
काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरेबियाको १०औँ महाधिवेशनले अध्यक्ष पदमा लमजुङका उमेश भट्टराईलाई सर्वसम्मत चयन गरेको छ। राजधानी रियादमा सम्पन्न महाधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।
हाल साउदी अरेबियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत छन्। उनीहरूको हकहित, सेवा, समन्वय र समस्यामा एनआरएनए सक्रिय रहँदै आएको छ।
महाधिवेशनलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष रविना अर्यालले आफ्नो कार्यकाल सम्पन्न भएको घोषणा गरिन्। उनले आगामी दिनमा पनि संस्थासँग सहकार्य गर्दै प्रवासी नेपालीहरूको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाइन्।
नवनिर्वाचित अध्यक्ष भट्टराईले आफ्नो जिम्मेवारीलाई अवसर र चुनौती दुवैका रूपमा लिँदै समावेशी नेतृत्व र प्रभावकारी कार्य सम्पादन गर्ने अठोट व्यक्त गरे।
कार्यक्रममा साउदी अरेबियाका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले एनआरएनए साउदी अरेबियाले नेपाली समुदायको हितमा गर्दै आएको कार्यको प्रशंसा गरे।
त्यसैगरी, नवनिर्वाचित उपाध्यक्ष विष्णु भण्डारीले विगतमा राहदानी नवीकरणदेखि श्रमिक समस्याको समाधानमा संघले खेलेको सक्रिय भूमिकाको चर्चा गर्दै आगामी दिनमा झनै प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
सांस्कृतिक प्रस्तुतिको रूपमा लोकप्रिय सेलो गायिका जितु लोप्चनले सांगीतिक प्रस्तुति दिएकी थिइन्। महाधिवेशनमा साउदीका विभिन्न क्षेत्रबाट आएका एनआरएन पदाधिकारी, समाजसेवी, श्रमिक अगुवा तथा महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।