चीनले ब्रह्मपुत्रमा संसारकै ठूलो ड्याम निर्माण थालेपछि भारत चिन्तित

हिमाल प्रेस ७ साउन २०८२ १३:२९
76
SHARES
चीनले ब्रह्मपुत्रमा संसारकै ठूलो ड्याम निर्माण थालेपछि भारत चिन्तित यारलुङ जांगबो नदी (ब्रह्मपुत्र) को तिब्बती खण्ड। तस्बिर स्रोत : सीजीटीएन

चीनले अरुणाचल प्रदेश सीमा नजिककै तिब्बतको यारलुङ जांगबो (भारतमा ब्रह्मपुत्रको नामले चिनिने) नदीमा सबैभन्दा ठूलो जलाशय (ड्याम) निर्माण थालेपछि भारत चिन्तित भएको छ। १७० अर्ब अमेरिकी डलरको यो परियोजनाले भारत मात्र होइन, छिमेकी बंगलादेशका लागि पनि टाउको दुखाइ बन्ने सम्भावना रहेको भारतीय अधिकारीहरूले बताएका छन्। यसलाई संसारको सबैभन्दा ठूलो हाइड्रोपावर दाबी गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चीनका प्रधानमन्त्री ली छ्याङले तिब्बती उच्चभूमिको पूर्वी किनारमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँधको निर्माण सुरु भएको घोषणा गरेका छन्।

यो नदी तिब्बती उच्चभूमिबाट बग्दछ। परियोजनाले तलतिर बसोबास गर्ने करोडौँ भारतीय र बंगलादेशी नागरिकहरूका साथै स्थानीय तिब्बती समुदाय र वरपरको वातावरणमा पार्ने सम्भावित प्रभावको कारण आलोचना खेपिरहेको छ।

तिब्बत पठारको पूर्वी किनारमा निर्माण हुने यो बाँधलाई पृथ्वीको सबैभन्दा ठूलो पूर्वाधार परियोजना भनिएको छ। जसको लागत १३७ बिलियन डलर रहेको छ।

भारतले पनि मेगाड्यामको असरलाई दृष्टिगत गर्दै रणनीतिक प्रतिक्रिया तय गरिसकेको छ। यसका लागि अरुणाचल प्रदेशको अपर सियाङ जिल्लामा ‘सियाङ बहुउद्देश्यीय परियोजना’ को रूपरेखा तयार गरिएको हो। स्थानीयवासीको विरोधका कारण अहिलेसम्म यो परियोजना अघि बढ्न सकेको छैन।

अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले चीनले निर्माण गर्न लागेको ड्यामलाई ‘जल बम’ भन्दै गम्भीर खतरा बताउँदै आएका छन्। उनले भनेका छन्, ‘चीनले यदि एक्कासि ड्याम खोलेर पानी छाड्यो भने सियाङ क्षेत्रमा भयावह विनाश हुन सक्छ।’

चिनियाँ सञ्चारमाध्यमअनुसार चीनले ६० गिगावाट क्षमताको जलविद्युत् परियोजना निर्माण गर्न ‘चाइना याजियाङ ग्रुप कम्पनी लिमिटेड’ स्थापना गरी १९ जुलाईमा शिलान्यास गरिसकेको छ। परियोजना चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो ड्याम ‘थ्री गर्जेस ड्याम’को तुलनामा तीनगुणा ठूलो हुनेछ। यो ड्याम यारलुङ सांग्पो नदीको ठूलो मोडमा निर्माण हुँदै छ। यही नदीलाई भारतमा ब्रह्मपुत्र भनिन्छ।

ब्रह्मपुत्र दक्षिण एसियाको एक प्रमुख नदी हो। यो नदी चीन, भारत र बंगलादेश भएर बग्छ। ती देशको जल आपूर्ति, कृषि, र पारिस्थितिकीय प्रणालीका लागि महत्त्वपूर्ण मानिन्छ। भारत र बंगलादेशजस्ता देशहरूले यस परियोजनाबारे चिन्ता व्यक्त गरेका छन्। भारतले बाँधको सम्भावित पर्यावरणीय र रणनीतिक प्रभावबारेमा आपत्ति जनाएको छ।

असमका मुख्यमन्त्री हिमन्तविश्व शर्मा भने तत्काल कुनै असर नपर्ने धारणा राख्छन्। उनले भने, ‘ब्रह्मपुत्र शक्तिशाली नदी हो र तिब्बतमा मात्र निर्भर छैन।’ केही वैज्ञानिकहरू नदीको बहाव कम हुँदा जैविक विविधता घट्न सक्ने बताउँछन् भने केहीले बाढी नियन्त्रणमा सहयोग पुग्ने तर्क गर्छन्।

पर्यावरणविद्हरूका अनुसार ब्रह्मपुत्रको पानीमध्ये लगभग ३० प्रतिशत तिब्बतबाट आउँछ भने बाँकी भारतको वर्षा र सहायक नदीनालाबाट। यस्तो अवस्थामा ड्यामको प्रतिकूल असर अरुणाचलको सियाङ क्षेत्रमा पर्नेछ। यसले भारतका प्रस्तावित र वर्तमान जलविद्युत् परियोजनाहरूलाई पनि असर पुर्‍याउनेछ।

पर्यावरणविद् डा. सुरेशकुमार मोहन्ती भन्छन्, ‘भारतको कुल १३३ गिगावाट जलविद्युत उत्पादन क्षमतामध्ये लगभग ६० गिगावाट पूर्वोत्तर भारतमै छ। त्यसमध्ये ५० गिगावाट क्षमताको उत्पादन अरुणाचल प्रदेशबाट गर्न सकिन्छ।’

भारत सरकारले चीनको ड्यामको प्रभाव कम गर्न सियाङ बहुउद्देश्यीय परियोजना (११.२ गिगावाट) तयार पारेको छ। तर स्थानीयवासी र संगठनहरूको विरोधका कारण काम अघि बढ्न सकेको छैन। यो परियोजनाको कार्यान्वयनको जिम्मा नेसनल हाइड्रो पावर कर्पोरेसनलाई दिइएको छ।

कर्पोरेसनका एक अधिकारीका अनुसार यो परियोजना चीनको खतराबाट जोगिन अत्यन्त महत्त्वपूर्ण छ। यसले नदीको बहाव परिवर्तन गरी कृत्रिम बाढीजस्ता चिनियाँ खतरा न्यूनीकरण गर्न मद्दत गर्नेछ।

परियोजनाको विरोध गरिरहेका सियाङ इन्डिजिनस फार्मर्स फोरमका प्रमुख जेजाङ भन्छन्, ‘भविष्यको अज्ञात खतरा रोक्न अहिले आफ्नै जनतालाई विस्थापित गर्नु कहाँसम्म न्यायसंगत हुन्छ? सरकारले विकल्पहरू खोज्नुपर्छ।’

अरुणाचल सरकारका एक अधिकारीले डीडब्ल्यूसँग भने, ‘सियाङ परियोजना अघि बढाउने विषयमा केन्द्रसँग निरन्तर संवाद भइरहेको छ।’ परराष्ट्र राज्यमन्त्री कीर्तिवर्धन सिंहले यस वर्ष फेब्रुअरीमा संसद्‌मा भनेका थिए, ‘सरकार ब्रह्मपुत्र नदीमा भइरहेका सबै गतिविधिहरूको सूक्ष्म निगरानी गरिरहेको छ र राष्ट्रहितका लागि आवश्यक कदम चालिनेछ।’

अरुणाचलका मुख्यमन्त्री खाण्डु भन्छन्, ‘चीनले पानी बाँडफाँटसम्बन्धी कुनै अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेको छैन। उसले जबसुकै पानी छाडेमा सियाङ क्षेत्र पूर्णतः नष्ट हुनसक्छ।’ भारतको परराष्ट्र मन्त्रालयले चीनलाई भारतको चासो पहिल्यै जानकारी गराइसकेको बताएको छ।

पर्यावरणविद्हरूका अनुसार ब्रह्मपुत्र भारत र बंगलादेशका लागि कृषिउपज र खानेपानीको मुख्य स्रोत हो। ड्यामको असर लाखौँ मानिसको जीवनयापनमा पर्नसक्छ।

पर्यावरणविद् चैतन्यकुमार डेका भन्छन्, ‘चिनियाँ खतरा टार्न सियाङ परियोजनाको काम ढिलो नगरी अघि बढाउनुपर्छ। समयमै तयारी नगर्ने हो भने पछुताउनुपर्नेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast