
काठमाडौँ- चीनले भारतको जम्मु-कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेको छ। अमेरिकाले पाकिस्तान आधारित आतंककारी संगठन लस्कर–ए–तैयबाको समूह ‘द रेसिस्टेन्ट फ्रन्ट (टीआरएफ)’ लाई विदेशी आंककारी संगठन घोषित गरेपछि चीनले पहलगाम आक्रमणको निन्दा गरेको हो।
पहलगाम घटना भएको तीन झन्डै तीन महिनापछि चीनले निन्दा गरेको हो।
गत २२ अप्रिलमा पर्यटकलाई लक्षित गरेर पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएको थियो। प्रतिक्रियास्वरूप भारतीय सेनाले ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेर पाकिस्तानी भूमिमा रहेका आतंकवादी संगठनहरूको अड्डामाथि आक्रमण गरेको थियो।
यो घटनापछि अमेरिकाले टीआरएफलाई विदेशी आतंककारी संगठन र विशेष रूपमा वैश्विक आतंककारी संगठनका रूपमा सूचीबद्ध गरेपछि चीनको यो प्रतिक्रिया आएको हो।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले वक्तव्य निकालेर भनेका छन्, ‘चीन सबैखाले आतंकवादको कडा विरोध गर्दछ र २२ अप्रिलमा भएको आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गर्दछ। चीन क्षेत्रीय राष्ट्रहरूबीच आतंकविरोधी सहयोगलाई प्रवर्धन गर्न र सामूहिक रूपमा क्षेत्रीय सुरक्षाको संरक्षण गर्न आह्वान गर्दछ।’
चीनले अमेरिकी प्रयासको प्रशंसासमेत गरेको छ। अमेरिकी परराष्ट्र मन्त्रालयले टीआरएफलाई आतंकवादी संगठनको रूपमा चिनाउँदै यो समूह पाकिस्तानमा आधारित आतंककारी संगठन लश्कर–ए–तैयबाको छाया संगठन भएको स्पष्ट पारेको थियो।
अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियोले जारी गरेको वक्तव्यमा टीआरएफले पहलगाम आक्रमणको जिम्मेवारी लिएको उल्लेख गरिएको छ। आक्रमणलाई सन् २००८ मा मुम्बईमा भएको आक्रमणपछिको सबैभन्दा ठूलो आतंकवादी आक्रमण मानिएको छ।
अमेरिकी वक्तव्यमा टीआरएफले यसअघि पनि भारतीय सुरक्षाबलमाथि अनेकौँ आक्रमण गरेको तथ्य उल्लेख गरिएको छ। अमेरिकाले टीआरएफलाई विदेशी आतंककारी र वैश्विक आतंककारी संगठन दूवै रूपमा सूचीबद्ध गर्दै आतंकविरूद्धको वैश्विक लडाइँमा सबै राष्ट्रहरूलाई सहकार्य गर्न आह्वान गरेको छ।
यसै सन्दर्भमा चीनले पनि आतंकवादको कुनै पनि रूप र अभिव्यक्तिलाई अस्वीकार गर्दै क्षेत्रीय स्थायित्व र सुरक्षाका लागि साझा प्रयत्न आवश्यक रहेको बताएको छ।
प्रवक्ता जियानले अमेरिकाले आतंकवादविरुद्ध उठाएको कदमको स्वागत गर्दै भने, ‘हामी अमेरिकालगायत सबै पक्षद्वारा गरिएका आतंकवादविरूद्धका सबै प्रयासहरूलाई सकारात्मक रूपमा लिन्छौँ।’
आतंकवादविरूद्धको विश्वव्यापी सहकार्यमा चीन र अमेरिकाको समान लयलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ। विश्लेषकहरूले यसलाई दक्षिण एसियाली सुरक्षा परिवेशमा परिवर्तनको संकेत मानेका छन्।