
अधिकांश किशोरहरू किशोरावस्थामा विपरीत लिंगी र एलजीबीटीक्यूए+ स्पेक्ट्रममा पर्ने युवा समान लिंगीमा आकर्षित हुन थाल्छन्। यस्तो अपरिपक्व उमेरमा उनीहरूलाई सही-गलतको भिन्नता सिकाउने र सुरक्षित राख्ने विषयमा अभिभावक पनि चिन्तित हुने गर्छन्। अहिले त्यो चिन्तामा कृत्रिम बौद्धिकता (एआई) को बढ्दो पहुँचले नयाँ आयाम थपिदिएको छ। अमेरिकाको सान फ्रान्सिस्कोमा गरिएको एउटा सर्वेक्षणमा सहभागी चारमध्ये तीनजना किशोरकिशोरीले कम्तीमा एक एआई साथीसँग सम्बन्ध बनाएको पाइएको छ।
यहाँ एआई साथी भनेका व्यक्तिगत कुराकानीका लागि बनाइएका ती च्याटबोट हुन्। लोकप्रिय च्याटबोटहरूमा क्यारेक्टर एआई, रेप्लिका र नोमीको नाम अग्रस्थानमा आउँछ। यस्ता बोट कुनै काम गराउने परम्परागत च्याटबोट होइनन् यी त भावनात्मक सम्बन्ध बनाउने हिसाबले बनाएका हुन्छन्।
कमान्ड दिएपछि काम सम्पन्न गर्ने च्याटबोटहरू पारम्परिक एआई सहायक मानिन्छन्। तर एआई कम्पानियन सिस्टम भने प्रयोगकर्तासँग भावनात्मक सम्बन्ध कायम गर्नेगरी प्रोग्राम गरिएका हुन्छन्। यसअघि नै यस्ता एआई ‘साथी’ बाट मानसिक स्वास्थ्यमा पर्ने असरबारे चिन्ता उठाइएको थियो। अब आएको यो सर्वे परिणामले ती चिन्ता थप बढेको छ।
सर्वे कसले गर्यो?
सर्वेक्षण गर्ने संस्था ‘कमन सेन्स मिडिया’ अमेरिका स्थित एक गैरनाफामुखी संस्था हो, जसले बालबालिकाका लागि बनाइएका मिडिया र प्रविधिको समीक्षासहित रेटिङ गर्दै आएको छ। राम्रो रेटिङको अर्थ हो त्यस्ता सामग्री बालबालिकाले प्रयोग गर्न उपयुक्त मानिन्छ।
यो राष्ट्रियस्तरको प्रतिनिधि सर्वेक्षणमा १३ देखि १७ वर्ष उमेर समूहका एक हजार ६० जना किशोरकिशोरी सहभागी थिए। कमन सेन्स मिडियाको निष्कर्षअनुसार कम्तीमा ७२ प्रतिशत किशोरकिशोरीले कम्तीमा एक पटक एआई साथीको प्रयोग गरेका थिए। तीमध्ये ५२ प्रतिशतले महिनामा केहीपटक ती साथीसँग च्याटिङ गरिरहेका थिए।
करिब ३० प्रतिशत किशोरले यसलाई मनोरञ्जनका रूपमा प्रयोग गरेका थिए भने २८ प्रतिशतले यो प्रविधिप्रति देखिएको उत्सुकताले प्रयोग गरेका थिए।
च्याटबोटहरूको प्रयोगपछि देखिएको सबैभन्दा ठूलो समस्या के थियो भने एकतिहाइ किशोरले जीवनको कुनै गम्भीर विषयमा कसैसँग कुरा गर्नुपरेमा वास्तविक मानिसहरूसँग हैन, एआई साथीहरूसँग छलफल गरेका थिए। यस्तो क्रममा २४ प्रतिशत किशोरकिशोरीरूले आफ्नो वास्तविक नाम, ठेगानालगायत व्यक्तिगत जानकारी पनि बाँडेका थिए।
त्यो मात्र होइन, ३४ प्रतिशत किशोरले एआई साथीबाट आएका कतिपय प्रतिक्रिया वा व्यवहारले आफू असहज भएको अनुभव सुनाएका छन्। त्यो बारम्बार नभए पनि कहिलेकाहीँ अवश्य भएको उनीहरूले बताएका छन्। प्रतिवेदनमा भनिएको छ, ‘सत्य के हो भने चारमध्ये तीनजना किशोरले यस्ता प्लेटफर्म प्रयोग गरेका छन् र आधाले त बारम्बार प्रयोग गरेका छन्। यदि थोरै संख्यामा भए पनि युवाहरूलाई यसबाट हानि पुगिरहेको छ भने यसको असर गम्भीर हुन सक्छ।’
एआई सल्लाह कति विश्वासिलो?
सर्वेक्षणमा सहभागी आधाजसो किशोरहरूले एआई साथीका सुझावलाई पूर्ण रूपमा विश्वास गरेजस्तो देखिएन। १३-१४ वर्ष उमेरका किशोरहरू १५-१७ वर्ष उमेर समूहको तुलनामा एआईको सल्लाहलाई बढी विश्वास गर्छन्।
यो पनि भन्न सकिन्न कि अब एआई सिस्टम उन्नत भइसकेका छन् र किशोरहरूले वास्तविक व्यक्तिसँग कुराकानी गर्न रुचाउँदैनन्। दुईतिहाई किशोरहरूले भनेका छन्- वास्तविक व्यक्तिसँगको संवादको तुलनामा एआईसँगको संवादले सन्तुष्टि दिन सक्दैन। ८० प्रतिशत किशोर अझै पनि आफ्ना वास्तविक साथीहरूसँग एआई साथीभन्दा बढी समय बिताइरहेका छन्।
सर्वेक्षण गर्ने संस्थाले कडा सुरक्षात्मक उपाय नलिई १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरीलाई यस्ता एआई च्याटबोटहरू प्रयोग गर्न नदिनु उपयुक्त हुने सुझाव दिएको छ। -एएफपीको सहयोगमा