
फ्रेन्ड रिक्वेस्ट पठाउनु भएछ।
महत्त्व दिएझैँ लाग्यो। दंग परियो।
एसेप्ट गरेँ।
कथाकविता लेख्नुहुन्छ भन्ने थियो। रचनाहरू पोस्ट गर्नु हुँदोरहेछ। फेसबुक ग्रुप पनि रहेछ।
ती पोस्ट पढ्दा प्रारम्भमा रमाइलै लाग्यो। लाइक र कमेन्ट पनि गर्दै आएँ।
कमेन्ट पढ्नु हुँदो रहेछ। मेरा कमेन्टमा पनि उहाँको लाइकको चिह्न हुन्थ्यो।
फेसबुकमा धेरैजनाले लेख्छन्। ती सबै पढ्न र कमेन्ट गर्न पनि गाह्रो। यता, दालभात जुटाउने मेलो पनि गर्नैपर्ने।
उसो त म आफैँ पनि फेसबुकमा फोटो पोस्ट गर्छु। कनिकुथी मनका कुरा लेख्छु पनि। मेरो पोस्टमा उहाँको लाइक/कमेन्ट नहुने।
लाइक र कमेन्ट भनेको ऐँचोपैँचो जस्तै! त्यो मेरो मनले पनि खोज्दो रहेछ- मलाई पनि चाहिने भएछ। मेरो लाइक र कमेन्ट पनि कसोकसो मेरा पोस्टमा ककसले लाइक गरेका छन् भन्ने कुराबाट प्रभावित हुन थालेछ।
उहाँ लाइकसाइक नगर्ने।
केही यता उहाँ छुट्नु भएछस छुट्दै आउनु भएछ।
एक दिन भेटमा भन्नु भो- ‘हामी फेसबुकमा छैनौँ र ? कि फेसबुक चलाउनु हुन्न?’
मैले टाउको निहुराइरहेँ।
फेसबुकमा कोहीसँग फ्रेन्ड हुनुको अर्थ एकोहोरो उसको पोस्टमा लाइक÷कमेन्ट गर्नु मात्र हो र! कसैको फेसबुकमा फ्रेन्ड हुनु भनेको उसको पोस्टमा एउटा पाठकका रूपमा आफू थपिनु मात्र हो र!!
फेसबुक नाथे पनि नयाँनयाँ झमेला मात्र जन्माउँछ भन्या!!