भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

हिमाल प्रेस २ साउन २०८२ ६:०३
10
SHARES
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो भरतपुर महानगरपालिका। तस्बिर : महानगर वेबसाइट

चितवन- भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी दुवै बढाएको छ। पुँजीगत खर्च र राजस्व संकलन दुवै बढेको हो। महानगरपालिकाले गत आवमा रु एक अर्ब ३६ करोड ६८ लाख ६१ हजार राजस्व संकलन गरेको छ। जुन अघिल्लो आवको भन्दा रु पाँच करोड ७६ लाख ९६ हजार बढी हो।

महानगरपालिकाका राजस्व महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन भएको छ। कार्यालयले रु एक अर्ब ८० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। लक्ष्य लिँदा मालपोत कार्यालयबाट रु ७८ करोड राजस्व संकलन हुने अनुमान गरिएकामा रु ५२ करोडमात्र संकलन भएको हो।

यस्तै ढंगा, गिट्टी, बालुवाको वातावरणीय प्रभाव मूल्यांकन ढिला हुँदा राजस्वमा केही कमी आएको हो। अर्यालले सम्पत्ति कर लक्ष्यभन्दा दोब्बर उठेको बताए। रु आठ करोड ७८ लाख लक्ष्य रहेकामा रु १५ करोड ८० लाख राजस्व संकलन भएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले व्यवसाय बन्द भएका कारण ती क्षेत्रको राजस्व घटेको र घर बन्ने क्रम घटेकाले नक्सापास कम भएको बताए। सिफारिस र दस्तुर शुल्क किन घट्यो खोजी भइरहेको उनले बताए। सम्पत्ति करको दायरामा महानगरवासी आएकाले लक्ष्यको दोब्बर बढेको उनी बताउँछन्।

त्यसैगरी, खर्च अघिल्लो आवको तुलनामा करिब १२ प्रतिशत बढाउन सकिएको उनले बताए। पुँजीगत खर्च रु एक अर्ब ६८ करोड १५ लाख २३ हजार भएको छ। यो लक्ष्यको ६१ दशमलब ७१ प्रतिशत हो। अघिल्लो आवमा ५० दशमलव ४३ प्रतिशतमात्र पुँजीगत खर्च भएको थियो। त्यस वर्ष रु एक अर्ब ८६ करोड ७७ लाख ४७ हजार खर्च भएको थियो।

पौडेलका अनुसार संघ र प्रदेशबाट प्रशासनिक भवन र रंगशालालाई प्राप्त बजेटलाई पुँजीगत खर्चमा समावेश गरिएको छैन। यसलाई समेत समावेश गर्दा ७० प्रतिशत प्रगति हुन आउने पौडेल बताउँछन्।

प्रकाशित: २ साउन २०८२ ६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast