‘आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण’

एचसीसी-एन डीनको जिम्मेवारीमा थापा

हिमाल प्रेस ७ साउन २०८२ २२:००
12
SHARES
‘आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण’

काठमाडौँ– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारकालागि अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएकी छन्।

काठमाडौँमा बुधबार आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८ औँ वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा  उनले भनिन, ‘नेपाल र अवैतनिक वाणिज्यदूतहरुले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु साथै सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ।’

उनले विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाे बताउँदै भनिनन्,’व्यापार प्रवद्र्धन, वैदेशिक लगानी आर्कषण, बजारसम्मको पहुँचको सुनिश्चितता, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रवद्र्धन तथा परस्पर लाभ र चासोका विषयहरुमा यहाँहरुको योगदान अनिवार्य र महत्वपूर्ण छ।’

कार्यक्रममा बोल्दै एचसीसीएनका डीन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरू केवल औपचारिक प्रतिनिधि नभई नेपालको आर्थिक कूटनीतिका सक्रिय साझेदार भएको  बताए। ‘हामी सेरेमोनिएलबाट माथि उठेर सक्षम, सक्रिय र समर्पित ढंगले नेपालको कूटनीति र विकासमा योगदान दिइरहेका छौँ  र दिइरहने कुरा सुनिश्चित गर्छौँ। तर हामीलाई सरकारको साथ र विश्वास उत्तिकै आवश्यक पर्छ।’

ढकालले वर्तमान विश्व पारस्परिक रूपमा जोडिएको परिस्थितिमा आर्थिक कूटनीतिको महत्व झन तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै भने ,’आजको विश्वव्यापी युगमा आर्थिक कूटनीति विकल्प होइन, आवश्यकता हो।’ आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले राष्ट्रिय हितका पक्षमा एचसीसीएनको प्रतिबद्धता दोहोर्‍याउँदै भने, ‘नेपाल अल्प विकसित राष्ट्र -एलडीसी को श्रेणीबाट स्तरोन्नति हुने तयारीमा रहेकाले अवैतनिक वाणिज्यदूतहरूले आर्थिक रूपान्तरणमा स्वयंसेवकको रूपमा काम गर्न सक्नेछ।’

ढकालले एचसीसीएन राष्ट्रिय प्राथमिकताप्रति समर्पित रहेको बताउँदै परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा महासंघ र एचसीसीएनले पहिलोपटक नेपालमा आर्थिक सम्मेलन आयोजना गर्न तयारी गरिरहेको जानकारी दिए।
हालै काठमाडौँको चन्द्रगिरीमा परराष्ट्र मन्त्रालयसँग संयुक्त रूपमा आयोजित कार्यशालाको स्मरण गर्दै उनले अवैतनिक वाणिज्यदूतहरूले वैदेशिक लगानी, नवप्रवर्तन, व्यापार, पर्यटन र गैरआवासीय नेपालीहरुसँगको सहकार्यमा योगदान पुर्‍याउन सक्ने बताए।

यस अवसरमा संयुक्त राष्ट्र संघका पूर्वउपमहासचिव एवं पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले कूटनीति र अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको विशिष्ट उपस्थिति र बदलिँदो  विकासलाई समन्वय गरेर अघि बढ्न अवैतनिक वाणिज्यदूतहरुको भूमिका पनि महत्वपूर्ण रहेकाे बताए।

कार्यक्रममा ढकालले आजैका दिनदेखि एचसीसीएनको डीन पद नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापालाई हस्तान्तरण गरेका थिए। एक वर्षको कार्यकाल सकेर उनले ‘टोकन अफ लभ’ कार्यसमिति र विशिष्ठ अथितिलाई प्रदान गर्दै आफ्नो एकवर्षे कार्यकालको समीक्षा पनि गरेका थिए। समारोहमा उच्च सरकारी अधिकारी, कूटनीतिज्ञ, अवैतनिक वाणिज्यदूतलगायतको उपस्थिति थियो।

प्रकाशित: ७ साउन २०८२ २२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast