
तनहुँ- कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न कार्यक्रममार्फत सुन्तला खेती र फलफूल बगैँचा विस्तार तथा सुदृढीकरणका गतिविधि सम्पन्न गरेको छ।
केन्द्रले भिमाद नगरपालिका–९ स्थित अस्पाग्दी सुन्तला विकास कृषक समूहको माध्यमबाट १५७ रोपनी क्षेत्रफलमा तीन हजार एक सय पचास वटा सुन्तलाका बोट लगाई सुन्तला खेती विस्तार गरेको हो।
यसका लागि १४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ७ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ। ब्लक विकास कार्यक्रमअन्तर्गत उक्त समूहलाई ८ वटा मिनीटिलर, ७ स्प्रेयर, ५ आरी, १० सिकेचर र १० ट्याक्टर गोठेमल वितरण गरिएको छ भने ३ वटा पोखरी र ४ वटा सिँचाइ ट्यांकी निर्माण गरिएको छ।
त्यसैगरी, सोही आर्थिक वर्षमा १९ वटा सहकारीमार्फत फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रमका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएपनि १० लाख ४० हजार रुपैयाँ खर्च गरिएको छ।
यस कार्यक्रमअन्तर्गत ३८१ रोपनीमा फैलिएका फलफूल बगैँचाको व्यवस्थापन तथा सुदृढीकरण गरिएको हो। कृषकहरूलाई ५० किलो चुना, ४० किलो नीलोतुथो, २६० किलो रेडिमेड पेष्ट, १ लाख ९४ हजार ८०० किलो गोबर मल, ३०० किलो पिना, ३ हजार १०० मिटर सिँचाइ पाइप, ८ ब्रस कटर, २ मिनीटिलर, ६० आरी, १ मोटर र १ तराजु वितरण गरिएको छ।
यसैबीच, फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत ४१४ रोपनी क्षेत्रमा नयाँ बगैँचा स्थापना गरिएको छ। २० कृषक समूहलाई लक्षित गरी सञ्चालित कार्यक्रमका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा १३ लाख ५३ हजार रुपैयाँ खर्च भएको हो।
कार्यक्रमबाट विभिन्न फलफूलका बिरुवाहरू १ हजार २७२ वटा सुन्तला कलमी, ३ हजार २५० वटा सुन्तला बिजु, ४६० कागती कलमी, ७९० कागती बिजु, ४६० निबुवा, १६० एभोकाडो, १६७ लिची, ८२० मेवा, ५२८ केरा, १ हजार ५०० ड्रागन फल र ३२९ अन्य बिरुवाहरू रोपिएका छन्।
त्यस्तै, सुन्तलाजात फलफूल बगैँचा सुदृढीकरण कार्यक्रमअन्तर्गत ७ हजार ९२५ रोपनी क्षेत्रफलमा रहेका बगैँचाको व्यवस्थापन तथा सुधार गरिएको छ। यसका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएपनि ३९ लाख ८८ हजार रुपैयाँ खर्च भएको र ७० वटा कृषक समूह लाभान्वित भएका छन्।