
काठमाडौँ- सरकारको कार्यशैलीप्रति असन्तुष्ट बनेका सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्।
यसबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका कोइरालाले आइतबार आफू निकटका नेता र सांसदहरूसँग छलफल गरेका हुन्।
आइतबार उनले दुई चरणमा आफू निकटका नेता र सांसदहरूसँग छलफल गरे। बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा छलफल गरेका कोइरालाले दिउँसो दरबारमार्गको होटल याक एन्ड यतीमा आफू निकट नेताहरूलाई बोलाएका थिए। यो छलफलका बारेमा उनी निकटकै कतिपय सांसदहरूलाई जानकारी गराइएको थिएन।
भेटघाट र छलफलबारे आफूलाई जानकारी नभएको कोइराला निकट प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले बताए। ‘छलफलका लागि बोलाउनु भएको होला, मलाई थाहा भएन,’ यादवले भने। अनुपम फूडल्यान्डमा भएको छलफलमा कृषिमन्त्री रामनाथ अधिकारीसहित ९ जना र याक एन्ड यतीमा १२ जना सहभागी भएका थिए। नेता कोइरालाले उनीहरूसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।
प्रचण्ड, भण्डारीसँग भएको भेटपछि आफूनिकट नेताहरूसँगको छलफललाई तीब्रता दिएपछि कोइराला सत्तासमीकरण बनाउने कसरतमा जुटेको भनेर राजनीतिक वृत्तमा चर्चा चलेको छ। सरकारका साथै सरकारमा सहभागी आफ्नै पार्टीका मन्त्रीहरूको कार्यशैलीप्रति निरन्तर निराशा व्यक्त गरिरहेका नेताको पछिल्लो दौडधुप र भेटघाटले राजनीतिक वृत्तमा चलिरहेको चर्चालाई बल पुर्याएको छ।
कोइरालानिकट नेताहरू भने सरकार ढाल्ने अथवा सत्तासमीकरण फेरबदल गर्ने प्रयासस्वरूप यी भेटघाटहरू नभएको दाबी गर्छन्। नेता कोइरालाले पछिल्लो समय बढाएको दौडधुप र भेटघाटको सिलसिला विशुद्ध रूपमा सुशासन कायम गर्ने र बेथितिविरूद्ध केन्द्रित रहेको उनीहरूको भनाइ छ।
बाहिर चलेका सबै हल्लाहरू निराधार रहेको अनुपम फूडल्यान्डको छलफलमा सहभागी कांग्रेस सांसद हृदयराम थानीले बताए।
‘शेखरजी सरकार ढाल्ने कसरतमा हुनुहुन्छ अथवा संसदीय दलको नेता बन्न खोजिरहनुभएको छ, सत्तासमीकरण फेर्न खोजिरहनुभएको छ, यी सबै हल्ला निराधार हुन्। अनुमानका भरमा चलाइएका छन्,’ थानीले हिमालप्रेससँग भने, ‘यो अहिले सम्भव पनि छैन र उहाँले चाहनु पनि भएको छैन।’
उनका अनुसार छलफलका क्रममा नेता कोइरालाले पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराष्ट्रपति भण्डारीसँग भएको भेटबारे ब्रिफिङ गरेका थिए।
‘सुशासनको खस्किँदै गएको स्थितिप्रति उहाँ ज्यादै चिन्तित देखिनु भएको छ। प्रचण्ड र विद्याजीसँगको भेटमा पनि यही कुरा राखेको उहाँले बताउनुभयो,’ थानीले भने,‘हामीसँग पनि त्यही कुरा राख्नुभयो, हाम्रो सुझाव पनि लिनुभयो।’
राजनीतिक वृत्तमा कोइरालाको दौडधुपलाई प्रधामन्त्री बन्ने प्रयासको रूपमा अनुमान लगाइए पनि उनी कांग्रेस–एमालेबीच भएको सातबुँदे समझदारी पालना गर्न चुकिरहेकोमा निराश देखिएका छन्।
सरकार गठनका बेला भएका सहमतिहरू पालना गर्न सरकार असफल भइरहेकोमा कोइराला ज्यादै निराश भएको आफूले पाएको थानीले बताए। उनले सुशासनको पक्षमा सक्रिय भएर लाग्न सहभागीहरूले कोइरालालाई सुझाव दिएको उल्लेख गरे।
‘हरेक ठाउँमा बेथिति देखिएको छ। एकपछि अर्को भ्रष्टाचारका काण्डहरू बाहिर आइरहेका छन्, कानुन निर्माणमा पनि समस्या छ। सहमति एकथोक हुन्छ विधेयक अर्को ढंगले आइरहेको छ,’ थानीले भने, ‘सुशासनको ज्यादै खराब अवस्था छ। डाक्टरसाहेबले आफू सुशासनको अभियानमा लागेको र साथ दिन आग्रह गर्नुभयो।’
बाहिर हल्ला चलिरहे जस्तो सरकारको विकल्पबारे कुनै कुरा नभएको उनले दाबी गरे। थानीले भने, ‘सरकारको विकल्प खोज्नेबारे कुनै कुरा भएको छैन, खोज्न पनि हुँदैन भन्ने कुरा भएको छ। हामीले पनि यही सुझाव दिएका छौँ।’
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिक्रिया दिएपछि कोइरालाको दौडधुपलाई सत्तासमीकरण फेरबदलको कसरतका रूपमा हेर्न थालिए पनि अहिलेकै अवस्थामा यो सम्भव देखिँदैन। किनभने कांग्रेसको विधानले पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने व्यक्ति संसदीय दलको नेता हुनुपर्ने व्यवस्था छ।
संसदीय दलमा भएको मतका आधारमा कोइरालाका लागि नेता बन्न सम्भव देखिँदैन। यसको परीक्षण कोइराला समूहबाटै महामन्त्री निर्वाचित भएका गगन थापाले यसअघि नै गरिसकेका छन्।
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका उनी पराजित हुनुपरेको थियो। सत्तासमीकरण फेरबदल गर्ने कोइरालासँग रहेको अर्को विकल्प हो–कांग्रेसको विभाजन। यो विकल्प कोइरालाले किमार्थ गर्दैनन्।
त्यसैले उनी सरकारको नेतृत्व एमालेले गरिरहे पनि प्रतिनिधिसभाको ठूलो दल भएका कारण कांग्रेसको जवाफदेही बढी हुने भएकाले मुलुकमा सुशासन कायम गर्ने अभियानमा जुटेर सरकार र पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्न चाहि रहेका छन्।
कोइरालानिकट नेता गुरु घिमिरे संसदीय दलको नेता फेर्ने वा सरकार ढाल्ने प्रारम्भिक कदम नभएको बताए। ‘प्रारम्भिक कदम यो कदम होइन र हुँदैन पनि,’ उनले भने।
घिमिरेले अहिलेका भेटघाट र छलफलहरू मुख्यतः दुई विषयमा केन्द्रित रहेको बताए। पहिलो सरकार सञ्चालन र दोस्रो पार्टी सञ्चालन। एमालेसँग भएको सातबुँदे सहमतिअनुसार सरकार सञ्चालन हुन नसकेपछि बारम्बार प्रश्न उठाए पनि सुनुवाइ नहुँदा नेता कोइरालाले अहिलेको अभियानलाई अगाडि बढाएको उनको भनाइ छ।
‘सरकार जसरी चलिरहेको छ, इतिहासको राजनीतिक कठघारामा ठूलो दलको हैसियतले कांग्रेस उभिनुपर्छ। संसद विघटन, ओलीको सर्वसत्तावादी चरित्रलगायतका मुद्दालाई थाति राखेर कटुता रहेको दलसँग गठबन्धन गर्यौँ,’ घिमिरे भन्छन्,‘सातबुँदे सहमतिअनुसार न संविधान संशोधन अगाडि बढेको छ, न सुशासन कायम गर्न सकिएको छ। यी विषयहरू बारम्बार उठाउँदा पनि कहिँकतैबाट सुनुवाइ भएन। त्यसैले राष्ट्रिय एजेन्डा बनाउनुपर्ने आवश्यकता देखिएपछि पछिल्ला भेटघाटहरू भएको हो।’
पार्टीको तर्फबाट सरकार सञ्चालनका विषयमा देखिएका परम्परावादी चरित्रप्रति असहमति रहेको बताउँदै उनले यसलाई सुधार गर्नुपर्ने जिकिर गरे। यसमा पनि सुधार नभए पछि के हुन्छ भन्न नसकिने उनको भनाइ छ।
‘मूलत: सरकार सञ्चालनका विषयमा देखिएका परम्परावादी चरित्रप्रति असहमति हो, यसलाई सुधार गर्नुपर्छ भन्ने हो,’ घिमिरेले भने,‘यसमा पनि सुधार भएन भने अहिले प्रचण्ड र विद्या भण्डारीसँग भएका भेटघाटहरूको विकसित रूप के होला त्यो अहिले भन्न सकिन्न। यो कहाँ पुग्छ भन्न सकिँदैन।’
घिमिरेका अनुसार सातबुँदे सहमतिअनुसार संविधान संशोधन, सुशासन कायम गर्ने लगायतका विषयमा सरकार र कांग्रेसलाई सचेत गराउन दबाब सिर्जना गर्नकै लागि कोइरालाले पछिल्लो समय आफ्ना गतिविधिहरू अगाडि बढाएका छन्।
सरकार सञ्चालनका साथै पार्टी सञ्चालनका लागि सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति पनि नेता कोइराला असन्तुष्ट देखिएका छन्। खास गरेर हालसालै कांग्रेसका अनुशासन समितिले नेता कार्यकर्तामाथि गरेको कारबाहीप्रति कोइराला असन्तुष्ट बनेका हुन्। अनुशासनको कारबाही सच्याउन उनले सभापति देउवामाथि दबाब बनाइरहेका छन्। देउवाको पार्टी सञ्चालनको कार्यशैली निरंकुशतावादी भएको कोइराला समूहको आरोप छ।
‘पार्टी सञ्चालनको शैली पनि निरंकुशतावादी देखियो, एकलौटी तरिकाले पार्टी चलाइएको छ,’ घिमिरे भन्छन्,‘कारबाही बेमौसमी र विधानविपरीत हो। यसलाई सुधार गर्न पनि छलफलहरू चलाइएको हो।’