मध्यरातसम्म बसेको एमाले केन्द्रीय कमिटीको प्रस्ताव : भण्डारीलाई आउन नदिने, केन्द्रीय कमिटी घटाउने [अरू के के छन्?]

हिमाल प्रेस ७ साउन २०८२ ८:०७
16
SHARES
मध्यरातसम्म बसेको एमाले केन्द्रीय कमिटीको प्रस्ताव : भण्डारीलाई आउन नदिने, केन्द्रीय कमिटी घटाउने [अरू के के छन्?]

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ। दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय गरेको छ ।

मंगलबार मध्यरातमा बैठक सकिँदा बैठकमा २६४ जना सदस्यहरूले भाग लिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा विधान संशोधनका विविध विषयमा छलफल भएको उनले बताए ।

गौतमका अनुसार अब एमालेको पार्टी सदस्यता दुई तहको हुने भएको छ । जसमा पार्टी सदस्यता र पार्टीको संगठित सदस्यता हुने छ । यस अघि पनि एमालेको दुई तहको सदस्यता थियो। तर बीचमा त्यसलाई हटाइएको थियो । त्यस्तै पार्टीको जिल्ला कमिटी अहिले जस्तै कार्यकारिणी कमिटी हुने पनि उनले जानकारी दिए ।

पार्टीका कमिटीहरू चुस्त, दुरुस्त र छरितो बनाउन केन्द्रीय कमिटीका पदाधिकारी सङ्ख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एकतिहाइ हुने र केन्द्रीय कमिटी २५१ सदस्सीय हुने प्रस्ताव अघि बढाउने निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सुनाएको गौतमले जानकारी दिए ।

बैठकमा आएका सुझावलाई समेटेर छलफलका लागि प्रदेश र तलका कमिटीमा पठाइने उनले जानकारी दिए। त्यहाँबाट आएका सुझाव समेतलाई समेटेर विधान महाधिवेशनमा लैजाने सहमति भएको उनले स्पष्ट पारे ।

बहुचर्चित पूर्वराष्ट्रपतिको पार्टी सदस्यता र पार्टी जीवनमा सक्रिय हुने विषयमा बैठकमा निक्कै लामो छलफल भएको उनले बताए ।

‘राष्ट्रपति नेपाली सेनाको परमाधिपति भइसकेको राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा पुगेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षण गर्ने व्यक्तित्व, नेपाली सेनाको परमाधिपति, साझा व्यक्तित्व, राष्ट्रको गौरव, गणतन्त्रको प्रतीक, देशकै अभिभावक राजनीतिक दलको कार्यकर्ता वा नेता हुने कुरा हाम्रा स्थापित मान्यताले पनि राम्रो हुँदैन, हामीले दिएको सम्मानमा कुनै कमी हुन दिनुहुँदैन र हामीले उहाँलाई दिएको सम्मान कायम राख्नु पर्छ, उहाँ राष्ट्रिय व्यक्तित्व हो, राष्ट्रको गौरव हो, हाम्रो पनि गौरव हो, यस्तो परिप्रेक्षमा उहाँ राजनीतिमा आउनु हुँदैन, यो गलत नजिर र अभ्यास हुन्छ भन्ने निष्कर्ष केन्द्रीय कमिटीले निकालेको छ’, उनले भने ।

यसमा सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापा असहमति जनाउनुभएको गौतमले जानकारी दिए । ‘केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गरेपछि उहाँहरूले उठेर सहमति जनाउनु भएको छ’, गौतमले भने ।

गौतमले पार्टीमा ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव विधान महाधिवेशनमा लैजाने निर्णय पनि बैठकले गरेको जानकारी दिए ।

पार्टीको ७० वर्ष उमेर हद र दुई कार्यकालको सीमा हालका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ११ औँ महाधिवेशनमा रोक्नको लागि मात्र हुने प्रावधान जस्तो देखिएकोले उनलाई प्रतिस्पर्धामा जाने बाटो खुल्ला गरिदिन सो प्रावधान हटाउन लागिएको स्पष्ट पारे । उनीसँग प्रतिष्पर्धा गर्न चाहने योग्यता पुगेका अन्य नेताहरूको लागि पनि बाटो खुल्ला रहेको गौतमले जानकारी दिए ।

प्रकाशित: ७ साउन २०८२ ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast