
सुर्खेत– सुर्खेतमा पेस्तोललगायतका हतियार र लागुऔषधसहित दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ। पक्राउ परेका दुवै जनालाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२ वर्षका आदित्य घिमिरे छन्।
उनीहरूको साथबाट एक थान सेमी अटोमेटिक टाइप चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने म्यागजिन दुई थान, १२ राउन्ड गोली, ४ थान खुकुरी, २ थान चक्कु, १ थान बन्चरो, १ सय ४६ पत्ता ट्रमाडोल र नाइट्राजेपाम १४ सय २६ ट्याब्लेट, जरायोको सिंह १ थान बरामद गरिएको प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
कालिङचोकको कृष्णमन्दिर नजिकै घरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। बिहीबार राति उनीहरूलाई प्रकाउ गरिएको डीएसपी बुढथापाले बताए।
सुर्खेत प्रहरी प्रमुख सुधिरराज शाहीका अनुसार पक्राउ परेका विधान शाहीविरुद्ध २०७८ भदौ २७ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।
उनीसँगैका तीन जना पक्राउ परे पनि उनी फरार भएका थिए। उनीहरू लागुऔषध प्रयोगकर्ता र बेच्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको शाहीले बताए।