
काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकांश समय प्रयोग गर्ने एउटा वाक्य हो– एमालेले भ्रष्टाचार गर्दैन। म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीको मुख हेर्दिनँ। आफ्नै क्याबिनेटका दुई सदस्य मन्त्रीहरू राजकुमार गुप्ता र बलराम अधिकारीको घुसकाण्डसम्बन्धी अडियो प्रकरणको देशभर चर्चा चलिरहँदा पनि प्रधानमन्त्री ओली गृहजिल्ला झापामा यही शब्द दोहोर्याइरहेका थिए।
असार २९ गते एमाले झापाको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका उनले भनेका थिए, ‘केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन। हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने पार्टीजस्ता हुँदै होइन।’
प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफू र आफ्नो पार्टीलाई भ्रष्टाचारको कडा विरोधीका रूपमा प्रस्तुत गरिरहँदा उनकै पार्टीबाट सरकारमा सहभागी दुई मन्त्रीहरू भ्रष्टाचार काण्डमा मुछिएका छन्।
कास्कीको एउटा जग्गा खास व्यक्तिको नामसारी गर्ने गरी भएको लेनदेनमा ओली नेतृत्वको सरकारको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी मुछिए। पैसा लेनदेनसम्बन्धी बाहिरिएको अडियोमा गुप्ताको आवाज प्रस्ट सुनिन्छ। त्यही अडियोमा उनले बिचौलियासँग ‘बलरामले पैसा खाइसकेको छ, काम गर्दैन’ भनेका छन्।
गुप्ताले घुस लेनदेनसम्बन्धी अडियो बाहिरिए पनि यो प्रकरणमा आफू संलग्न नभएको दाबी गुप्ताले निरन्तर गरिरहे। यहाँसम्म कि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा समेत उनी सहभागी भए। ‘भ्रष्टाचारीको मुख हेर्दिनँ’ भनिरहने प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् बैठकमा गुप्ताको मुख हेर्नुपर्यो। घुस प्रकरणबाट उम्किन गुप्ताले बाहिर सार्वजनिक भएको अडियोमा एआई प्रविधि प्रयोग गरेर आफ्नो आवाज बनाइएको दाबीसमेत गरे। तर चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री ओलीको निर्देशनमा उनी राजीनामा दिन बाध्य भए।
अडियो प्रकरण सार्वजनिक हुँदा पनि प्रधानमन्त्री ओलीले मन्त्रीलाई च्यापिरहनुमा एमाले नेता महेश बस्नेतलगायतका केही नेताको दबाब रहेको ओली निकट एक केन्द्रीय सदस्यले बताए। ती नेताले भने, ‘अडियो प्रकरण बाहिर आउनेबित्तिकै प्रधानमन्त्रीज्यू हटाउन खोज्दै हुनुहुन्थ्यो। महेश बस्नेतलगायतका केही नेताले प्रधानमन्त्रीलाई नै दबाब दिएपछि मन्त्री गुप्ताको राजीनामा आउन विलम्ब भएको हो।’ अधिकारी प्रकरणमा भने आफूलाई त्यति जानकारी नभएको ती नेताको दाबी छ।
सुशासन, समृद्धिलगायतका सातबुँदे समझदारी गरेर नेपाली कांग्रेसको सहकार्यमा गठन भएको यो सरकारका मन्त्रीहरूले गरिरहेको बेथिति पछिल्लो अडियो प्रकरणबाट नांगेझार भएको छ।
साथै प्रधानमन्त्री ओलीसामु दुई प्रश्न तेर्सिएका छन्– घुस ‘डिल’ प्रकरणमा मुछिएर गुप्ताले राजीनामा दिएपछि उन्मुक्ति पाएका हुन् त? त्यस्तै ‘घुस लिइसकेको’ भनेर गुप्ताले नाम लिएका भूमि व्यवस्थामन्त्री अधिकारीमाथि के कारबाही हुन्छ?
सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिइरहेको वर्तमान सरकारमाथि प्रहार गर्न पछिल्लो घुस प्रकरणले विपक्षी दलहरूलाई दरिलो मुद्दा हात लागेको छ। विपक्षी दलहरूले राजीनामा मात्रै दिएर यो प्रकरणमा मुछिएकाहरूलाई उन्मुक्ति दिन नहुने तर्क गरिरहेका छन्।
सरकार भने गुप्तालाई राजीनामा दिलाएर यो प्रकरण सामसुम पार्न सक्रिय देखिएको छ। एउटा मन्त्रीसँग राजीनामा लिए पनि यही प्रकरणमा नाम जोडिएका अर्का मन्त्रीमाथि छानबिन गर्न तदारुकतासमेत देखाएको छैन, सरकारले।
छानबिनका लागि सरकारले तदारुकता नदेखाएपछि यो प्रकरणमा नाम जोडिएका भूमि व्यवस्थामन्त्री अधिकारी भने झनै हौसिएका छन्। उनले आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरेका छन्। बिहीबार मन्त्रालयमै पत्रकार सम्मेलन गरेर उनले घुस प्रकरणमा आफ्नो संलग्नता नभएको बताए।
केही मान्छे अभीष्ट पूरा गर्न आएको र उनीहरूको काम नगरेपछि चरित्र हत्या गरेको मन्त्री अधिकारीको दाबी छ। ‘केही बिचौलिया आफ्नो अभीष्ट पूरा गर्न आएका थिए। मैले अस्वीकार गरेँ, हुन्न भनेपछि मेरा विरुद्ध लाञ्छनायुक्त कुरा आएका हुन्,’ अधिकारीले भने।
घुस प्रकरणमा मुछिएर पदबाट राजीनामा दिएका गुप्ताका अनुसार उनी र मन्त्री अधिकारी २०७० सालदेखिका सहयात्री हुन्। २०७० सालको दोस्रो संविधानसभामा दुवैजनाको मित्रता भएको गुप्ताले बताएका छन्।
तिनै गुप्ता घुस प्रकरणमा मुछिएको अडियोमा अधिकारीतर्फ इंगित गर्दै ‘बलरामले पैसा लिइसकेको’ सुनिन्छ। बहालवाला मन्त्रीले अर्को मन्त्रीमाथि यस्तो आरोप लगाइसक्दा समेत अधिकारी कारबाहीको दायरामा आएका छैनन्।
विपक्षीका साथै कतिपय सत्तारुढ दलकै नेताहरूले राजीनामा मात्रै उन्मुक्ति नभएको भन्दै गुप्ता र अधिकारीमाथि छानबिन गरेर कारबाहीको दायरामा ल्याउन माग गरिरहेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच बिहीबार भएको भेटवार्ताले पनि सरकार भ्रष्टाचारमा लिप्त भएको निष्कर्ष निकालेको थियो।
‘सरकारले राम्रो काम गर्न सकेन, आशाभन्दा निराशा बढाउने काम ग¥यो। भ्रष्टाचार र बेथिति बढाउने काम भएको छ। सरकारका धेरै निर्णयहरूमा समस्या देखिएको,’ दुवै नेताको निष्कर्ष रहेको प्रचण्डको सचिवालयले जनाएको छ।
बिहीबार नै पार्टीसम्बद्ध एउटा कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार भ्रष्टाचारमा लिप्त रहे चाँडै सडकबाटै आन्दोलन गरेर प्रतिवाद गर्नुपर्ने अवस्था आउनसक्ने बताए।
विपक्षी दल राप्रपाले घुस लेनदेनमा परेर राजीनामा गरेका मन्त्री गुप्तालाई पक्राउ गर्नुपर्ने माग गरेको छ। राप्रपाले भ्रष्टाचारी पक्राउ गर्न माग गर्दै शुक्रबार टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा धर्ना पनि दियो।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही भ्रष्टाचार गरेको व्यक्तिले राजीनामा गर्दैमा उन्मुक्ति पाउन नमिल्ने बताउँछन्।
‘मन्त्री क्वार्टरमा पैसा दिएको छ, राजीनामा दिएर स्वीकृत हुन्छ?,’ उनी भन्छन्, ‘राजीनामा दिएकै भरमा उन्मुक्ति दिन पाइँदैन, पक्राउ गरेर छानबिन हुनुपर्छ।’
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि गुप्तामाथि छानबिन गर्नुपर्ने माग गरेको छ। राजीनामा छानबिन सहज बनाउने आधारमात्र रहेको उल्लेख गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छानबिन गरी दोषी देखिए कारबाही गर्नुपर्ने बताउँछन्।
रास्वपाले गुप्ताका साथै उनले नाम लिएका अर्का मन्त्री अधिकारीमाथि पनि छानबिन हुनुपर्ने माग गरेको छ। प्रमुख सचेतक सन्तोष परियारले यो प्रकरणमा गुप्ता र उनले नाम लिएका सबै व्यक्तिमाथि छानबिन गर्नुपर्ने बताउँछन्।
राजीनामा दिँदैमा उन्मुक्ति दिन नहुने उल्लेख गर्दै परियारले उनले पोलेका सबै व्यक्तिमाथि छानबिन गर्न आफूहरूले माग गरेको बताए।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको जसपा नेपालले मधेशी भएकै कारण एकैखाले प्रकरणमा गुप्ता निसानामा परेको आरोप लगाएको छ। घुस प्रकरणमा भूमि व्यवस्थामन्त्री अधिकारीको विषयमा सरकार मौन रहेको भन्दै जसपा नेपालले आपत्ति जनाएको हो।
प्रधानमन्त्री ओलीलाई ‘बा’ सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले ‘बालुवाटार र च्यासलको शीरमा राज रहुन्जेल मन्त्री अधिकारीलाई जे गर्न पनि छुट भएको’ बिहीबार सामाजिक सञ्जालमा लेखेको थियो।
‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन। बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छुट छ,’ सचिवालयले लेखेको थियो।
उस्तै प्रकृतिको भ्रष्टाचारको आरोपमा मधेशी भएकै कारण गुप्तालाई पदबाट राजीनामा दिन बाध्य पारिएको उपेन्द्रको सचिवालयको भनाइ थियो।
‘सामान्य प्रशासनमन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए र उनलाई राजीनामा दिन बाध्य पारियो। बिचौलिया, कमिसनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरे नि ‘बा’ को शिरमा विराजमान भइरहन्थे,’ उपेन्द्रको सचिवालयले लेखेको थियो।
यद्यपि उपेन्द्रको सचिवालयले घुस प्रकरणबारे गरेको टिप्पणी सामाजिक सञ्जालबाट केहीबेरमै हटाइएको थियो।
यसअघि पनि नेताहरूले पाएका छन् उन्मुक्ति
एमाले नेता गुप्ता र मन्त्री अधिकारी जोडिएको घुस ‘डिल’ सम्बन्धमा सार्वजनिक भएको अडियो पहिलो होइन। घुस प्रकरणसँगै जोडिएका अडियोहरू यसअघि पनि सार्वजनिक भइसकेका छन्। यस्ता प्रकरणमा जोडिएका सम्बन्धित मन्त्री र नेताहरूले उन्मुक्ति पाएका छन्। आबद्ध राजनीतिक दलहरूले उनीहरूलाई संरक्षण गर्दै आएका छन्।
घुस प्रकरणसँग जोडिएको एमाले र माओवादी केन्द्रका नेताहरूको अडियो सार्वजनिक भए पनि छानबिन नभई उनीहरूले उन्मुक्ति पाए।
२०६७ सालमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको यस्तै प्रकृतिको अडियो सार्वजनिक भएको थियो। जसमा उनले एक चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ माग गरेका थिए। अडियोमा उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन र सांसद खरिद गर्नुपर्ने भन्दै रकम मागेको सुनिन्थ्यो।
चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ मागेको अडियो टेप सार्वजनिक भए पनि महरामाथि अनुसन्धान भएन। पदाधिकारीविहीन अवस्थामा रहेको त्योबेलाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख थिए भगवतीकुमार काफ्ले। उनले महरामाथि अनुसन्धान अघि बढाउन सकेनन्।
त्यस्तै २०७६ सालमा एमाले नेता एवं तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको यस्तै खाले अडियो सार्वजनिक भएको थियो। सेक्युरिटी प्रेस खरिदबारे भएको संवादमा ७५ करोड डिलसम्बन्धी बाँस्कोटाको अडियो सार्वजनिक भएको थियो।
तत्कालीनमन्त्री बाँस्कोटाले स्विस कम्पनी केबीए नोटासिसका नेपाल प्रतिनिधिसँग कमिसनबारे त्यो अडियोमा छलफल गरेका थिए। उनले कम्पनीका एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग कसरी जाँदा बढी कमिसन पाइन्छ भनेर सल्लाह गरेका थिए।
बाँस्कोटाको घुस प्रकरणसम्बन्धी सार्वजनिक अडियोका सम्बन्धमा अख्तियारले छानबिन गरे पनि अहिलेसम्म निर्णय दिन सकेको छैन।
त्यस्तै रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न हाल हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो पनि गत वर्ष सार्वजनिक भएको थियो। श्रेष्ठले पैसा मागेको अडियो प्रसाईँ आफैँले सार्वजनिक गरेका थिए।
राज्यका तर्फबाट कुनै कारबाही नभए पनि अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई सांसद पदबाट बर्खास्त गरेको थियो।