संघीयता कमजोर बनाउन ठूला दल नै लागि परेका छन् : राउत

हिमाल प्रेस ५ साउन २०८२ २०:३५
14
SHARES
संघीयता कमजोर बनाउन ठूला दल नै लागि परेका छन् : राउत

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले देशमा संंघीयतालाई कमजोर बनाउने खेल भइरहेको बताएका छन्।

सोमबार कलैयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशमा संघीयता आए पनि विभिन्न प्रकारले कमजोर पार्नका लागि ठूला पार्टी नै लागि परेको आरोप लगाए।

‘संघीयता आए पनि प्रदेशमा आफ्नो प्रहरी प्रशासन छैन। संघ सरकारकै मातहतमा कर्मचारी, प्रहरी प्रशासन रहेकाले प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसक्ने अवस्था छ,’ राउतले भने, ‘संघीयताका लागि सरकार र देशका ठूला पार्टीहरूले नै राम्रो भूमिका खेल्न सकेनन्।’

उनले तराई मधेसको हकअधिकारलाई स्थापित गर्न यहाँबाट प्रतिनिधित्व गर्ने सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिए। अध्यक्ष राउतले संंविधान संशोधनको माध्यमबाट तराई मधेशलगायत देशका समस्या सम्बोधन गर्न अपरिहार्य रहेको बताए।

उनले सरकारले जनतामा आशा जगाउने गरी आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिए। ‘नेपाली जनताको आशा र भरोसा गरेका कांग्रेस र एमाले मिलेर सरकार बनेको छ। यसले जनतामा रहेको निरासा हटाउने गरी काम गर्नुपर्छ, तर हालको भूमिका राम्रो नभएका हाम्रो बुझाई छ,’ उनले भने।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गठबन्धन सरकार भएको कारण मधेशमा चाहेजस्तो विकास गर्न नसकिएको धारणा राखे। विविध समस्याका बाबजुद प्रदेश सरकार मधेशी जनताको विकासको चाहना र अधिकार रक्षाका लागि निरन्तर प्रयास गरिरहेको उनले बताए।

पार्टीका जिल्ला अध्यक्ष शवनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, मधेश प्रदेशसभाका निवर्तमान सदस्य पारस साहलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता जनमतमा प्रवेश गरेका थिए।

प्रकाशित: ५ साउन २०८२ २०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast