अध्यागमन र ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा पूर्वमुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ। रास्वपा र राप्रपाले भने समिति गठनप्रति आपत्ति जनाउँदै आएका छन्।

भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरे। प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। उनीहरूले भिजिट भिसा प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राखेका छन्।
रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा. तोसिमा कार्कीलाई बोल्न समय दिएका थिए। सांसद कार्कीले वर्तमान सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजेको आरोप लगाइन्।
उनले सुशासनको बाचा गर्ने सरकारले जनताका पक्षमा लड्नेहरूलाई कारागार पठाउने र भ्रष्टाचारमा मुछिएकाहरूलाई स्यावासी दिने काम गरेको बताइन्। उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने व्यक्तिकै संयोजकत्वमा बनेको समिति मान्य नहुने भन्दै आन्दोलन निरन्तर रहेको धारणा राखिन्। सांसद कार्कीले आफूहरूले निरन्तर विरोध गर्दा पनि संसद चलाइएकोप्रति आपत्ति जनाइन्।
त्यस्तै राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म राप्रपाको आन्दोलन जारी रहने बताए।
विरोधकाबीच सभामुख घिमिरेले सदनको कारबाही बढाएपछि रास्वपा र राप्रपाका सांसदहरूले सदन बहिष्कार गरेका छन्।
रास्वपा सांसद विन्ध्यवासिनी कंसाकारले आफ्ना माग पूरा नभएसम्म संसद् बहिष्कार कायमै राख्ने बताइन्। उनले हिमालप्रेससँग भनिन्, ‘माग जहिलेसम्म पूरा हुँदैन, त्यही बेलासम्म हाम्रो बहिष्कार कायम रहन्छ। कहिलेसम्म बहिष्कार गर्ने टुंगो छैन।’
प्रतिनिधिसभा नियमावलीमा यस्तो छ प्रतिनिधसभा सदस्यले बैठकमा पालन गर्नु पर्ने नियम
(क) सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नु पर्ने,
(ख) सभामुखले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नु पर्ने,
(ग) बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले
बैठक कक्ष छाड्नु पर्ने,
(घ) सभामुखले समय दिएपछि मात्र बोल्नु पर्ने,
(ब) बैठकमा भाग लिने सदस्यले बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नु
पर्ने र सभामुखले अन्यथा आदेश दिएमा बाहेक तोकिएको स्थानमा
उभिएर बोल्नु पर्ने,
(च) सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले
स्थान छाड्न नहुने र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नु पर्ने,
(छ) सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने,
(ज) सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने,
(झ) कुनै सदस्यले बोलिरहेको समयमा वाधा पुग्ने वा बैठकको मर्यादा भंग
हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने,
(ञ) बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको
पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने,
(ट) बैठक कक्षमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न र
रेकर्ड गर्न नहुने।