
काठमाडौँ– मदन पुरस्कार गुठीले २०८१ को पुरस्कार लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ। गुठीले मंगलबार पुस्तकहरूको सूची सार्वजनिक गरेको हो।
सूचीमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो, कुमारी लामाको दर्ज्यु संलाप, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालाम, श्रेयज सुवेदीको बहुरुपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह र तीर्थ गुरुङको हिउँको गीत रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाएका छन्। गुठीका अनुसार सातमध्ये एउटा पुस्तकले मदन पुरस्कार पाउनेछ।
मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। ‘मदन पुरस्कार’ स्थापना हुने घोषणा सवर्प्रथम २०१२ असोज १० गते भएको थियो। २०१३ सालमा पहिलोपटक ‘हाम्रो लोक संस्कृति’ का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’ का लागि चित्तरञ्जन नेपाली तथा ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ का लागि बलराम जोशीले ‘मदन पुरस्कार’ प्राप्त गरेका थिए। २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन।
२०२५ सालसम्म गुठीले चार–चार हजारका जम्मा चार ओटा सम्मान पुरस्कार प्रत्येक वर्ष दिन सक्ने व्यवस्था गरेको थियो। त्यसपछि दस–दस हजार रुपैयाँका दुई सम्मान दिने व्यवस्था भयो।
२०३३ सालपछि भने एकमात्र सम्मान दिने व्यवस्था गरियो र सम्मान रकम पच्चीस हजारको भयो। त्यसपछि सम्मान रकम २०४० सालमा तीस हजार, २०४२ सालमा चालीस हजार, २०४३ सालमा पचास हजार, २०५१ सालमा एक लाख, २०६१ सालमा दुई लाख तथा २०७५ सालमा चार लाख भएको छ।
सम्वत् २०१३ देखि मदन पुरस्कारबाट सम्मानित स्रष्टाहरू
२०१३
हाम्रो लोक संस्कृति : सत्यमोहन जोशी
जनरल भीमसेन थापा : चित्तरञ्जन नेपाली
धिकविभव स्थिरविद्युत् उत्पादक : डा. बलराम जोशी
२०१४
मन : लीलाध्वज थापा
मृत्तिका उद्योग : करुणाकर वैद्य
२०१५
कवि व्यथित र काव्यसाधना : कृष्णचन्द्रसिंह प्रधान
उद्यान : गंगाविक्रम सिजापति
२०१६
महाकवि देवकोटा : नित्यराज पाण्डे
२०१७
विस्फोट : भीमनिधि तिवारी
नेपाली राष्ट्रिय मुद्रा : सत्यमोहन जोशी
२०१८
नयाँ सडकको गीत : रमेश ‘विकल’
२०१९
आमाको सपना : गोपालप्रसाद रिमाल
२०२०
नैषधीय चरित’ अनु. : कोमलनाथ अधिकारी
जोसमनी सन्त परम्परा र साहित्य : जनकलाल शर्मा
२०२१
नेपाली भाषा र साहित्य : बालकृष्ण पोखरेल
प्राकृत पोखरा : मुकुन्दशरण उपाध्याय
प्राचीन हिन्दु अर्थशास्त्र : नवराज चालिसे
वस्त्र-निर्माणकला : लक्ष्मीबहादुर श्रेष्ठ
२०२२
शिरीषको फूल : पारिजात
करूणाकर वैद्य
२०२३
स्रष्टा र साहित्य : उत्तम कुँवर
मानव महाकाव्य : मोदनाथ प्रश्रित
२०२४
एब्स्ट्रयाक्ट चिन्तन प्याज : शंकर लामिछाने
नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास : ग्रीष्मबहादुर देवकोटा
२०२५
टिपन-टापन : पारसमणि प्रधान
मङ्गली कुसुम : धर्मराज थापा
२०२६
बेलाइततिर बरालिँदा : ताना सर्मा
२०२७
नेपाली निर्वचनको रूपरेखा : महानन्द सापकोटा
२०२८
कर्णाली लोक संस्कृति (संयुक्त रूपमा) : सत्यमोहन जोशी, स्थिरजङ्गबहादुर सिंह,
बिहारीकृष्ण श्रेष्ठ, श्री चूडामणि ‘बन्धु’ र श्री प्रदीप रिमाल
२०२९
आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् : ईश्वरवल्लभ
२०३०
लिच्छविकालका अभिलेख : धनवज्र वज्राचार्य
२०३१
(कसैलाई पनि प्रदान गरिएन)
२०३२
आगत : भवानी भिक्षु
२०३३
(कसैलाई पनि प्रदान गरिएन)
२०३४
लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन :डा. वासुदेव त्रिपाठी
२०३५
घामका पाइलाहरू : ध.च. गोतामे
२०३६
नेपालका परम्परागत प्रविधि : डा. छविलाल गजुरेल र करुणाकार वैद्य
२०३७
नरसिंह अवतार : जगदीशशमशेर राणा
२०३८
‘नदी किनाराका माझी : मोहन कोइराला
२०३९
माधवी : मदनमणि दीक्षित
२०४०
अलिखित : ध्रुवचन्द्र गौतम
२०४१
प्रत्यागमन : कञ्चन पुडासैनी
२०४२
वैकुण्ठ एक्सप्रेस : मोहनराज शर्मा
२०४३
लिच्छवि संवत्को निर्णय : नयराज पन्त
२०४४
उत्सर्ग प्रेम : राजेश्वर देवकोटा
२०४५
ज्योति, ज्योति, महाज्योति : दौलतविक्रम विष्ट
२०४६
नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका : राजेश गौतम
२०४७
मृत्युञ्जय महाकाव्य : भानुभक्त पोखरेल
२०४८
पागलबस्ती : सरूभक्त
२०४९
पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सय दिन (वि.सं. २००७) : भवेश्वर पंगेनी
२०५०
माध्यमिक नेपाली गद्याख्यान : शरदचन्द्र शर्मा भट्टराई
२०५१
सही शब्द : फादर विलियम बर्क
२०५२
योजनगन्धा : विनोदप्रसाद धिताल
२०५३
नेपाली राष्ट्रिय झण्डा : दयाराम श्रेष्ठ
२०५४
विसर्जन : लोकेन्द्रबहादुर चन्द
२०५५
दुःखान्त नाटकको सृजना परम्परा : डा. केशवप्रसाद उपाध्याय
२०५६
अतिरिक्त अभिलेख : दिनेश अधिकारी
२०५७
नेपालको सिमाना : बुद्धिनारायण श्रेष्ठ
२०५८
अभिनव संस्कृति कोष : हरिराम जोशी
२०५९
नेपाली कानूनको ऐतिहासिक रूपरेखा : रेवतीरमण खनाल
२०६०
नयाँ ईश्वरको घोषणा : गोपाल पराजुली
२०६१
पल्पसा क्याफे : नारायण वाग्ले
२०६२
राधा : कृष्ण धरावासी
२०६३
छापामारको छोरो : महेशविक्रम शाह
२०६४
अन्तर्मनको यात्रा : जगदीश घिमिरे
२०६५
एक हातको ताली : युवराज नयाँघरे
२०६६
नेपालका बालीनाली र तिनको दिगो खेती : नरबहादुर साउद
२०६७
जीवन काँडा कि फूल : झमक घिमिरे
२०६८
सेतो धरती : अमर न्यौपाने
२०६९
दमिनी भीर : राजन मुकारूङ
२०७०
खलंगामा हमला : राधा पौडेल
२०७१
खुसी : विजयकुमार
२०७२
ऐना : रामलाल जोशी
२०७३
धृतराष्ट्र : घनश्याम कँडेल
२०७४
योगमाया : नीलम कार्की निहारिका
२०७५
रणहार : योगेश राज
२०७६
महारानी : चन्द्रप्रकाश बानियाँ
२०७७
‘लिम्बुवानको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०
वा सन् १६६२ – १९६३) : भगिराज इङ्नाम
२०७८
अग्नि : डा. नवराज लम्साल
२०७९
ऐंठन : विवेक ओझा
२०८०
मुकाम रणमैदान : मोहन मैनाली
कुनै साल पुरस्कार वितरण हुन नसकेमा त्यसको रकमबाट विद्वत्वृत्ति दिने पनि नियम छ। चार जनाले मदन पुरस्कार विद्वद्वृत्ति पाएका छन्। विद्वद्वृत्ति पाउनेमा चूडामणि बन्धु, राममणि रिसाल, कोमलप्रसाद सुवेदी र जयराज आचार्य छन्।