कोशीमा बढ्दैछन् लागूऔषध कारोबारी, सीमाबाट ब्राउनसुगर, पहाडबाट गाँजा ओसारपसार

विवेक विवश रेग्मी ८ साउन २०८२ ९:०२
66
SHARES
कोशीमा बढ्दैछन् लागूऔषध कारोबारी, सीमाबाट ब्राउनसुगर, पहाडबाट गाँजा ओसारपसार

इटहरी- कोशी प्रदेश प्रहरीले लागूऔषधको प्रयोग, बिक्री तथा ओसारपसार नियन्त्रण गर्न आक्रामक रणनीति अपनाउँदै तीव्र अभियान सञ्चालन गरिरहेको छ। अभियान अन्तर्गत एक आर्थिक वर्षको अवधिमा मात्रै प्रदेशका विभिन्न जिल्लाबाट एक हजार ९८५ जना पक्राउ परेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलकाअनुसार लागूऔषधको प्रयोगका कारण समाजमा अपराध बढ्दै गएको छ।

हत्या, लुटपाट, चोरी लगायतका विभिन्न प्रकारका आपराधिक घटना बढ्ने सम्भावना रहेकाले यसको प्रयोग तथा ओसारपसारलाई नियन्त्रण तथा निरुत्साहित गरी सामाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरी सवल रहेको उनले दाबी गरे।

प्रवक्ता पोखरेलका अनुसार अभियान अन्तर्गत मुख्य लोकमार्ग, भित्री सडक, सीमावर्ती क्षेत्र, सशंकित स्थान तथा सवारीसाधनमा निगरानी बढाइएको छ। सीमा नाकामा कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ भने ठूलो मात्रामा लागूऔषध ओसारपसारमा संलग्न समूहलाई गोली प्रयोग गरेर पनि नियन्त्रणमा लिएको जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशको झापाबाट मात्रै १ ग्राम ५६० मिलिग्राम चरेश, २ किलो ८८२ ग्राम ४६८ मिलिग्राम ब्राउनसुगर, मनोसामाग्री चक्की/क्याप्सुल ६३ हजार ५६० थान र एम्पुल ३९ थान बरामद गरिएको छ।

यसैगरी मोरङमा १ किलो ७७० ग्राम ८३ मिलिग्राम ब्राउनसुगर, विभिन्न मनोसामाग्री औषधी ८० हजार ९२३ वटा चक्की र क्याप्सुल, एम्पुल १ हजार ४८५ थान बरामद गरिएको प्रहरीको अभिलेखमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले चरेश २ ग्राम २८ मिलिग्राम, ७२८ ग्राम ५३९ मिलिग्राम ब्राउनसुगर, विभिन्न मनोसामाग्री औषधी ४ लाख २८ हजार ६८३, चक्की, क्याप्सुल, एम्पुल ३१८ थान बरामद गरेको छ।

‘चेकजाँचमा कडाई भएकै कारण मलद्वार तथा शरीरको विभिन्न भागमा लुकाएर लागूऔषध ओसार पसार गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ,’ पोखरेलले भने, ‘ठूलो परिमाणमा लागूऔषधको कारोबारी गर्ने गिरोहलाई गोली प्रहार नै गरेर पनि नियन्त्रणमा लिइएको छ।’

लागूऔषधको प्रयोग, बेचबिखन तथा ओसारपसारमा संलग्न रहेका व्यक्ति ‘कि जेलमा, कि सुधार गृहमा’ भन्ने उद्देश्यका साथ कोशी प्रदेशमा बढ्दो लागूऔषधको प्रयोग, वेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न प्रहरी प्रतिवद्ध रहेको जनाइएको छ।

पछिल्लो समय लागूऔषध प्रयोकर्ता बढ्दै गएको र त्यसले समाजमा आपराधिक गतिविधि हुनसक्ने प्रहरीको निष्कर्ष छ। लागूऔषधको प्रयोग तथा ओसारपसार कानूनद्वारा बर्जित कार्य रहेको थाहा हुँदाहुँदै पनि कतिपय प्रयोकर्ता लहलहैमा लागेर फसिरहेको प्रहरीको अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरीका डीआईजी ईश्वर कार्की बताउँछन्।

‘लागूऔषधको प्रयोग गर्नु कानुनद्धारा बर्जित हो भन्ने अधिकांश मानिसलाई थाहा छ । तर, साथीभाइको लहलहैमा, अज्ञानताको कारण, उत्सुकता जागेर, पारिवारिक तनावलगायतका कारणले यसमा युवापुस्ता फसिरहेका छन्,’ डीआईजी कार्कीले भने, ‘विभिन्न बहाना बनाएर आफ्नो मनलाई स्थिर राख्न नसकेकै कारण अधिक मानिस लागूपदार्थ दुर्व्यसनमा फसिरहेका छन्।’

सीमा क्षेत्रबाट ब्राउनसुगर, ट्याब्लेट, क्याप्सुलजस्ता लागूपदार्थ भित्रिने गरेको र कोशी प्रदेशका पहाडी जिल्लाबाट गाँजाको कारोबार हुने गरेको छ। कोशी प्रदेशका तराईका जिल्ला सुनसरी, मोरङ र झापामा सीमावर्ती क्षेत्रबाटै लागूपदार्थ ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

कोशीका तीन जिल्लाबाहेक बाँकी पहाडी जिल्ला रहेका छन्। पहाडी जिल्लामा पनि खासगरी धनकुटाबाट गाँजाको कारोबार अत्यधिक हुने गरेको छ। कतिपय अवस्थामा प्रहरीले गाँजा कारोबारीलाई नियन्त्रणमा लिनका लागि गोली नै चलाउनुपरेको अवस्था छ।

डीआईजी कार्कीका अनुसार कोशी प्रदेश प्रहरी कार्यालयले प्रदेशका १४ वटै जिल्लामा ‘अबको युद्ध, दुर्व्यसन विरुद्ध’ भन्ने सन्देशका साथ लागूऔषध प्रयोगलाई निरुत्साहित पार्दै आएको छ। ‘लागूऔषध प्रयोगको बढ्दो समस्यालाई निर्मूल पार्नका निम्ति ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स’ अभियानसमेत जारी रहेको छ,’ उनले भने।

कोशी प्रदेशका पहाडी क्षेत्रहरूबाट भारततर्फ गाजाँ तस्करी हुने क्रम बढ्दै गएपछि सुरक्षानिकायले सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाएको छ। विशेष गरी भोजपुर, धनकुटा, उदयपुर, तेह्रथुम लगायतका पहाडी जिल्लाबाट झापा, मोरङ र सुनसरी हुँदै भारततर्फ गाजाँ ओसार्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ।

सीमाबाट भित्रिन्छ लागूऔषध

लागूऔषध तस्करीमा भारतसँगको खुला सीमाको प्रयोग हुँदै आएको छ। सीमावर्ती नाकाबाट ब्राउनसुगर, चरेश, अफिम तथा विभिन्न मनोसामाग्री औषधिहरू शरीरका अंग तथा मलद्वारमा लुकाएर भित्र्याउने गरिन्छ।

यसका लागि सशस्त्र प्रहरीको समन्वयमा नेपाल-भारत सीमाका विभिन्न नाकामा कडाइ गरिएको प्रहरीको भनाइ छ। मावर्ती झापा, मोरङ र सुनसरीका नाकाहरूमा प्रहरी, सुराकी र कुकुरसहितका टोली परिचालित रहेको प्रहरीको भनाइ छ।

पहाडमा गाँजा उत्पादन, तराई हुँदै भारत निकासी

गाजाको खेती प्रायः पहाडी बस्तीमा हुने र ती स्थानबाट बोक्ने काम मजदुर तथा किशोरहरूबाट गराइने गरिएको छ। भारतमा गाजाँको माग बढ्ने भएकाले तस्करी झनै तीव्र भइरहेको छ।

प्रहरीका अनुसार तस्करहरूले गाँजा सुकाएर झोलामा राख्ने, प्लास्टिकमा प्याक गरेर लैजाने, कहिले एम्बुलेन्सको प्रयोग गर्ने, निजी गाडीलाई पनि सरकारी नम्बर प्लेट बनाएर तस्करी गर्ने तथा तरकारीकै गाडीमासमेत ओसारपसार गर्ने गरेका छन्।

पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम, भोजपुर र भित्री मधेश तथा पहाडी जिल्ला पर्ने उदयपुरबाटसमेत गाँजा ओसारपसार हुने गरेको छ।

प्रहरीले आर्थिक वर्ष २०८१/८२ मा २६ हजार ७५० किलोग्राम ५३८ ग्राम ९७ मिलिग्राम किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको छ। प्रहरीको तथ्यांकअनुसार गाँजाको ओसारपसार एवं कारोबारमा संलग्न २३५ जना पुरुष र २६ जना महिलालाई पक्राउ गरिएको छ।

गाँजा ओसारपसारमा ४५ वटा चारपांग्रे र ३२ वटा दुईपांग्रे सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये सबैभन्दा धेरै सुनसरीबाट नियन्त्रणमा लिइएको छ।

जसको कारण भनेको धनकुटाबाट सिधै तराई झर्दा धरान, इटहरीका, बराहक्षेत्रलगायतका स्थानमा गाँजा कारोबारी पक्राउ पर्ने गरेका छन्। कतिपयले त सप्तकोसी नदी हुँदै ट्युबमासमेत गाँजा ओसारपसार गर्ने गरेका छन्।

सुनसरीबाट १२ हजार ३ सय ७५ किलो ९ २९ ग्राम ८ सय ४० मिलिग्राम गाँजा बरामद भएको छ । मोरङबाट ६ हजार ६ सय ५० किलो ४ सय ग्राम, धनकुटाबाट ४ हजार १ सय ९४ किलो, झापाबाट १ हजार ६५१ किलो २८२ ग्राम १८० मिलिग्राम र उदयपुरबाट १ हजार ८ सय १० किलो ४८४ ग्राम ७७ मिलिग्राम गाँजा बरामद भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

इलामबाट ८ सय १६ ग्राम, भोजपुरबाट १६ किलो ४४ ग्राम, संखुवासभाबाट ३ किलो १ सय ग्राम, खोटाङबाट १ किलो ९ सय ४२ ग्राम र तेह्रथुमबाट २ सय ४० ग्राम गाँजा बरामद भएको छ।

आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा भन्दा गत आर्थिक वर्ष धेरै गाँजा बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका डीएसपी ध्रुवकुमार श्रेष्ठले बताए।

उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा प्रहरीले ५ हजार ८ सय १५ किलो ४ सय ९३ ग्राम ७ सय मिलिग्राम गाँजा बरामद गरेको थियो । ओसारपसार र कारोबारमा संलग्नमध्ये १ सय ३२ जना पुरुष र १२ जना महिला पक्राउ परेका थिए।

आर्थिक वर्ष २०८०/८१ मा १० हजार ४२० किलो ४९ ग्राम ४ सय ६१ मिलिग्राम बरामद भएको थियो । ओसारपसार र कारोबारमा संलग्न १ सय ९६ जना पुरुष र १३ जना महिला पक्राउ परेका थिए। गाजा तस्करीमा संलग्नलाई लागूऔषध ऐनअनुसार मुद्दा चलाइने गरिएको छ।

प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्ताले आर्थिक स्रोत जुटाउन चोरी, लुटपाट, ठगी, घरेलु हिंसाजस्ता अपराध गर्न सक्छन्। लागूऔषध कारोबारी समूहहरूलाई संरक्षण दिनेदेखि लिएर संगठित अपराधमा संलग्न हुने प्रवृत्ति पनि बढ्दो छ।

स्वास्थ्य, सुरक्षा र सामाजिक सन्तुलनको लागि लागूऔषधको प्रयोगलाई निरुत्साहन पार्नुपर्ने प्रहरीको निष्कर्ष छ। यसका लागि विद्यालय तहबाटै अभियान चलाउनुपर्ने, घरमा अभिभावकले निगरानी गर्नुपर्ने, प्रहरीले चेकजाँच बढाउनुपर्नेजस्ता काम गर्न सकिने जानकारहरूको भनाइ छ।

प्रकाशित: ८ साउन २०८२ ९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast