विपद् प्रभावितलाई अस्थायी आवास निर्माणमा सरकार सक्रिय : गृहमन्त्री लेखक

हिमाल प्रेस ६ साउन २०८२ १७:१३
8
SHARES
विपद् प्रभावितलाई अस्थायी आवास निर्माणमा सरकार सक्रिय : गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले भूकम्पलगायत प्राकृतिक विपद्‌बाट प्रभावित परिवारको पुनःस्थापना र आवास पुनर्निर्माणमा सरकारले तीव्रता दिएको बताएका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकमा गृहमन्त्री लेखकले २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको स्मरण गराउँदै पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिए।

सांसद मायाप्रसाद शर्माको प्रश्नको जवाफ दिँदै उनले निजी आवास निर्माणका लागि दुई किस्तामा राहत वितरण गरिएको बताए। उनका अनुसार अहिलेसम्म जाजरकोट, रुकुम पश्चिम, सल्यान, बाजुरा, बझाङ र जुम्लामा गरी कुल ३ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी अनुदान वितरण भइसकेको छ।

गृहमन्त्रीका अनुसार ‘विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याइएको छ। यसअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका ७६ हजार ३०८ घरधुरीको विस्तृत क्षति मूल्यांकन (डिडिए) सम्पन्न भइसकेको छ।

कार्यविधिअनुसार हिमाली क्षेत्रमा ५ लाख, पहाडी क्षेत्रमा ४ लाख र तराईका लागि ३ लाखसम्मको आवास अनुदान दिइनेछ। साथै, प्रबलीकरण गर्न मिल्ने घरका लागि १ लाख र भूमिहीन वा घडेरी नभएकालाई थप ३ लाखसम्म अनुदानको व्यवस्था गरिएको छ।

निर्माण प्रक्रिया तीव्र पार्न सरकारले जाजरकोट, अछाम र बझाङमा अस्थायी पुनर्निर्माण कार्यालय स्थापना गरेको छ।

प्रकाशित: ६ साउन २०८२ १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast