
काठमाडौँ- नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सक्रियता, विधान संशोधन, सदस्यता विस्तारलगायत विषयमा छलफल भएको छ।
ललितपुरस्थित च्यासल पार्टी मुख्यालयमा जारी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि आज मात्र ५८ जनाले धारणा राखेका छन्।
पहिलो दिन ४९ जनाले बोलेका थिए। अब बाँकी ७७ केन्द्रीय सदस्यले धारणा राख्न बाँकी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
गौतमका अनुसार बैठकमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण तथा सक्रिय राजनीतिमाब पुनः प्रवेशको विषयमा समेत छलफल भएको छ। साथै निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरूलाई संविधानअनुकूल कार्यकारी स्वरूपमा पुनःगठन गर्नुपर्ने प्रस्ताव पनि उठाइएको छ।
उनले पार्टीको सदस्य संख्या एक लाख ३९ हजारले वृद्धि भई करीब २८ प्रतिशतले बढेको जानकारी पनि दिए। बैठकमा सरकारको प्रभावकारिता, मूल्यवृद्धि, जनजीवनमा परेको असरलगायत विषयमा पनि व्यापक छलफल भएको गौतमले बताए।
विधान संशोधन र संगठनात्मक प्रतिवेदन यसअघि सचिवालय तथा पोलिटब्युरो बैठकले पारित गरिसकेको थियो। आजै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि बैठक समापन गरिनेछ।
बैठक सोमबारदेखि सुरु भएको हो।