ओलीले भने- भण्डारीसँगको छलफल सौहार्दपूर्ण भयो

हिमाल प्रेस ५ साउन २०८२ १५:३२
18
SHARES
ओलीले भने- भण्डारीसँगको छलफल सौहार्दपूर्ण भयो

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्री विद्या भण्डारीसँग सौहार्दपूर्ण छलफल भएको बताएका छन्। एमाले केन्द्रीय कमिटी बैठक सोमबार आरम्भ गर्दै ओलीले छलफल सौहार्दपूर्ण भएको बताएका हुन्। ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषय छलफलबाट टुंगिने बताएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सञ्चारकर्मीलाई जानकारी दिए।

ओलीले पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’का रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न निर्देशन दिएका छन्। गौतमका अनुसार ओलीले नेपाली राजनीतिमा भइरहेका घटनाक्रम, एमालेप्रति भइरहेका आक्रमण र त्यसका प्रतिकारमा पार्टीले लिनुपर्ने रणनीति प्रस्तुत गरेका थिए। ‘पार्टी अध्यक्षले कसरी एमालेमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको छ र त्यसको सामना कसरी गर्ने भन्नेबारे बैठकमा स्पष्ट धारणा राख्नुभयो’, गौतमले सञ्चारकर्मीसँग भने।

उनका अनुसार अध्यक्ष ओलीले पार्टीका सम्पूर्ण संरचनालाई सुदृढ बनाउँदै वैचारिक स्पष्टताका साथ अघि बढ्न निर्देशन दिएका छन्। ‘पार्टीमा अहिले कुनै वैचारिक मतभेद छैन, सानातिना मतभेदमा नअलमलिन र सबैलाई एकताबद्ध भएर अघि बढ्न अध्यक्षले निर्देशन दिनुभएको छ’, गौतमले भने।

गौतमका अनुसार पछिल्लो समय देशभर एक लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्। उनले भने, ‘पार्टी थप क्रियाशील भएर अघि बढेको देखिएको छ।’

अध्यक्ष ओलीले नेताहरूलाई अफवाह फैलाउने कार्य नगर्न र पार्टी सुदृढ बनाउन सबै लाग्नुपर्ने धारणा राखेका थिए।

एमालेले आगामी भदौ २०–२२ गते विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ। केन्द्रीय कमिटीको जारी बैठकलाई विधान संशोधन, सांगठनिक स्पष्टता, सदस्यता अभिवृद्धि र राजनीतिक रणनीति निर्माणको दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पोलिटब्युरोको चौथो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी महासचिव शंकर पोखरलले विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रस्तावको सन्दर्भमा वडाकेन्द्रित अभियान, सदस्यता नवीकरण, प्रतिगमनकारी क्रियाकलापविरुद्धको जागरण अभियान र स्थानीय कमिटीहरूको अधिवेशनलगायत विषयमा बैठकलाई जानकारी गराउनेछन्।

केन्द्रीय कार्यालयको जिम्मा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast