हर्क साम्पाङले अमर्यादित शब्द प्रयोग गर्दै स्वास्थ्य मन्त्रालयलाई लेखे पत्र

हिमाल प्रेस ७ साउन २०८२ २१:४४
28
SHARES
हर्क साम्पाङले अमर्यादित शब्द प्रयोग गर्दै स्वास्थ्य मन्त्रालयलाई लेखे पत्र

इटहरी- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफ्नै बोली र व्यवहारका कारण पटकपटक विवादमा आइरहने व्यक्ति हुन्। आर्थिक वर्ष लागेको एक साता बितिसक्दासमेत बजेट ल्याउन नसकेका मेयर साम्पाङ आफू स्वतन्त्रबाट मेयर जितेको दम्भ देखाउँदै पटकपटक सामाजिक सञ्जालमा कहिले सरकारलाई, कहिले स्थानीय राजनीतिक दललाई त कहिले आफ्नै जनप्रतिनिधिलाई पनि ‘तुच्छ गाली’ गरिरहन्छन्।

यसैबीच बुधबार संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्दै उनले हास्यास्पद, अव्यवहारिक र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन्। उनले बुधबार मन्त्रालयलाई लेखेको पत्रको भाषा शैली अमर्यादित रहेको छ।

‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलंघारले दलालीमा भुलेर बीपी अस्पताललाई दिई पठाएछ, थाहा भएन,’ उनले पत्रमा लेखेका छन्, ‘यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। प्लिज फिर्ता गरिदिनु होला। धन्यवाद।’ उक्त पत्रको प्रधानमन्त्रीको कार्यालयलाई समेत बोधार्थ गरिएको छ।

खास गरी मेयर साम्पाङले मंगलबार सामाजिक सञ्जालमा बीपी प्रतिष्ठानप्रति लक्षित गर्दै स्टाटस लेखेका थिए। उनले ‘स्वास्थ्य मन्त्री ज्यू, हाम्रो पुरानो अस्पताल बीपीले हडपेको छ। धरान उपमहानगरलाई फिर्ता दिने कि नदिने? मैले अस्पताल बनाउन र चलाउन बजेट राख्नु कि नराख्नु यस्पाल?’ उनले लेखेका थिए। मेयर साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबारे गरेको टिप्पणीप्रति प्रतिष्ठानले आपत्ति जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजीत कुमारले खण्डन प्रकाशन गर्दै मेयरले गलत सूचना प्रवाह गरेको जनाएका छन्।

‘प्रतिष्ठानको सर्वोच्च निकाय सञ्चालक परिषद्को सदस्यसमेत रहनुभएका धरान उपमहानगरपालिका प्रमुखजस्तो गरिमामय पदको व्यक्तित्वबाट स्टाटस सम्प्रेषणमा यस प्रकारका शब्द प्रयोग गरी आम सर्वसाधारणमा गलत सूचना प्रवाह नगरिदिनहुन र उक्त स्ट्याटस सच्याई दिनहुन धरान उपमहानगरपालिका प्रमुखज्यूलाई प्रतिष्ठान सादर अनुरोध समेत गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

पुरानो अस्पताल भएको क्षेत्रलाई कसरी धरानवासीको हितमा प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा आम धारणा बनाई स्थानीय सरकारबाट कुनै प्रस्ताव वा संवाद तथा छलफल भएमा प्रतिष्ठान सदैव सकारात्मक रहने र सहकार्य गर्न हरदम तयार रहनेसमेत सहप्रवक्ता डा. कुमारले उल्लेख गरे।

खास गरी प्रतिष्ठानले सामाजिक सञ्जालबाट सो स्टाटस हटाउन, संयमित भाषा प्रयोग गर्न र भविष्यमा यस्ता गरिमाप्रतिको अभिव्यक्तिबाट टाढा रहन सार्वजनिक आग्रह गरेको छ।

स्थानीय सरकार प्रमुखबाट ‘सुटुक्कै लगेको, हडपेको’जस्ता शब्दावली प्रयोग हुँदा आम जनसमुदायलाई भ्रमित पार्ने र गलत सूचना प्रवाह भएकोमा आपत्ति जनाउन बाध्य भएको कुमारले बताए।

‘प्रमुखज्यूबाट हाम्रो पुरानो अस्पताल भनिएकोमा धरान छाताचौक स्थित पुरानो अस्पताल तथा स्वयम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि आम धरानवासीको धरोहर तथा सम्पत्ति भएको तथ्य अवगत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ। साथै मेयर साम्पाङको अभिव्यक्तिका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अपमान महसुस भएको भन्दै मानसिक असरसमेत परेको बताइएको छ।

‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐन २०४९ तत्कालिन प्रतिनिधिसभाबाट पारित भई स्थापना भएको स्वायत्त संस्था हो। प्रतिष्ठान स्थापना भए पश्चात तत्कालीन श्री ५ को सरकारको मिति २०४८।१०।०४ को निर्णय बमोजिम साविकको धरान बजारस्थित अस्पतालले चर्चेको १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गर्ने निर्णय भएको व्यहोरा समेत सर्वसाधारणलाई अवगत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यी सबै प्रक्रिया हुन प्रतिष्ठानको कार्यकारिणी समिति तथा संचालक परिषद् समेतको निर्णय प्रकृया भई जानुपर्ने हुन्छ। संचालक परिषदको सदस्यमा तत्कालीन धरान नगरपालिका हाल धरान उपमहानगरपालिका प्रमुख सदस्य रहने व्यवस्था रहेको समेत सम्पूर्ण धरानवासीहरूलाई जानकारी गराइन्छ।’

प्रकाशित: ७ साउन २०८२ २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast