शिक्षा ऐन शिक्षक केन्द्रित हुनुहुँदैन : अखिल क्रान्तिकारी

हिमाल प्रेस ८ साउन २०८२ १३:३५
260
SHARES
शिक्षा ऐन शिक्षक केन्द्रित हुनुहुँदैन : अखिल क्रान्तिकारी

काठमाडौँ- संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का महासचिव रोशन थापा मगरले विद्यालय शिक्षा विधेयक शिक्षक केन्द्रित नभई विद्यार्थी केन्द्रित हुनुपर्ने बताएका छन्। उनले अस्थायी प्रकृतिका शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्नु अनुचित हुने बताउँदै शत् प्रतिशत खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्ति हुनुपर्ने बताए।

उनका अनुसार विद्यालय शिक्षा विधेयकको मूल उद्देश्य सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने र शिक्षा प्रणालीलाई संविधानअनुकूल निःशुल्क र अनिवार्य बनाउने हुनुपर्छ। तर हाल प्रस्तावित विधेयक शिक्षकको समायोजन, राहत र अस्थायी स्थायीत्वका विषयमा मात्रै केन्द्रित हुँदै गएकोप्रति उनले आपत्ति जनाएका छन्।

महासचिव थापा मगरले निजी विद्यालयको पनि आलोचना गरे। ‘निजी विद्यालयलाई सार्वजनिक गुठीमा रूपान्तरण गर्नुपर्छ। तर त्यसविरुद्ध निजी विद्यालय सञ्चालकहरूले प्रतिवाद गर्दै विधेयक रोक्न खोजिरहेका छन्।’

उनले विधेयकमा शुल्क निर्धारण, छात्रवृत्ति व्यवस्थापन र निजी विद्यालयको गैरनाफामूलक चरित्र सुनिश्चित गर्नुपर्ने बताए। साथै, सरकारी पदमा कार्यरत कर्मचारी, जनप्रतिनिधि तथा शिक्षकका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने कानुनी व्यवस्था आवश्यक भएको बताए। ‘विधेयक यतातिर फोकस गर्नुपर्छ,’ उनले भने,‘अहिले शिक्षकका मात्रै कुरा गरेर शिक्षालाई विषयान्तर बनाउन खोजिएको छ।’

प्रकाशित: ८ साउन २०८२ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast