
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मेमा भारत-पाकिस्तानबीच भएको संघर्षमा ‘पाँचवटा लडाकु विमान खसालिएको’दाबी गरेका छन्। उनले कुन देशका कतिवटा लडाकु विमान खसालिए भन्ने खुलाएका छैनन्। ट्रम्पको दाबी शुक्रबार ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँग भएको रात्रिभोजका क्रममा आएको बीबीसीले जनाएको छ।
यसअघि पाकिस्तानले भारतका ‘पाँच लडाकु विमान खसालिएको’ दाबी गरिसकेको छ। यद्यपि भारतले ती दाबी अस्वीकार गर्दै आएको छ। ट्रम्पको ताजा अभिव्यक्तिपछि भारतमा विपक्षी दल कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रश्न उठाएको छ।
कांग्रेसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, ‘ट्रम्पले भने- भारत-पाकिस्तानबीचको युद्धमा पाँच वटा जेट खसालिए। साथै २४ औँ पटक भने कि मैले व्यापारको धम्की दिएर भारत-पाकिस्तानको युद्ध रोकेँ। ट्रम्प लगातार यो कुरा दोहोराइरहेका छन् र नरेन्द्र मोदी मौन छन्। मोदीले व्यापारका लागि देशको सम्मानसँग किन सम्झौता गरे?’
मे अन्त्यतिर भारतीय सेना प्रमुख जनरल अनिल चौहानले पाकिस्तानसँग भएको सैन्य संघर्षका क्रममा भारतीय लडाकु विमान खसालिएको भन्ने दाबीबारे स्पष्ट प्रतिक्रिया दिएका थिए। उनले पाकिस्तानका तर्फबाट विमानहरूमा क्षति पुर्याएको भन्ने दाबीलाई पूर्णतः अस्वीकार गरेका थिए।
अर्कोतर्फ ट्रम्पले भारत-पाकिस्तानबीचको संघर्षविराम आफूले गराएको दाबी गर्दै आएका छन्। भारत र पाकिस्तानलाई व्यापार बन्द गर्ने धम्की दिएपछि मात्र दुवै देश संघर्षविरामका लागि तयार भएको ट्रम्पको दाबी छ।
मे सुरुतिर भारत र पाकिस्तानबीच सैन्य तनाव चुलिँदै गर्दा अमेरिकी उपराष्ट्रपति जेडी वान्सले भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी गरेका थिए। अमेरिकाले यस कुराकानीलाई संघर्षविराम गराएको रूपमै प्रस्तुत गर्यो। ट्रम्पले यसलाई ट्रुथ सोसल प्लेटफर्ममार्फत सार्वजनिक गरेका थिए।
केही दिनपछि भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले एक अन्तरवार्तामा संघर्षविराम पूर्णतः द्विपक्षीय रहेको र यसमा तेस्रो मुलुकको मध्यस्थताबाट नभएको बताएका थिए।
ट्रम्पले शुक्रबार राति ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूका अगाडि भने, ‘भारत र पाकिस्तानबीच पनि त्यही हुँदै थियो। त्यहाँ विमान खसालिँदै थिए। मलाई लाग्छ- वास्तवमै पाँचवटा जेट खसालिएका थिए। यी दुवै परमाणु हतियार सम्पन्न देशहरू एकअर्कामाथि आक्रमण गरिरहेका थिए।’
उनले पछिल्ला दिनमा इरानको परमाणु क्षमतालाई पूर्ण रूपमा नष्ट गरेको पनि दाबी गरेका छन्। व्यापारकै माध्यमबाट युद्ध रोकेको भनाइ उनको छ। ट्रम्पले भने, ‘भारत र पाकिस्तानबीचको संघर्ष बढ्दै गएको थियो। हामीले त्यसलाई व्यापारमार्फत समाधान गर्यौँ।’ ट्रम्पले भने गम्भीर प्रकृतिका युद्ध रोकिएको पनि बताए।
३१ मेमा भारतका सेना प्रमुख अनिल चौहानले पाकिस्तानका तर्फबाट गरिएको विमानमा क्षति पुर्याइएको भन्ने दाबी पूर्णतः खारेज गरेका थिए। ब्लुमबर्ग टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पत्रकारले चौहानलाई सोधेका थिए, ‘पाकिस्तानको दाबी छ- उसले भारतीय वायुसेनाका एकभन्दा बढी विमान खसालेको थियो, के तपाईं यसको पुष्टि गर्नुहुन्छ?’
जनरल चौहानले भनेका थिए, ‘वास्तवमा कुरा विमान खसे कि खसेन भन्ने होइन, महत्त्वपूर्ण कुरा के हो भने त्यो किन भयो।?
पत्रकारले फेरि सोधे, ‘कम्तीमा एउटा जेट खसेको कुरा त छ, के त्यो सही हो?’
जनरल चौहानले भने, ‘सबैभन्दा राम्रो कुरा के भयो भने हामीले हाम्रो ट्याक्टिकल (रणनीतिक) गल्ती बुझ्यौँ, त्यसलाई सच्यायौँ र दुई दिनभित्रै लागू पनि गर्यौँ। त्यसपछि हामीले सबै जेट उडायौँ र लामो दूरीका लक्ष्यहरूमा आक्रमण गर्यौँ।’
पत्रकारले फेरि जोड दिए, ‘पाकिस्तानको दाबी छ कि उसले भारतका छ वटा लडाकु विमान खसाल्यो, के त्यो मूल्यांकन सही हो?’
जवाफमा जनरल चौहानले भने, ‘त्यो बिल्कुलै गलत हो। तर जस्तो मैले भनेँ, यो जानकारी आफैँमा त्यति महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण कुरा के हो भने ती विमान किन खसे र त्यसपछि हामीले के गर्यौँ। हाम्रा लागि त्यही कुराहरू बढी महत्त्वपूर्ण छन्।’
क्वाड राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन गएका भारतका पराष्ट्रमन्त्री एस जयशंकरले अमेरिकी पत्रिका ‘न्युजविक’ सँगको अन्तर्वार्तामा भारत-पाकिस्तानबीचको संघर्षविराम पूर्ण रूपमा द्विपक्षीय रहेको उल्लेख गरेका छन्।
अन्तर्वार्ताका क्रममा पत्रकारले सोधे- ‘राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीचको कुराकानीपछि भारतले जारी गरेको विज्ञप्तिमा भारत-पाकिस्तानबीच कुनै पनि तेस्रो मुलुकको मध्यस्थता स्वीकार्य छैन भनिएको थियो। राष्ट्रपति ट्रम्पले भने संघर्ष रोक्न व्यापारलाई एक उपायका रूपमा प्रयोग गरिएको बताएका छन्। के यसले व्यापार सम्झौताको वार्तामा असर परेको हो?’
जवाफमा जयशंकरले भने- ‘म तपाईंलाई भन्न सक्छु, म सो कोठामा थिएँ, जब उपराष्ट्रपति जेडी वेन्सले प्रधानमन्त्री मोदीसँग कुरा गरेका थिए। उनले भनेका थिए- यदि हामीले केही कुरा मानेनौँ भने पाकिस्तानले भारतमाथि ठूलो आक्रमण गर्न सक्छ। तर प्रधानमन्त्रीमा पाकिस्तानका धम्कीहरूको कुनै असर परेको थिएन। बरु, उहाँले स्पष्ट रूपमा संकेत दिनुभयो कि भारतका तर्फबाट जवाफ अवश्य दिइनेछ।’
जयशंकरले थपे, ‘पाकिस्तानसँग हाम्रो सम्पूर्ण विषय द्विपक्षीय रूपमा नै समाधान हुन्छ।’
उनले भने, ‘यो त्यो रातको कुरा तपाईँलाई थाहा नै छ। त्यसै रात पाकिस्तानले भारतमाथि ठूलो आक्रमण गर्यो। हामीले तुरुन्त जवाफी कारबाही गर्यौँ। अर्को बिहान अमेरिकी सिनेटर मार्को रुबियोले मलाई फोन गरेर पाकिस्तान वार्ताका लागि तयार रहेको बताए। म तपाईँलाई त्यही भन्न सक्छु, जुन मैले आफ्नै आँखाले देखेँ, बाँकी तपाईँ बुझ्न सक्नुहुन्छ।’
यसैबीच जुनमा प्रधानमन्त्री मोदी जी-७ सम्मेलनमा सहभागी हुन क्यानडा पुगेका थिए। त्यहीँबाट उनले राष्ट्रपति ट्रम्पसँग फोनमा कुराकानी गरेका थिए।
त्यो कुराकानीको विवरण दिँदै भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले भनेका थिए-
‘प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई स्पष्ट रूपमा भनेका थिए- पाकिस्तानसँग भएको संघर्षविराम पूर्ण रूपमा द्विपक्षीय हो। कुनै तेस्रो मुलुकको मध्यस्थताबाट भएको होइन।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै पटक भारत र पाकिस्तानबीचको संघर्षविराम आफूले गराएको दाबी गर्दै आएका छन्। पाकिस्तानले ट्रम्पको दाबीको समर्थन गरेको थियो। संघर्षविरामपछि पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले भनेका थिए, ‘म राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गर्न चाहन्छु। वासिङ्टनले संघर्षविराममा महत्त्वपूर्ण भूमिका खेलेको छ।’
पाकिस्तानले संघर्षका क्रममा भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो। पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले भनेका थिए, ‘पाँच भारतीय विमान जसमा तीन राफेल, एक एसयू-३० र एक मिग-२९ छन् साथै एउटा हेरोन ड्रोन पनि खसालिएको छ।’
त्यसबेला भारतले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको थिएन। तर पछि भारतले पाकिस्तानका ती दाबी पूर्ण रूपमा अस्वीकार गर्यो।
यस प्रसंगमा इन्डोनेसियाको राजधानी जकार्तास्थित भारतीय दूतावासमा कार्यरत रक्षा सहचारीको भनाइले पनि निकै चर्चा पाएको थियो।
१० जुनमा भारतीय नौसेनाका अधिकारी क्याप्टेन शिवकुमार जकार्ताको एक विश्वविद्यालयमा आयोजित सेमिनारमा सहभागी भएका थिए। त्यस सेमिनारमा उनले भनेका थिए, ‘राजनीतिक नेतृत्वको आदेशका कारण केही बाधा उत्पन्न भएको थियो, जसले गर्दा प्रारम्भिक चरणको अभियानमा भारतीय वायुसेनाले पाकिस्तानी सैन्य प्रतिष्ठानहरूमा आक्रमण गर्न सकेन।’
उनले भनेका थिए, ‘हामीले केही विमान गुमायौँ र त्यो केवल यस कारणले भयो कि सैन्य प्रतिष्ठान वा हवाई रक्षा प्रणाली आक्रमण नगर्नु भन्ने राजनीतिक आदेश थियो।”
विमान गुमाएपछि रणनीति परिवर्तन गरेको उनको भनाइ छ। ‘हामी सैन्य प्रतिष्ठानहरूतर्फ उन्मुख भयौँ। हामीले पहिलो चरणमा शत्रुका हवाई सुरक्षा प्रणालीहरूलाई नष्ट गर्यौँ। त्यसकै कारण हामीले जमिनबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र र ब्रह्मोस मिसाइल प्रयोग गरेर आक्रमण गर्न सकेका थियौँ।’
यस बयानपछि भारतीय दूतावासले शिवकुमारका अभिव्यक्तिरू वास्तविक सन्दर्भबाट हटाएर प्रस्तुत गरिएको दाबी गरेको थियो।