
काठमाडौँ- तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनले सामुदायिक विद्यालय सुधारका लागि पालिकाले विभिन्न पहल अघि बढाएको बताएका छन्। उनले गत बिहीबार सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा शिक्षा क्षेत्रका विविध योजनाबारे जानकारी गराएका थिए। अन्तर्क्रियामा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको पनि उपस्थिति थियो।
नगरप्रमुख महर्जनले पालिकाले आन्तरिक परीक्षा, अभिभावक दिवस र अन्य अतिरिक्त कार्यक्रमका लागि आवश्यक रकम उपलब्ध गराउँदै आएको जानकारी दिए। ‘विद्यालयको कुनै खर्च अभिभावकलाई पर्न दिने नीतिमा हामी छौं,’ उनले भने।
हाल नगरपालिकाले एसईई लक्षित छुट्टै पोसाक उपलब्ध गराएको छ भने अब नगरभित्रका सबै सामुदायिक विद्यालयका विद्यार्थीको पोसाक एउटै बनाउने तयारी भइरहेको जानकारी गराइएको छ।
संघीय सरकारले दिँदै आएको दिवा खाजाको लागि तोकिएको रु १५ मा पालिकाले थप रु १० थप गरी २५ पुर्याएको छ। त्यसैगरी, नगरभित्रका २३ विद्यालयमा नगरपालिका आफैँले १०१ शिक्षक उपलब्ध गराएको छ।
ज्येष्ठ नागरिक स्कुल
नगरप्रमुख महर्जनका अनुसार धर्मस्थली वडा नम्बर ६ मा संघीय सरकारको विशेष अनुदानबाट ज्येष्ठ नागरिकका लागि छुट्टै स्कुल निर्माण थालिएको छ। करिब ३ करोड लागतमा २३ रोपनी क्षेत्रफलमा निर्माणाधीन उक्त स्कुलमा होस्टेलसहितको व्यवस्था हुने जनाइएको छ।
‘छोरा र बुहारी आफ्नो ड्युटीमा जान्छन्। घरमा न खाजा बनाएर खान सकिन्छ न साथी हुन्छ। यस्तो अवस्थालाई मध्यनजर गर्दै योगा, नाचगान, बत्ती काड्नेलगायत व्यवस्था र विशेषज्ञ चिकित्सकसहित सेवा प्रदान गर्ने संरचना तयार पारिँदैछ,’ नगरप्रमुख महर्जनले भने,‘एकछिन पनि निराश हुन नदिने व्यवस्था मिलाइएको छ। यदि ५ वर्ष मात्र आयु थपियो भने पनि मन्दिर जानु नपर्नेगरी सुविधायुक्त सेवा यहाँ पाइनेछ।’
उनका अनुसार यो कुनै मानव सेवा आश्रम होइन। होस्टेल हो। सबै कार्यविधि बनाई कार्यान्वयन गरिनेछ।