बाल विकासलाई प्राथमिकता दिँदै तारकेश्वरमा शिक्षा सुधार

हिमाल प्रेस ६ साउन २०८२ १५:३९
754
SHARES
बाल विकासलाई प्राथमिकता दिँदै तारकेश्वरमा शिक्षा सुधार

काठमाडौँ- तारकेश्वर नगरपालिकाले बाल विकास शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयमा गुणस्तरीय र बालमैत्री शिक्षाको अभियान तीव्र बनाएको छ। नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमबहादुर खत्रीका अनुसार बालविकास केन्द्रहरूलाई प्रभावकारी बनाउन ‘रातो बंगला स्कुल’ सँग एमओयु गरेर विशेष पठनपाठन मोडेल अपनाइएको छ।

खत्रीले बताएअनुसार हाल तारकेश्वरमा २२ वटा सामुदायिक विद्यालय र एक धार्मिक विद्यालय सञ्चालनमा छन्। ती विद्यालयमा रातो बंगला शिक्षण पद्धति लागू गरिएको छ, जसअनुसार शिक्षकहरूलाई विशेष तालिम दिइएको छ र त्यहीअनुसार सिकाइ प्रक्रिया अघि बढाइएको छ। ‘शिक्षकलाई तालिमपछि बालबालिकाको सिकाइ, सरसफाइ, कक्षाकोठा व्यवस्थापनदेखि शैक्षिक वातावरणसम्म धेरै सुधार देखिएको छ,’ खत्रीले भने।

बाल विकास कार्यक्रमलाई सबल बनाउन हाल नगरपालिकाअन्तर्गत ३९ जना बालविकास शिक्षक नगर अनुदानबाट र ३२ जना संघीय अनुदानबाट कार्यरत छन्। संघीय सरकारले उपलब्ध गराएको मासिक १० हजार रुपैयाँमा पालिकाले थप ८ हजार रुपैयाँ थप गरी शिक्षकलाई मासिक १८ हजार रुपैयाँ तलब दिँदै आएको छ।

नगरपालिकामा दुईबर्से बाल विकास कार्यक्रम सञ्चालनमा रहेको छ। बालमैत्री कक्षाकोठा, व्यवहारिक सिकाइ र संस्कारयुक्त शिक्षाले विद्यालयप्रति अभिभावकको भरोसा बढेको खत्रीको भनाइ छ। ‘सुरुमा संस्कार नै ठूलो रहेछ भन्ने थाहा भयो। त्यसैअनुसार बालमैत्री वातावरण सिर्जना गर्‍यौं र नतिजा उत्साहजनक आएको छ,’ उनले थपे।

खत्रीका अनुसार आर्थिक रूपमा कमजोर पृष्ठभूमिका बालबालिका सामुदायिक विद्यालयमा छन्। विद्यालयहरूको शैक्षिक तथा भौतिक व्यवस्थापन, सरसफाइ र वातावरणले अभिभावकहरू आकर्षित भएका छन्। ‘तारकेश्वरका सामुदायिक विद्यालय निजी विद्यालयभन्दा कुनै हिसाबले कमजोर छैनन्,’ शिक्षा शाखा प्रमुख खत्रीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast