
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका हरेक अप्ठ्यारो मोडमा नेपाली कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यको प्रयोगबाट सफलता प्राप्त हुँदै आएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो सहकार्यले राजनीतिक स्थायित्व र संस्थागत उपलब्धि हासिल गर्न भूमिका खेलेको बताए।
प्रधानमन्त्री ओलीले नेपालका दुई प्रमुख राजनीतिक धार नेपाली कांग्रेस र कम्युनिस्ट आन्दोलनबीच समय-समयमा देखिएको सहकार्यले मुलुकलाई कठिन अवस्थाबाट निकाल्न मद्दत गरेको बताए। ‘बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सोचअनुसार उहाँहरूले अँगालेको बाटोमा हिँड्दा सहकार्य सम्भव भएको हो,’ उनले भने,‘यसरी सहकार्य गर्दा राजनीतिक स्थायित्वसहित विकास र समृद्धि सम्भव भएको छ।’
बुधबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस र मंगलबार नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवसको सन्दर्भ उठाउँदै ओलीले दुवै नेताप्रति श्रद्धाञ्जली अर्पण गरे। ‘उहाँहरूकै योगदानले नेपालमा जहानियाँ राणाशासनको अन्त्य भयो र प्रजातान्त्रिक आन्दोलन सफल भयो,’ उनले स्मरण गरे।
सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘मतभेद र मनभेद होइन, एकता र मेलमिलाप’को बाटो रोज्नुपर्नेमा जोड दिए। ‘पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नै मुलुकमा प्राण त्याग्न अनुमति दिएन,’ उनले भने, ‘तर उहाँले देखेको तानाशाहीविरुद्धको जनआन्दोलनको सपना २०४६ सालमा कांग्रेस र वाममोर्चाको संयुक्त प्रयासबाट पूरा भयो।’