
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूले आइतबार कीर्तिपुरमा रहेको उपकुलपतिको कार्यालय घेराउ गरेका छन्।
संस्थानलाई शैक्षिक, आर्थिक र प्रशासनिक रूपमा पूर्ण स्वायत्त बनाउनुपर्ने मागसहित विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले ‘सपना थियो इन्जिनियर बन्ने, आन्दोलनकर्ता पो भयौं’ लगायतका नारा लगाउँदै उपकुलपतिको कार्यालय अगाडि धर्ना दिएका थिए।
स्ववियु अध्यक्ष स्वयं श्रेष्ठका अनुसार संस्थानको स्वायत्तता सुनिश्चित गर्न र पठनपाठन तत्काल सुरु गरियोस् भन्ने मागसहित हामी उपकुलपतिको कार्यालयमा पुगेका हौँ।
विद्यार्थीहरूले ‘कक्षाको ढोका खोल सरकार’, ‘अबको लडाइँ इन्जिनियरिङ अध्ययन संस्थानको बचाई’ भन्ने प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका थिए।
२०५५ सालमा बनेको विकेन्द्रीकरण नियमावलीअनुसार सञ्चालनमा रहेको संस्थानको अधिकार त्रिविले २०८० सालको बजेट वक्तव्यमार्फत कटौती गरेपछि विवाद चुलिएको हो।
शिक्षकहरू पनि २०८० सालदेखि नै अधिकार कटौतीको विरोधमा आन्दोलनरत छन्। हाल उनीहरूले पठनपाठन पूर्णरूपमा बन्द गरेका छन्। असार १९ देखि सुरु भएको आन्दोलनअन्तर्गत असार २५ देखि पठनपाठन ठप्प पारिएको हो।
विद्यार्थी र शिक्षक दुवैले इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्ततामाथि भइरहेको हस्तक्षेप तत्काल खारेज गर्नुपर्ने माग राखेका छन्।