
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्डमा पर्ने १३ पुलमध्ये पाँचवटा पुल दुई वर्षभित्र निर्माण सम्पन्न हुने जानकारी दिएका छन्।
आजको राष्ट्रियसभामा सांसद मायाप्रसाद शर्माले उठाएको प्रश्नको जवाफमा मन्त्री दाहालले झिम्री खोला, नलगाडा खोला, चौखा खोला, तात्र खोला र तासु खोलाको पुल निर्माण तीव्र गतिमा अघि बढेको बताए।
उनका अनुसार चालु आर्थिक वर्षदेखि सुरु भई आगामी तीन वर्षभित्र रिजिगाड, चुगाड, उसुम, गल्लीगाड खोलालगायत थप आठवटा पुल निर्माण गर्ने योजना रहेको छ।
मन्त्री दाहालले २०६८ सालमा पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत रुकुमपश्चिम-जाजरकोट जोड्ने भेरी सडकको पुल निर्माणका लागि वाईपी कन्स्ट्रक्सन प्रालिसँग तीन वर्षभित्र काम सक्ने सर्तमा सम्झौता भएको स्मरण गराए। उनले भने, ‘एक पिल्लर र केही टावरबाहेक अन्य काम ठप्प छ।’
वाईपी कन्स्ट्रक्सनले सम्झौता पालना नगरेपछि २०७१ मंसिर १३ गते कालोसूचीमा राख्न सिफारिस गरिएको पनि उनले जानकारी दिए। उनका अनुसार त्यसपछि दुईपटक बोलपत्र आह्वान गर्दा पहिलोपटक लागत अनुमानभन्दा धेरै मूल्य कबोल भएकाले र दोस्रोपटक कुनै बोलपत्र नपरेका कारण ठेक्का दिन नसकिएको हो।
हाल लागत अनुमान पुनरावलोकनको प्रक्रिया अघि बढाइएको छ र आर्थिक वर्ष २०८२/८३ मा ठेक्का व्यवस्थापन गरी निर्माण सुरु गरिने मन्त्री दाहालले जानकारी गराए।