
काठमाडौँ- हङकङमा ‘नेपाल पर्यटन प्रवद्र्धन गोष्ठी २०२५’ सम्पन्न भएको छ। नेपालको महावाणिज्य दूतावासको आयोजनामा गोष्ठी सम्पन्न भएको हो।
हङकङका स्थानीय पर्यटन क्षेत्रका प्रतिनिधहिरूसँग नेपालका पर्यटनबारे अन्तरक्रियाका साथै हङकङका पर्यटकको प्राथमिकता बुझ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महावाणिज्य दूतावासले जनाएको छ। कार्यक्रममा हङकङ पोलिटेक्निक विश्वविद्यालयअन्तर्गत होटल तथा पर्यटन व्यवस्थापन संकायका डीन प्राध्यापक के चोन विशेष अतिथि रहेका थिए।
उनले नेपाल भ्रमणको स्मरण गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको प्रशंसा गरे। साथै उनले नेपालमा पर्यटन पूर्वाधारको सुदृढीकरण र नवप्रवर्तनको आवश्यकतामाथि जोड दिए।
महावाणिज्यदूत डा.विन्देश्वरप्रसाद लेखकले नेपालमा पर्यटनको सम्भावना र प्रवासी नेपालीहरूको पर्यटन प्रवद्र्धनमा भूमिका तथा लगानीको आवश्यकताबारे प्रस्ट पारे।
नेपाल एयरलाइन्सका हङकङका कन्ट्री म्यानेजर मिगी केसी र नेपाल पर्यटन प्रवद्र्धक प्रकाश पुनले नेपालको पर्यटकीय स्थलबारे जानकारी गराएका थिए।
‘हङकङका पर्यटकहरूको प्राथमिकता अनुरुप नेपाल पर्यटन उत्पादनको समायोजन’ शीर्षकमा आयोजिन सामूहिक छलफल कार्यक्रमको मुख्य आकर्षण रहेको थियो।
यसमा पर्यटन तथा आतिथ्य सेवा विज्ञहरू प्राध्यापक क्याथरिन चेउङ, प्राध्यापक अडा लो र प्राध्यापक रोशिस कृष्ण श्रेष्ठ सहभागी भएका थिए।
सामूहिक छलफलमा हङकङका पर्यटकहरूको रुची, पर्यटन व्यवसायमा एआई र डिजिटल प्लेटफर्मको प्रयोग तथा वैकल्पिक उपायहबारे छलफल गरिएको थियो।