
काठमाडौँ- नेपाली कांग्रेसका सात नेताहरूको बैठक उपप्रधान तथा सहरी विकासमन्त्रीसमेत रहेका नेता प्रकाशमानसिंहको काठमाडौँ ठमेल चाक्सीबारीस्थित निवासमा भएको छ। यसअघि पनि छलफल गर्दै आएका कांग्रेसका सात नेताहरू सोमबार बैठकका लागि सिंहको चाक्सीबारी निवासमा जुटेका हुन्।
बैठकमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला सहभागी थिए। बैठकमा कांग्रेस प्रवक्ता प्रकाशशरण महत पनि सहभागी भएका थिए।
पूर्वउपसभापति श्रेष्ठ निवासबाट सुरु भएको सातै नेताहरूको बैठक यसअघि पूर्वमहामन्त्री कोइराला निवासमा बसिसकेको छ। सोमबारको भेला सिंहले संयोजन गरेका हुन्। निधि, सिंह र शशांकको ‘लन्च मिटिङ’ बाट सुरु भएको छलफलमा संख्या थपिँदै अहिले संस्थापन समूहका सातजना भएका हुन्।
बैठकमा समसामयिक राजनीति, सरकारको कामकारबाहीका साथै आसन्न महाधिवेशनबारे छलफल भएको सिंहको सचिवालयले जनाएको छ। सात नेताहरूको निरन्तर भइरहेको बैठकलाई १५ औँ महाधिवेशनका लागि संस्थापन समूहबाट सभापतिका लागि साझा उम्मेदवार छान्ने तयारीको रूपमा अर्थ्याइएको छ। यद्यपि अहिले त्यो समय आइ नसकेको बैठकमा सहभागी एक नेताले बताए। उनका अनुसार यो बैठक पछिल्ला बैठकको निरन्तरता हो।
‘अहिलेका बैठकहरू महाधिवेशन केन्द्रितमात्रै होइन। सरकार सञ्चालन, पार्टी सुदृढीकरण, महाधिवेशनको तयारीका विषयमा केन्द्रित छ,’ ती नेताले भने,‘अहिले उम्मेदवार छान्ने बेला आएको छैन। त्यसका लागि धेरै समय बाँकी छ। समय आएपछि साझा उम्मेदवार बनाउने विषयमा पनि छलफल हुन्छ।’ उनका अनुसार साझा उम्मेदवार बनाउने विषयमा अहिले छलफल प्रवेश भएको छैन।
चक्रीय प्रणालीअनुसार छुट्टाछुट्टै नेताहरूको निवास पुगेर छलफल गर्दै आएका सातै नेता संस्थापननिकट हुन्। १५ औँ महाधिवेशनका लागि इतर समूहका नेता डा.शेखर कोइराला तयारीमा जुटिसके पनि सभापति शेरबहादुर देउवाले भने तयारी थालेका छन्।
विधानअनुसार सभापति लड्न नपाउने देउवाले आफ्नो उत्तराधिकारीसमेत घोषणा गरेका छैनन्। पछिल्लो समय छलफलमा जुटेका सातै जना नेता देउवानजिक मानिन्छन्। उनीहरू सबै जना पार्टी नेतृत्वका लागि आकांक्षी देखिए पनि आश्वासन पाइसकेका छैनन्।