
घोडाघोडी (कैलाली)- कैलालीको भजनी नगरपालिका-२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको लौटैया ताल केही वर्ष अगाडिसम्म अस्तित्वमा थिएन। सुकुमवासीले अतिक्रमण गरी बस्ती बसेको यस क्षेत्रमा अतिक्रमित संरचना हटाएर सामुदायिक वनका रूपमा संरक्षण गर्दै ताल निर्माण गरेपछि यो क्षेत्र पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै गएको हो।
घामले पानीमा तरङ्ग खेलाइरहेको छ। तालको वरिपरि हरियाली वातावरणले अझै सौन्दर्य थपेको छ। आन्तरिक पर्यटक बोटमा चढेर तालमा रमाइरहेका छन्। यसरी रमाउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। सामुदायिक वनका अगुवाहरूले एक दशकअघि अतिक्रमण हटाएर ताल निर्माण गरेपछि अहिले आन्तरिक पर्यटकका लागि यो ताल पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै गएको राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले बताए। ‘तत्कालीन समयमा अतिक्रमण हटाउन त्यति सहज थिएन। अतिक्रमण हटाएको भन्दै मरणासन्न हुनेगरी कुटपिट गरेको याद ताजै छ,’ उनले भने।
खड्काले सुकुमवासीलाई किन हटाएको भन्दै घरमा आएर आफूमाथि कुटपिट भएको स्मरण गरे। उनी यस सामुदायिक वनको स्थापना (२०५६) देखि अध्यक्षका रूपमा छन्। उनले भने, ‘सुरुआतमा म अध्यक्ष भएँ। बीचमा अरू पनि आए तर गाउँलेले फेरि मलाई अध्यक्ष बनाउनुभयो।’ वन संरक्षणप्रतिको निरन्तर पहलका कारण तीन दशकदेखि वनमा कार्यरत रहेको खड्काले जानकारी दिए। अतिक्रमण, छाडा चरिचरण र बर्सेनि वन डढेलोका वारिपारि गाउँ देखिने वन अहिले घना हरियालीमा परिणत भएको उनको भनाइ छ।
अहिले यो वनमा भारतको दुधुवा हुँदै आउने पाटबाघले डमरुहरू हुर्काउने गरेका अध्यक्ष खड्काले जानकारी दिए। अहिले वनमा चित्तल, बँदेल, गोहोरो, अजिङ्गरलगायत विभिन्न चराचुरुङ्गीको सुरक्षित बासस्थान छ हुनुका साथै लौटैया तालमा यी वन्यजन्तु पानी पिउन आउने गरेका उनले उल्लेख गरे।
उनका अनुसार समूहले वनका खाली ठाउँमा बर्सेनि वृक्षरोपण गर्दै आएका छन्। वनमा बाँस, कुरिलो, सर्पगन्धालगायतका गैरकाष्ठ प्रजातिको रोपण गरिएको जनाउँदै उनले संरक्षणप्रतिको गहिरो लगाव र निरन्तरताको पहलका कारण सन् २००३ मा आफूलाई ‘अब्राहम कन्जरभेसन अवार्ड’पनि प्राप्त भएको बताए। उक्त सम्मानले आफूलाई वन संरक्षणमा थप उत्साहित बनाएको उनले धारणा राखे।
खाली गरिएको उक्त क्षेत्रमा सानो ड्याम बनाएर प्राकृतिक रूपमा पानी जम्मा गर्ने गरी ताल बनाइएको खड्काले जानकारी दिए। ‘पहिले यहाँ माछापालनमा मात्रै प्रयोग हुन्थ्यो। तर हामीले ताललाई जगेर्ना गर्ने र पर्यटनसँग जोड्ने सोच बनाएर योजनाबद्ध विकास गरेका छौँ,’ उनले भने।
योजनाबद्ध विकाससँगै पर्यटन प्रवर्द्धनमा केन्द्रित भएपछि आज लौटैया ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको अध्यक्ष खड्काले बताए। उनका अनुसार तालको किनारैकिनार तारबार गरिएको छ। अहिले तालमा तीनवटा डुंगा (बोट) सञ्चालित छन्। यो ताल विद्यार्थी, स्थानीय बासिन्दा, वृद्धवृद्धा सबैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ।
विद्यार्थीका लागि १५ रूपैयाँमा डुंगा चढ्न पाउने व्यवस्था गरिएको जनाउँदै पार्क निर्माण समितिका अध्यक्ष अर्जुन सोबले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सुविधा दिने गरिएको बताए। उनका अनुसार अन्य व्यक्तिलाई ३० रूपैयाँ शुल्क तोकिएको छ। सोबले भने, ‘दैनिक दुई सयभन्दा बढी पर्यटक यहाँ आउँछन्। सबैले पालो पाउँदैनन्, कहिलेकाहीँ डुंगा चढ्न नपाएर फर्किनेहरू पनि हुन्छन्।’ डुंगा सञ्चालन पछि दैनिक तीन हजार रूपैयाँसम्म आम्दानी भइरहेको जनाउँदै उनले डुंगा सयर गर्न बढी विद्यार्थी आउने गरेको बताए।
सामुदायिक वनको आम्दानी बढेसँगै स्थानीयलाई रोगजारीको अवसर पनि सृजना भएका वनका अध्यक्ष खड्काले बताए। ‘वनभित्र फोटो खिच्नका लागि फोटोग्राफरलाई महिनाको दुई हजार १०० लिने गरी व्यवस्था गरिएको छ। नगरपालिका र वडामा दर्ता गरी फोटोग्राफरले फोटो खिच्न पाउने निर्णय गरिएको छ, जसका कारण स्थानीय युवाले रोजगारी पाएका छन्,’ उनले भने।
तालको नजिकै बन्न थालेको थारू संग्रहालयले लौटैया तालको महत्त्व बढाएको छ। संघीय सरकारले ९० लाख र प्रदेश सरकारले १० लाख बजेटमार्फत सङ्ग्रहालयको संरचना निर्माण गरेको भजनी नगरपालिका–२ का वडाध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए।
पर्यापर्यटनसँगै थारू कला, संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय बनाउन लागिएको उनले बताए। उनका अनुसार हाल सङ्ग्रहालयको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। ‘भवन बन्दै छ, तर भित्र राखिने परम्परागत सामग्री, थारू जीवनशैली झल्काउने पुराना औजार र लुगाकपडा अझै संकलन हुन बाँकी छ,’ उनले भने, ‘सङ्ग्रहालय बनेपछि लौटैया ताल आउनेहरूले डुंगा सयरका साथै थारू संस्कृति पनि नजिकबाट देख्न पाउनेछन्। यसले पर्यटकको चहलपहल झन् बढाउने छ।’
वनका अध्यक्ष खड्काले अहिले ताल ६ बिघा क्षेत्रमा फैलिएको जनाउँदै सामुदायिक वन समितिले यसलाई २० बिघासम्म विस्तार गर्ने योजना अघि सारेको बताए। कैलालीको यो सानो ताल आजभोलि सामुदायिक वनहरूमा पर्या-पर्यटनको सफल उदाहरण बन्दै गएको छ।
यहाँ वनभोज खानआउनेहरूका लागि आठ सयमा भाडा, दाउरा, पानीलगायत सामग्रीको व्यवस्था सामुदायिक वनले गर्दै आएको उल्लेख गर्दै वडाध्यक्ष पुनले यसबाट वनको आम्दानी बढ्नाका साथै स्थानीयलाई रोजगारी सृजना भइरहेको बताए।
राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खड्काले भने, ‘हामीले भर्खरै डुंगा सञ्चालन गरेका छौँ। यसलाई कम मूल्यमा सुविधा लिन पाउने व्यवस्था गरेका छौँ र आम्दानी पनि भइरहेको छ। त्यसैबाट वनको संरक्षणका साथसाथै फोहरमैला व्यवस्थापन र पर्यापर्यटनका थप पूर्वाधार निर्माणमा लगानी गर्नेछौँ।’
वनमा पर्या-पर्यटनका क्षेत्रमा पूर्वाधार विस्तार गर्न थालिएको बताउँदै उनले सुरुआतमै आन्तरिक पर्यटकको रोजाइमा परेकाले आगामी दिनमा विस्तृत योजना बनाएर कार्यान्वयन गरिने उल्लेख गरे।
वन ऐन र नियमावलीमा सामुदायिक वनमा पर्यापर्यटन सञ्चालन गर्न सकिने प्रावधान रहेको जनाउँदै उनले सरकारले ‘सामुदायिक वनमा पर्यापर्यटन सञ्चालन कार्यविधि’ समेत जारी गरेकाले सोहीअनुसार आगामी योजना निर्माण गरिने उल्लेख गरे। रासस