
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका छन्। पार्टीको पोलिटब्युरो बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्दै उनले भण्डारी सक्रिय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ उनलाई दुईपटक राष्ट्रपति बनाइएको बताएका हुन्।
बैठकमा सहभागी एक सदस्यले दिएको जानकारी अनुसार भण्डारीको सदस्यता हालसम्म नवीकरण नगरेको अध्यक्ष ओलीले बताएका छन्। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी भित्रको अराजकता रोक्नुपर्ने बताए।
`पार्टीलाई ठूलो र संगठित हमला छ,’ ती सदस्यले ओलीको भनाइ उद्दृत गर्दै भने, ‘यही बेला पार्टी भित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो। यो कुरा तत्काल रोकिनुपर्दछ। नरोकिए पार्टीले रोक्छ।´
प्रधानमन्त्री ओलीले राष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको बताए। सक्रिय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक रहेको उनको भनाइ छ।
पार्टी पद्धति र प्रक्रियाका विषयमा पार्टीभित्र छलफल हुने र पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित नभएको ओलीले बताए।