युवतीले गरिन् पूर्वप्रेमीको ‘हत्या’, यस्तो छ कारण

हिमाल प्रेस ५ साउन २०८२ १५:४४
170
SHARES
युवतीले गरिन् पूर्वप्रेमीको ‘हत्या’, यस्तो छ कारण

काठमाडौँ- पूर्वप्रेमीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्साका २८ वर्षीय शनि भनिने विमलेश यादवको हत्याको आरोपमा प्रहरीले महोत्तरी बलवा नगरपालिका-७ बनौटाकी २४ वर्षीया जुली झालाई पक्राउ गरेको हो।

जुलीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

शनिबार राति विमलेशलाई जनकपुरको लादोबेलास्थित होटल एसपी एन्ड गेस्ट हाउसमा छुरा प्रहरी गरी जुलीले एक तलाबाट खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसरी भएको थियो घटना

शनिबार राति ९:५५ बजे विमलेश र जुलीसँगै होटलमा गएका थिए। सीसीटीभी फुटेजमा देखिएअनुसार विमलेश अगाडि र जुली पछाडि कपडाले अनुहार छोपेर होटलमा प्रवेश गरेकी थिइन्। करिब पाँच घन्टापछि आइतबार बिहान २:५७ बजे विमलेश नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको सीसीटीभी फुटेजमा देखिन्छ। लगत्तै जुली तल ओर्लेर भुइँमा खसेको विमलेशको छेउबाट भागेकी थिइन्। सीसीटीभी फुटेजमा देखिएअनुसार होटल प्रवेश गर्दा सामान्य देखिएकी जुली घटनापछि अत्तालिएकी छन्।

केहीबेरपछि प्रहरी घटनास्थल पुगेको थियो। घाइते अवस्थामा रहेका विमलेशले घटनास्थलमै प्रहरीलाई बयान दिएका थिए भने एम्बुलेन्समा पनि आफैँ चढेका थिए। उपचारबम क्रममा उनको आइतबार बिहान ७:४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो।

सीसीटीभी क्यामरामा कैद भएको आधारमा प्रहरीले जुलीलाई आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले जुलीलाई महोत्तरीको परौलबाट नियन्त्रणमा लिएको जानकारी दिए।

के हो कारण?

विमलेश र जुली प्रेम सम्बन्धमा थिए। विमलेश विवाहित रहेको भन्ने कुरा जुलीलाई जानकारी थिएन। विमलेश विवाहित रहेको थाहा पाएपछि उनले सम्बन्ध तोडेका थिए। विमलेशले भने आफूसँगै बस्नुपर्ने भनेर जबरजस्ती गर्ने गरेको जुलीले प्रहरीसमक्ष बयान दिएकी छन्।

‘पहिले दुवै जना प्रेम सम्बन्धमा थिए। विमलेश विवाहित रहेको भनेर जुलीले थाहा पाएपछि अब सम्बन्ध नराख्ने भनेकी रहेछिन्,’ डीएसपी सिंहले भने, ‘पुराना भिडियो र तस्बिर देखाएर विमलेशले ब्ल्याकमेल गरेको देखिन्छ।’ अहिलेसम्मको अनुसन्धानबाट ‘ब्ल्याकमेल’ गरेकै कारण यो घटना भएको बुझिएको उनले भने।

‘पहिले प्रेम, त्यसपछि केटा विवाहित भएको केटीले थाहा भएको, पछि साइड हुन खोजे पनि केटाले बार्गेनिङ गर्न थालेपछि बाध्य भएर यो घटना भएको देखिएको छ,’ डीएसपी सिंहले भने।

दुवैजना सहमतिमै होटल आएको देखिए पनि पौने तीन बजे रातिसम्म के भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। डीएसपी सिंहका अनुसार विमलेशको हत्यामा अहिलेसम्म जुलीमात्रै संलग्न भएको देखिए पनि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।

‘दुवै जना सहमतिमै होटल आएको पाइएको छ। होटल प्रवेश गरेको बखत उनीहरू सामान्य अवस्थामै देखिएका छन्,’ सिंहले भने,‘होटलमा बसिसकेपछि र घटना भएको समयको बीचमा के भयो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ। अहिलेसम्म जुलीको मात्रै संलग्नता देखिएको छ। अनुसन्धानबाट कोही अरू देखिए पक्राउ पर्छ।’

वैदेशिक रोजगारका लागि कतारमा रहेका विमलेश ६ महिनाअघि मात्रै घर फर्किएका थिए। कतारबाट उनले जुलीलाई पैसा पठाउने गरेको बुझिएको छ। पैसाको लेनदेनको विषयलाई लिएर पनि विमलेशको हत्या भएको हुनसक्ने स्थानीयको अनुमान छ। यद्यपि प्रहरीले भने पैसाको लेनदेनसम्बन्धी विषय अहिले अनुसन्धानबाट नखुलेको बताएको छ।

प्रकाशित: ५ साउन २०८२ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast