त्रिवि : सम्बन्धित क्याम्पसबाटै ट्रान्सक्रिप्ट निकाल्न मिल्ने, परीक्षा नदिए पनि कक्षा ‘अपग्रेड’ हुने

विवेक विवश रेग्मी ५ साउन २०८२ १९:५१
248
SHARES
त्रिवि : सम्बन्धित क्याम्पसबाटै ट्रान्सक्रिप्ट निकाल्न मिल्ने, परीक्षा नदिए पनि कक्षा ‘अपग्रेड’ हुने

इटहरी- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब सम्बन्धित क्याम्पसबाटै विद्यार्थीले ट्रान्सक्रिप्ट निकाल्न मिल्ने व्यवस्था गरेको छ। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सोमबार इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा आयोजित ‘आईटी तालिम तथा अनलाइन डकुमेन्ट इन्ट्री’ कार्यक्रममा सम्बोधन गर्दै यसै वर्षदेखि सम्बन्धित क्याम्पसबाटै ट्रान्सक्रिप्ट निकाल्न पाउने व्यवस्था गरिएको बताए।

उनले भने, ‘अब विद्यार्थीले सम्बन्धित क्याम्पसबाटै यो सुविधा पाएपछि काठमाडौँ धाइराख्ने अवस्था रहेन। तर अझै पनि विद्यार्थीहरू परीक्षा फाराममा त्रुटि हुँदा काठमाडौँ धाइरहेका छन्।’

खास गरी परीक्षा फारम भर्दा कसैको नाम, कसैको विषय कोड बिग्रिने गरेको भन्दै उनले सम्बन्धित क्याम्पसलाई विद्यार्थीको फाराम भर्दा त्रुटि नगर्नसमेत निर्देशन दिएका छन्। ‘अझै पनि परीक्षा फारम भर्दा कसैको नाम, कसैको विषय कोड बिग्रिएको अवस्था छ। परीक्षा फाराम भर्दा समयसीमाभित्र छ कि छैन? योबारे हेर्नुपर्छ,’ उनले भने।

त्रिविको कोर्सअनुसार दुई वर्षे कोर्स भए ६ वर्षभित्र, तीन वर्षे भए ७ वर्षभित्र र ४ वर्षे कोर्स भए ८ वर्षभित्र पासआउट भइसक्नुपर्ने उनले स्मरण गराए। कुनै पनि विषयमा अध्ययनरत विद्यार्थीले नियमित उत्तीर्ण नभए थप ४ वर्षभित्र उत्तीर्ण गर्नुपर्ने व्यवस्था छ। सो कुरालाईसमेत मध्येनजर गर्दै परीक्षा फाराम भर्दा त्रुटि गर्न नहुने र सो कुरा परीक्षा शाखाले हेर्नुपर्ने उनले बताए।

‘भर्ना वर्ष कहिले हो ? यो राम्ररी हेर्नुपर्छ। यसअघि कम्तीमा एउटा परीक्षाको उत्तरपुस्तिकामा उपस्थित हुनुपर्ने भए पनि अब भने आवेदन फाराम भरेपछि कक्षा अपग्रेड हुन्छ,’ परीक्षा नियन्त्रक जोशीले थपे, ‘प्रथम वर्षमा भर्ना भएर फाराम भरेपछि परीक्षा नै नदिए पनि कक्षा अपग्रेड हुन्छ।’

विद्यार्थीले परीक्षाको कोड नम्बर नहेरी र कुन विषयको परीक्षा नै नहेरी जे प्रश्न आउँछ त्यो नै उत्तर लेखिरहेकाले यो त्रुटि परिमार्जन गर्न अपरिहार्य रहेको जोशीले बताए।

कतिपय विद्यार्थीले क्याम्पस आएर फाराम नभर्ने, फाराम भर्न अरूलाई लगाउने हुँदासमेत नाममा त्रुटि हुने भएकाले यसलाई गम्भीर रूपमा नियालेर फाराम स्वीकृत गर्न सम्बन्धित क्याम्पसले ध्यान दिनुपर्ने उनले बताए। नाम त्रुटि भए तत्काल सच्याउनका लागि शुल्कसमेत नलाग्ने उनको भनाइ छ।

पछिल्लोपटक त्रिविले उत्तरपुस्तिका परीक्षण गर्न क्षेत्रीय कार्यालयलाई नै सर्वसत्तावान बनाउने तयारीसमेत तीव्र रूपमा अगाडि बढाएको उनले बताए। त्रिविमा केही कमजोरी भए क्रमशः सुधार गर्दै लैजानेसमेत उनको भनाइ छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डा. गोविन्दप्रसाद गुरागाईं, जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसी, कोशी प्रदेशका त्रिविअन्तर्गतका क्याम्पसहरूबाट परीक्षा शाखामा कार्यरत तथा प्राध्यापक एवम् कर्मचारीहरूको उपस्थिति  थियो।

तालिममा अनलाइन प्रविष्टि प्रणाली सम्बन्धी आवश्यक प्राविधिक ज्ञान, डेटा इन्पुटको प्रक्रिया, सावधानी अपनाउनु पर्ने बुँदाहरू र त्रुटि न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी दिइएको थियो। कार्यक्रमले डिजिटल प्रणालीमार्फत परीक्षा व्यवस्थापनमा पारदर्शिता र दक्षता वृद्धि हुने अपेक्षा गरिएको जानकारहरूले बताएका छन्।

करिब डेढ महिनाअघि त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले जनता बहुमुखी क्याम्पसमै आयोजित एक कार्यक्रममा परीक्षा प्रणाली विस्तारै सुधार हुँदै जाने दाबी गरेका थिए। उनका अनुसार त्रिविले प्रदेशअन्तर्गत पाँच वटा ठाउँमा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय राखेको छ। कोशी प्रदेशमा विराटनगरको परीक्षा नियन्त्रण कार्यालयबाटै नतिजा अब्बल बनाएर अन्य प्रदेशका सिकाउने नमुना काम गर्नुपर्ने उनले उदृत गरेका थिए।

प्रकाशित: ५ साउन २०८२ १९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast