![अध्यक्ष लिङ्देनले साथीहरूको योगदान भुलेपछि पार्टीमा समस्या आयो : सगुनसुन्दर लावती [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/07/sagunsundar-lawati.jpg)
राजसंस्थाको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विवाद चुलिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले वरिष्ठ नेता नवराज सुवेदीलाई अनुशासन समिति अध्यक्ष, सगुन सुन्दर लावतीलाई प्रवक्ता र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष पदबाट हटाएपछि विवाद सतहमा आएको हो। सुवेदीलगायत नेताहरू पद खोसिएपछि न्याय माग्दै निर्वाचन आयोग पुगेका छन्। केही समयअघिसम्म राजसंस्थाका पक्षमा चर्को सडक आन्दोलन गरिरहेको राप्रपा आफैँ विवादमा पर्दा राजावादी आन्दोलन अब कसरी अघि बढ्छ? व्यवस्था परिवर्तन गर्न लागेको राप्रपा आफैँमा किन अल्झिएको छ? यिनै विषयमा केन्द्रित रहेर राप्रपामा कारबाहीमा परेका नेता सगुनसुन्दर लावतीसँग गरिएको कुराकानी :
अध्यक्ष राजेन्द्र लिङ्देनले केही पदाधिकारीलाई बर्खास्त गरेपछि पार्टीमा किचलो बढेको छ। तपाईँ पनि कारबाहीमा पर्नुभएको छ। यस विषय आपसमा मिलाउन छाडेर तपाईँहरू किन निर्वाचन आयोग जानुभएको हो?
देशको संविधान र कानुनबमोजिम निर्वाचन आयोग राजनीतिक दलहरूको नियमन गर्ने सम्मानित संस्था हो। पार्टीभित्र विधानविपरीत कार्य भएपछि र स्वेच्छाचारिता सतहमा आएपछि पार्टी सञ्चालनमा देखिएका गल्तीकमजोरी सच्याएर विधिको शासन र आन्तरिक प्रजातन्त्र कायम गर्न हामीले निर्वाचन आयोगसमक्ष आवेदन दिएका हौँ। विधि स्थापित गरेर पार्टी एकता बलियो बनाउन र राप्रपाको प्रजातान्त्रिक छवि कायम राख्न निर्वाचन आयोगसमक्ष न्याय माग्नुपर्ने स्थिति आएको हो।
पार्टीमा एकथरी साथीहरूको भनाइ अध्यक्षलाई काम गर्न दिनुपर्छ भन्ने छ। वास्तवमा अध्यक्ष मात्र होइन उपाध्यक्ष, महामन्त्री, प्रवक्तालगायत सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पूर्ण कार्यकाल विधानअनुरूप काम गर्ने वातावरण उपलब्ध हुनुपर्छ। आग्रहपूर्वाग्रह राख्ने, घेराबन्दी गर्ने र छानीछानी कारबाही गर्नु उचित हुँदैन।
पहिले तपाईँलाई लिङ्देनले प्रवक्ता बनाए, अहिले हटाए, कुरा यत्ति होइन र? के अध्यक्षको आफ्नो अधिकार हुँदैन?
प्राकृतिक न्यायको सर्वमान्य सिद्धान्तअनुरूप केही गल्ती देखिएमा स्पष्टीकरणको मौका दिनु अनिवार्य हुन्छ, जो गरिएन। सामाजिक सञ्जालबाट जानकारी पाउने अवस्था भयो, जो दुःखद छ। राप्रपामा ‘हायर गर्नेले फायर गर्छ’ भन्ने संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको भनाइ चर्चा हुने गर्छ। वास्तविकता के हो भने त्यतिखेरको विधान र अहिलेको विधानमा आकाशजमिनको फरक छ। अहिलेको विधानअनुरूप अध्यक्ष एक्लैले मनलागी ‘फायर’ गर्न सक्दैनन्। एकता महाधिवेशनले पारित गरेको विधान पूर्ण रूपमा समितिप्रधान छ, सामूहिक नेतृत्वको मान्यताबाट निर्देशित छ।
कुनै पनि केन्द्रीय पदाधिकारी तथा सदस्यको कार्यकाल विधानको धारा ५९ अनुसार चार वर्ष हुन्छ, अर्को महाधिवेशन सम्पन्न नभएसम्म पदावधि कायम रहन्छ। त्यसअगावै हटाउन परे अध्यक्षले केन्द्रीय कार्य समितिको वैठकमा प्रस्ताव प्रस्तुत गरेर विधिपूर्वक हटाउने, कारबाही गर्ने प्रक्रिया अवलम्बन गर्नुपर्छ। अध्यक्षले विधि मिचेर कसैलाई हठात् हटाउन र हेरफेर गर्न सक्दैनन्। अध्यक्षको कदम विधानविपरीत छ।
नवराज सुवेदीले राजा ल्याउन लागेँ, राप्रपामा रहन्न भन्नु’भा होइन र? पार्टी नै छाडेँ भन्ने अनि पदका लागि आयोग गुहार्ने, यो त दोहोरो चरित्र भएन?
नवराज सुवेदीले कुन सन्दर्भमा के कुरा भन्नुभएको हो आफैँले स्पष्ट गरिसक्नुभयो। जहाँसम्म राप्रपा विधानको व्यवस्था छ, धारा ५० मा सम्बन्धित व्यक्तिले सम्बन्धित समितिमा लिखित राजीनामा दिनुपर्ने प्रावधान छ। सोही आधारमा राजीनामा स्वीकृत गर्ने वैधानिक व्यवस्था छ। लिखित राजीनामा नआएको अवस्थामा पार्टीले नेता सुवेदीलाई पार्टी परित्याग गर्नुभएको हो? भनी सोधेको पनि छैन।
पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको निवासमा बसेको अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपतिशमशेर राणा, वरिष्ठ नेताद्वय नवराज सुवेदी र हरिबहादुर बस्नेतसमेतको उपस्थितिमा बसेको बैठकमा महत्त्वपूर्ण सहमति भएको थियो। पार्टी छाड्ने कुरै छैन, पुरानै जिम्मेवारी निरन्तर राख्नुहोस् भनेर अध्यक्ष स्वयंले बैठकको निर्णयअनुरूप नेता सुवेदीलाई यो कुरा बताउनुभएको हो। उच्चस्तरीय बैठकमा सहभागी नेताहरूले हामीलाई भन्नुभएको यथार्थ यही हो।
सुवेदी नेतृत्वको राजसंस्था पुनःस्थापना समितिमा तपाईँ, रवीन्द्र मिश्र र धवलशमशेर राणासहितका नेताहरू संलग्न हुनुहुन्थ्यो। भनिन्छ, लिङ्देन आफैँ आन्दोलनको नेतृत्व गर्न चाहन्थे। तर तपाईंहरूले नै सुवेदीलाई समर्थन गर्दा लिङ्देन ‘बाइपास’मा परेका हुन्? तपाईँहरू मिलेर लिङ्देनलाई कमजोर बनाउन खोज्नुभएको हो?
संयुक्त जनआन्दोलन समितिमा मेरो औपचारिक भूमिका थिएन। ४४ दल र संघसंस्थाको संयुक्त भेलाले सुवेदीलाई संयोजक चुनेको हो।
तपाईँहरूको आपसी लडाइँले राजसंस्था पुनःस्थापनाको एजेन्डा कमजोर भयो भन्ने लाग्दैन? जुरमुराउन खोजेको आन्दोलन एकाएक शिथिल हुनुको कारण तपाईँहरूकै आन्तरिक विग्रह होइन?
खै मैले त कसैसँग लडाइँ गरेको छैन, आन्दोलनको सफलताका लागि भ्याएसम्म सहयोग गरेकै हुँ। राप्रपाको केन्द्रीय समितिले औपचारिक रूपमा संयुक्त जनआन्दोलन समितिमा सहभागी हुने, सहकार्य गर्ने निर्णय गरेको थियो। बरु पार्टीमा मलाई अन्याय भएको छ, किन त्यसो गरियो त्यसको कुनै जानकारी छैन।
म मात्र होइन, महामन्त्री राणा, नेता सुवेदी, केन्द्रीय सदस्य धनसुर शाहीलाई शृंखलाबद्ध रूपमा कारबाही हुँदा पार्टी नेतृत्व स्वयम राजसंस्था पुनःस्थापनाको आन्दोलनमा सक्रिय रहने नेताहरूप्रति अनुदार रहेको, पूर्वाग्रही भएको आंकलन र शंका जनमानसमा उत्पन्न भएको छ, जो दुःखद छ।
गएको पार्टी महाधिवेशनमा लिङ्देनलाई जिताउन सक्रिय हुनुभयो। जब लिङ्देनले चुनाव जिते, अनि कमजोर बनाउन लाग्नुभयो?
मैले होइन बरु निर्वाचन भएपछिका दिनमा अध्यक्ष स्वयंले महाधिवेशनमा सहयोग गर्ने नेता साथीहरूको योगदान बिर्सिएको भन्ने चर्चा पार्टीभित्र व्यापक छ। खोला तर्यो, लौरो बिर्सियो भन्छन्। अध्यक्ष लिङ्देनले त्यस्तै गर्नुभएको छ। तपाईँ आफैँ स्वतन्त्र अध्ययन-अनुसन्धान गर्नुहोस् यथार्थ के हो थाहा हुन्छ।
नवीन राप्रपाको प्रस्ताव मैले ल्याएको हुँ। नयाँ राप्रपा बनाउन लाग्दा असन्तुष्टि बढ्यो भनेर अध्यक्षले भन्नुभएको छ नि त! तपाईँहरूले कस्तो राप्रपा खोज्नुभएको हो?
नवीन राप्रपाको मूल आधार भनेको विधि, विधि र विधि हो। अब त्यही कुरा अध्यक्षले बिर्सिएपछि अरू के भन्नुपर्छ र?
राप्रपाभित्र स्थापना कालबाटै दुई गुट थियो। बीचमा पटकपटक टुटफुटको शृंखला व्यहोर्दै आएको यो पार्टीमा अहिले पनि धेरै गुट सक्रिय छन्। आगामी महाधिवेशन हेरेर गुटगत लडाइँ भइरहेको पनि भनिन्छ। खास कुरा के हो?
आगामी मंसिरमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने पार्टी निर्णय छ। महाधिवेशन नजिक रहेका बेला यसरी आफूखुसी कारबाही गर्नु न्यायसंगत छैन। विपक्षी नामेट पार्ने अवैध र गलत प्रयासले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा महाधिवेशन सम्पन्न हुन सक्दैन भन्ने चिन्ता र चासो बढेको छ।
त्यति मात्र नभएर स्थानीय तहमा अधिवेशनको प्रक्रिया जारी रहेको अवस्थामा केन्द्रीय निर्वाचन समितिले कुनै पनि तह र समितिमा पदहरू हेरफेर नगर्न भनी ७७ जिल्लामा परिपत्र जारी गरेको छ। यस परिवेशमा नेतृत्वबाटै अधिवेशन वा निर्वाचन आचारसंहिता उल्लंघन हुनु विडम्बना हो। स्वतन्त्र निर्वाचनमा विधानतः सहभागी हुने, चुनिने अवसर सबैलाई प्राप्त छ भने यस्तो विधानविपरीत काम किन?
तपाईँले महामन्त्री धवलशमशेर राणाको पनि पद गयो भन्नुभयो। के पद गएको हो?
भारतको मुम्बईमा क्यान्सरको उपचार गरिरहेका बेला महामन्त्री राणालाई सहयोग र सहानुभूति दिनु त कहाँ हो कहाँ, कुनै सरसल्लाह नगरी अध्यक्षले विधानविपरीत अमानवीय तवरले महामन्त्रीलाई संगठन विभाग प्रमुखबाट पदमुक्त गर्नुभएको थियो।
आगामी महाधिवेशनमा लिङ्देन र धवलशमशेरको लडाइँ हुन्छ भनेर बुझ्दा हुन्छ?
उम्मेदवार को को हुन्छन् औपचारिक भएको छैन। स्वस्थ प्रतिस्पर्धा हुन्छ, सही र सक्षम नेतृत्व चयन हुन्छ भन्नेचाहिँ भन्न सकिन्छ।
महाधिवेशनमा कुन पदमा लड्दै हुनुहुन्छ?
पार्टीका साथीहरूको सल्लाहमा उपयुक्त समयमा तय हुनेछ। पार्टीको श्रीवृद्धिमा निरन्तर लागिरहनेछु।
अर्को कुरा, सगुनसुन्दर लावती पूर्वको एउटा प्रतिष्ठित परिवारको मान्छे। पद्मसुन्दर लावतीको परिवारको सदस्य। अध्यक्ष राजेन्द्र लिङ्देन पनि उतैका। यी दुईबीच किचलो गर्दा राम्रो सन्देश जाला?
मैले केही गलत गरेको छैन। बरु अन्तर्राष्ट्रिय विभाग, संगठन विभाग र अहिले प्रवक्ता गर्दै, करिब १०-१२ महिनाका क्रममा मलाई तेस्रो पटक कारबाही गरिएको छ। सबै कारबाही विधानविपरीत छ। किन यस्तो कारबाही भयो मलाई कुनै जानकारी दिइएको छैन, स्पष्टीकरणको मौकासमेत दिइएको छैन। त्यसकारण जसले गल्ती गरेको छ, त्यतै जानकारी लिनुभए बेस हुन्छ होला। बरु पार्टीले दिएको जिम्मेवारी मैले प्रभावकारी रूपमा निर्वाह गरेको अर्थात् काम गरेकै कारण ममाथि पटक-पटक अवैध कारबाही भयो भन्ने आमधारणा छ। जे होस् कोही कसैसँग त्रसित र सशंकित हुनु पर्दैन।
रूपन्देही-३ मा उपनिर्वाचन आउँदै छ। रुपन्देहीमा राप्रपाकै पुराना नेता दीपक बोहराको स्थानमा चुनाव हुन लागेको हो। बोहरा परिवारकै दोस्रो पुस्ता उम्मेदवार बन्न चाहँदै छन्। आपसमा लड्ने हो भने उपनिर्वाचनमा कस्तो प्रभाव पर्ला?
नेता दीपक बोहराको अभाव हामी सबैलाई खट्केको छ। उहाँको अभावको शोकलाई हामी शक्तिमा बदल्नेछौँ। सही उम्मेदवार र सही रणनीति अख्तियार गरेर पार्टी अघि बढ्नेछ। हामीलाई विश्वास छ, नेता बोहराको विरासत निरन्तर राख्न हामी सफल हुनेछौँ।
पार्टीभित्रको विवाद अब कसरी टुंगिन्छ त?
निर्वाचन आयोगको कामकारबाहीबारे टिप्पणी गर्न परेन। समयअनुरूप नतिजा जानकारी हुने नै छ। जहाँसम्म पार्टीको कुरा छ, पार्टीको अभिभावक अध्यक्ष नै हुन्, बल उहाँकै कोर्टमा छ। मलाई सोध्नुहुन्छ भने पार्टी हित र पार्टी एकताको मूल आधार र सूत्र भनेकै विधानको अक्षरसः पालना हो।