
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत बजेट तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयका उपसचिव (लेखा) मुरारी निरौलाद्वारा हस्ताक्षरित पत्रमा स्वीकृत बजेट तथा कार्यक्रममार्फत तोकिएको लक्ष्य समयमै र प्रभावकारी रूपमा प्राप्त हुने गरी कार्यान्वयन सुनिश्चित गर्न अनुरोध गरिएको छ।
मन्त्रालयको आर्थिक प्रशासन शाखाबाट जारी पत्रमा विनियोजन ऐन, २०८२ बमोजिम स्वीकृत बजेट तथा कार्यक्रमहरू समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक मार्गदर्शन समेटिएको छ।
शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनलाई आधार मानेर मन्त्रालयका सबै महाशाखा प्रमुखहरू, मातहतका कार्यालय तथा निकायहरूलाई सो निर्देशन कार्यान्वयन गर्न आग्रह गरेको छ।
पत्रअनुसार कार्यान्वयनका क्रममा प्रचलित आर्थिक कार्यप्रणाली, कानुनी व्यवस्था र मन्त्रालयबाट स्वीकृत कार्यक्रम कार्यविधिहरूको पालना अनिवार्य गरिनेछ।