यस्तो रह्यो कृषिमन्त्री रामनाथ अधिकारीको एकवर्षे उपलब्धि

हिमाल प्रेस ५ साउन २०८२ १४:१७
10
SHARES
यस्तो रह्यो कृषिमन्त्री रामनाथ अधिकारीको एकवर्षे उपलब्धि

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी किसानलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरु भएको बताएका छन्।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धि सार्वजनिक गर्दे मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको जानकारी दिए। मन्त्री अधिकारीले यो अवधिमा आफ्नो सोचअनुरुपका सबै काम गर्न नसके पनि मेरो प्रयास मुलुकको समग्र कृषि क्षेत्रको सुधार र किसानका पक्षमा रहेको यस अवधिमा म र मन्त्रालयमार्फत भएका निर्णयले पनि पुष्टि गरेको उनको भनाइ छ।

मन्त्री अधिकारीले भने, ‘कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो र लाखौँ नेपालीको जीविकोपार्जनको आधार हो। यसैलाई दृष्टिगत गर्दै मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएका छौ।’

उनले रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको, रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरणसम्बन्धी कार्यविधि संशोधन गरिएको उनको भनाइ छ। यसबाट रायानिक मल आपूर्ति तथा वितरण व्यावस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीले बताए।

सात वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारीको समायोजनअनुसारको संगठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरी संगठन सुदृढ तथा व्यवस्थापन गरिएको बिउबिजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको , कृषि तथा पशुपन्छी बिमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको पनि मन्त्री अधिकारीले बताए।

त्यस्तै कृषि क्षेत्रको एकीकृत कानुनका रुपमा रहेको कृषि विधयेक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भई मन्त्रिपरिषद्‌मा लैजाने अन्तिम तयारी रहेको, पशुकल्याण ऐनलाई पनि अन्तिम रुप दिइएको पनि मन्त्री अधिकारीले जानकारी गराए।

खाद्य गुणस्तर परीक्षण गर्ने चारवटा मोबाइल भ्यान सञ्चालनमा आएको, नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्न उच्चस्तरीय कार्यदल गठन गरी कार्य भइरहेको, कृषिसम्बन्धी प्रविधिहरूको दर्ता, कृषि प्रविधि प्रसार एवं हस्तान्तरणको संस्थागत संरचना निर्माण गर्ने नीतिगत निर्णय गरी यसको कार्यान्वयनसमेत सहयोग पुग्ने उद्देश्यले नेपाल राष्ट्र बैंकमा आवश्यक पहल गरी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिमा नार्कका सिफारिस प्रविधिमा कर्जा प्रवाह सहजीकरण गर्ने व्यवस्था समावेश गरिएको छ।

मन्त्री अधिकारीका अन्य उपलब्धि

जीवनाशक विषादीको गुणस्तर परीक्षण तथा अनुसन्धान प्रयोगशाला सञ्चालनार्थ क्वारेन्टाइन केन्द्र, प्रदेश सरकार, विश्वविद्यालय लगायत सरोकारवाला संस्थाहरूसँग परामर्श र समन्वय गर्नेगरी आवश्यक संरचना, मोडेल र कार्यक्रमबारे नीतिगत निर्णय भई प्रक्रिया अघि बढाइएको छ।

दुग्ध विकास संस्थान (डीडीसी) सम्बन्धी अध्ययन गरी पुनर्संचना एवम् व्यावसायिक सुधारका लागि २३ बुँदे कार्ययोजना तथा सञ्चालन मोडालिटी तयार भएको छ। चीनमा दुग्ध पदार्थ र मासु निर्यातका लागि भन्सार सहजीकरणसम्बन्धी कार्य गरिएको छ।

खोरेत रोग मुक्त क्षेत्र घोषणा गर्न संघीय सरकार र प्रदेश सरकारको संयुक्त पहलमा कोशी प्रदेशको इलाममा तीन क्षेत्रमा जोनिङ तथा कम्पार्टमेन्टलाइजेसन कार्य थालनी भएको छ।

रैथाने बालीको संरक्षण, प्रवर्धन एवम् यसको महत्त्वको प्रचारप्रसार गर्न मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदको बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको छ।

हिमाली क्षेत्रको आनुवंशिक स्रोत तथा दुर्लभ  हुँदै गएको याकको संरक्षणका लागि वैशाख ७ गतेलाई याक दिवसका रूपमा मनाउने घोषण गरी पहिलो राष्ट्रिय याक दिवस मनाइएको छ।

बिउ बिजनसँग सम्बन्धित दर्ता, अनुमतिपत्र नवीकरण, प्रमाणीकरणलगायतका कार्य अनलाइनमार्फत सञ्चालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावकारी बनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast