![विद्यालाई निषेध गरेर एमालेले गलत निर्णय गर्यो : कर्ण थापा [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/07/karna_thapa.jpg)
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णय गरेपछि पार्टी राजनीति दुईधारमा विभाजित छ। एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सम्मानित व्यक्ति भएको भन्दै सदस्यता नवीकरण नगर्ने र पार्टीमा आउन नदिने निर्णय गरेको थियो। नेताहरूले भण्डारीमाथि निषेधको राजनीति गरिएको आरोप लगाइरहेका छन्। केही नेताहरूले यो निर्णयमा असन्तुष्टि राख्दै फरक मत राखेका थिए। एमालेमा यसअघि रहेका ७० वर्षे उमेर हद र दुई कार्यकाल प्रावधानसमेत हटाउने निर्णय गरेको छ। पार्टीको पछिल्लो निर्णयका विपक्षमा पार्टी बैठकमा समेत खरो अभिव्यक्ति दिएका भण्डारी पक्षीय नेता स्थायी कमिटी सदस्य कर्णबहादुर थापासँगको संक्षिप्त कुराकानी :
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णय गरेको छ। पार्टी एकातिर हुँदा तपाईंसहित नेताहरू अर्कातिर हुँदै फरक मत राख्नुभएको कुरा आयो, किन यस्तो भएको?
मैले कसैका पक्षमा कुरा गरेको होइन। मैले विधि र प्रक्रियाको कुरा उठाएको हुँ। एमालेमा ७० वर्षे प्रावधान लामो बहसपछि पारित भएको हो। जसले पार्टी लोकतान्त्रिक बनाउन मद्दत गरेको छ। त्यही प्रावधानलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता मेरो हो। अर्को, दुई कार्यकालको प्रावधान पनि उस्तै छ। त्यसले पुस्तान्तरणलाई उठान गर्छ। तर हिजोको बैठकमा हठात् यी विषयलाई हटाउने निर्णय गर्दा मैले फरक मत राखेको हुँ।
बैठकमा तपाईँलाई बोल्न दिइएन भन्ने कुरा आयो, खास के भएको थियो?
पार्टीमा यस किसिमको निर्णय लिइँदै छ भन्ने मैले हेक्का पाएको थिएँ। त्यही कारण मैले दिउँसो अध्यक्ष (केपी शर्मा) लाई बोल्न दिनुहोस् भनेँ। उहाँले हुन्छ भन्नुभएको थियो। बैठकमा उहाँले निर्णय सुनाएपछि पनि मैले बोल्न दिनुहोस् भनेँ। तर फरक मत भए दर्ज गराउनुहोस् भन्नुभयो। फरक मत राख्दा के दर्ज गर्न खोजेको हो, त्यो राख्नुहोस् भन्नुभयो। कुनै पनि ठाउँमा फरक मत राख्न खोज्दा के कुरा राख्न खोजेको सार्वजनिक गर्न पाउनुपर्छ। त्यो मेरो अधिकारको कुरा पनि हो। मैले समय तोकिदिन भनेको थिइनँ। तर बोल्न दिइएन।
सबै पार्टी एक भएका बेला तपाईँ किन अर्कातिर त?
पार्टीमा विधि र पद्धति भन्ने पनि हुन्छ नि। हामीले त यी प्रावधान ल्याएर लागू गरेको हो। तर एकाएक हटाउनु हुँदैन भन्ने मान्यता राख्छु।
अनि विद्या भण्डारीलाई राष्ट्रपतिमा आउन दिनुहुन्न भन्ने एमालेले धारणा अघि सार्यो। उहाँलाई सम्मानित हैसियतमै राख्छौँ भन्नु उचित होइन र?
विद्या भण्डारीलाई किन राजनीतिमा आउन नदिने? संविधानले छेक्छ? छेक्दैन नि। विद्या भण्डारीको राजनीतिमा आउन पाउने नैसर्गिक अधिकार हो। उहाँको अधिकार हनन गर्न मिल्दैन। उहाँले राजनीतिमा आउने भनेपछि कसैले रोक्न मिल्दैन। रोक्न मिल्थ्यो भने संविधानमै राखिन्थ्यो नि।
संविधान बनाउने समयमै पनि हामीले व्यापक छलफल गर्यौँ। अन्त्यमा, यसमा रोक लगाउन मिल्दैन भनेपछि यो प्रावधान राखिएन। अहिले आएर पार्टीमा लगाउन मिल्छ? हामी संविधानभन्दा माथि त पक्कै होइनौँ।
विद्या भण्डारीलाई एमालेले छेक्यो, अब उहाँ कसरी अघि बढ्नु होला?
विद्या भण्डारीका विषयमा कसरी अघि बढ्ने भन्ने अहिले नै भन्न सकिन्न। सबैसँग संवादपछि मात्र अघि बढ्छौँ। तर यति भन्न सकिन्छ, उहाँलाई राजनीतिमा आउन निषेध गरियो।
एमालेमा पार्टीमा लोकतान्त्रिक प्रणालीलाई कुण्ठित गर्न खोजिएको हो?
हाम्रो पार्टीमा जे जनताको बहुदलीय जनवाद (जबज) को मान्यता थियो। त्यो कमजोर बनिरहेको छ। त्यसलाई जोगाउन पनि हामी लडिरहेका छौँ।
विद्या भण्डारी पार्टीमा सक्रिय हुँदा गणतन्त्रमाथि प्रश्न उठ्छ : विशाल भट्टराई [अन्तरवार्ता]