
पोखरा- नेपाली कांग्रेसका नेता महेश आचार्यले गुटको पछि लाग्ने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएको बताएका छन्। बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा कांग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले विचारभन्दा गुटलाई प्राथमिकता दिनु पार्टी संगठनका लागि घातक सावित भएको बताए। ‘गुटप्रतिको दासत्वले कांग्रेस गाँजिएको छ, अब यसबाट माथि उठ्न जरुरी छ,’ नेता आचार्यले भने।
बीपीको निष्ठा र समर्पण आजका सन्दर्भमा अझै सिक्न योग्य रहेको उल्लेख गर्दै उनले सत्ताको खेल मात्रै गर्दा देशमा दुर्गति आउने चेतावनी दिए। प्रजातन्त्र बलियो नभएसम्म राष्ट्रियता पनि बलियो नहुने भन्दै उनले बीपीले देश र जनताको लागि दिएको बलिदानलाई सम्झन आग्रह गरे।
कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेलले बीपीका योगदानले नै आज स्वतन्त्र अभिव्यक्ति सम्भव भएको बताइन्। बीपीका आदर्शलाई आत्मसात् गर्दै अघि बढे राष्ट्रका लागि दिशानिर्देश प्राप्त हुने धारणा व्यक्त गरिन्।
कांग्रेस कास्कीका पूर्वसभापति यज्ञबहादुर थापाले ‘नागरिक ब्रेडले हैन, ब्रेनले सञ्चालन हुन्छ’ भन्ने बीपीको भनाइ स्मरण गर्दै बीपी विचार कहिल्यै नमर्ने बताए। कास्की सभापति किशोरदत्त बरालले पार्टीभित्र अनुशासन आवश्यक रहेको धारणा राखे भने प्रदेश कार्यवाहक सभापति कल्पना तिवारीले बीपीका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
प्रवक्ता माधवप्रसाद बास्तोला ‘मधु’, सहमहामन्त्री कोपिला रानाभाट, प्रशिक्षण विभाग उपप्रमुख प्रा.डा.कुशुमाकर न्यौपाने, पूर्वसभापति कृष्ण केसी, पोखरा महानगर सभापति सुरेन्द्रमान विजुक्छे, क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी र नेपाल दलित संघ गण्डकी अध्यक्ष परशुराम वि.क पोखरेललगायतले पनि बीपी विचारको उपेक्षाले कांग्रेस कमजोर बन्दै गएको धारणा राखे।