
काठमाडौँ- तारकेश्वर नगरपालिकाले शिक्षा क्षेत्रमा देखाएको प्रतिबद्धता र नतिजामुखी पहलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८५ प्रतिशत सफलता हासिल गरेको छ। नगरप्रमुख कृष्णहरि महर्जनले गत बिहीबार पत्रकारहरूसँगको अन्तर्क्रियामा सो जानकारी दिएका हुन्।
नगरप्रमुख महर्जनका अनुसार शिक्षामा लगानी बढाएर शिक्षकलाई विद्यालयप्रति थप जिम्मेवार र उत्तरदायी बनाएपछि नतिजामा सुधार आएको हो। यसअघिको १ करोड ३० लाखको शिक्षा बजेटलाई बढाएर ९ करोड ५० लाख पुर्याइएको छ। ‘सुरुमा विद्यालयका प्रधानाध्यापकहरूसँग बैठक गरेर समस्या पहिचान गर्यौं,’ उनले भने,‘हामीलाई रिजल्ट चाहिन्छ, तपाईंहरूलाई जे चाहिन्छ त्यो नगरपालिकाले दिन्छ भनेर प्रतिबद्धता जनायौं।’
उनका अनुसार सामुदायिक विद्यालयहरूमा संरचनागत सुधार मात्र नभई शिक्षण सिकाइ सुधारका कार्यक्रम पनि प्रभावकारी रूपमा लागू गरिएको छ। महर्जनले थपे,‘शनिबार पनि पढाउने व्यवस्था गर्याैं। २३ वटा विद्यालयका ३ जना विद्यार्थीलाई शनिबार विशेष तयारी गरायौं। आइतबार ती विद्यार्थीहरू आफैँले अरू विद्यार्थीलाई सिकाए, जसले नतिजामा उल्लेखनीय सुधार ल्यायो।’
नगरपालिकाले प्रअसँग सम्झौता गर्दै शिक्षक दरबन्दी नपुगेका विद्यालयमा दरबन्दी पुर्याएको छ। साथै, विद्यालयमा विषयगत शिक्षकलाई नगदसहित सम्मान गरिएको छ। अभिभावकहरूलाई लक्षित सचेतना कार्यक्रम, अतिरिक्त कक्षा र शनिबारको शिक्षण कार्यक्रमका साथै प्रधानाध्यापकहरूलाई प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको बताइएको छ। महर्जन भन्छन्,‘प्रधानाध्यापक भनेको लिडर हो। जब लिडरले राम्रो गर्छ, तब नतिजा पनि राम्रो आउँछ।’
उनले क्षमताविहीन चार विद्यालयका प्रधानाध्यापकहरू परिवर्तन गरिएको समेत बताए। शिक्षा क्षेत्रको सुधारमा स्थानीय तहको सक्रियता र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै तारकेश्वर नगरपालिकाले आफ्नो प्रयासलाई अझ सुदृढ गर्दै लैजाने उनले बताए। अन्तर्क्रियामा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको पनि उपस्थिति थियो।