
काठमाडौँ- नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यालय शिक्षा विधेयक-२०८० मा प्रस्तावित अस्थायी शिक्षकको समायोजनसम्बन्धी व्यवस्थाप्रति गम्भीर असहमति जनाएको छ।
अनेरास्ववियुले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा अस्थायी शिक्षकका लागि विधेयकमा प्रस्ताव गरिएको ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था अस्वीकार्य भएको जनाउँदै त्यसको सट्टा २५ प्रतिशत आन्तरिक र ७५ प्रतिशत खुला प्रतिस्पर्धा गरिनुपर्ने बताएको छ।
कार्यक्रममा अनेरास्ववियुले भनेको छ, ‘शिक्षकलाई हाम्रो सम्मान छ। तर सम्मानको आधारमा २५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा पर्याप्त हुन्छ। सरकारले उहाँहरूको योगदानलाई मूल्यांकन गरोस् तर शिक्षकलाई कायम राख्ने नाममा विद्यार्थीको भविष्यसँग खेलबाड गर्न मिल्दैन। योग्य नठहरे ‘गोल्डेन ह्याण्डसेक’ दिएर बिदा गर्नुपर्छ।’
अनेरास्ववियु सार्वजनिक शिक्षाको सुदृढीकरणका कुरा भनिए पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै राज्य अझ गम्भीर बन्नुपर्ने बताएको छ। सार्वजनिक शिक्षामा ध्यान नदिँदा निजी क्षेत्रको वर्चस्व बढिरहेको भन्दै अनेरास्ववियुले चिन्ता व्यक्त गरेको छ।
अध्यक्ष डा.सुजन कडरियाले हिमालप्रेससँग भने, ‘थ्रेसहोल्ड बनाउनुपर्छ। अस्थायी शिक्षकले त्यो थ्रेसहोल्ड पार गर्नुपर्छ किनभने शिक्षक विद्यार्थीको भविष्यसँग जोडिनुहुन्छ। अबको १० वर्षमा कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने विषय हो। सकेसम्म शत् प्रतिशत नै खुला गर्नुपर्छ र शिक्षकलाई गोल्डेन ह्याण्डसेक दिनुपर्छ भन्नेमा हौं। जो शिक्षकले लामो समयसम्म सेवा गर्नुभएको छ, सम्मानित ढंगले उहाँलाई बिदा गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो।’
उनले थपे, ‘शिक्षामा गुणस्तरीयता प्रदान गर्ने मुख्य आधार भनेकै दक्ष जनशक्ति हो। त्यो जनशक्तिमा शिक्षक पर्नुहुन्छ। शिक्षकहरूमै सम्झौता गर्यौं भने मुलुकको शैक्षिक क्षेत्र प्रभावित हुन्छ। त्यसैले शैक्षिक क्षेत्रको प्रतिगमनलाई टुलुटुलु हेरेर अनेरास्ववियु बस्दैन।’