राप्रपा नेताहरूको आरोप : अध्यक्षको स्वेच्छाचारी निर्णयले पार्टीलाई गम्भीर क्षति पुगेको छ

हिमाल प्रेस १ साउन २०८२ २०:२०
22
SHARES
राप्रपा नेताहरूको आरोप : अध्यक्षको स्वेच्छाचारी निर्णयले पार्टीलाई गम्भीर क्षति पुगेको छ राजेन्द्र लिङ्देन /फाएल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको स्वेच्छाचारी निर्णयले पार्टीलाई अपूरणीय क्षति पुगेको आरोप लगाएका छन्। उपाध्यक्षद्वय विक्रम पाण्डे र मुकुन्दश्याम गिरी तथा महामन्त्रीद्वय डा.धवलशम्शेर राणा र कुन्ती शाहीले बिहीबार संयुक्त विज्ञप्ति निकालेर यस्तो आरोप लगाएका हुन्।

उच्चस्तरीय बैठकमा भएको सहमतिविपरित अध्यक्ष लिङ्देनले वरिष्ठ नेता नवराज सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट विधानविपरित हटाएर गलत सन्देश प्रवाह गरेको उनीहरूले बताएका छन्।

‘पूर्वध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको निवासमा शीर्ष नेतृत्वको बैठक बसेको थियो। पूर्वअध्यक्ष डा.लोहनीको अतिरिक्त बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपति शम्शेर जबरा, वरिष्ठ नेता तथा अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र पार्टी नेता हरिबहादुर बस्नेतको उपस्थिति थियो। सौहार्दपूर्ण सम्पन्न उच्चस्तरीय बैठकमा भएको समझदारीअनुरुप नेता सुवेदीलाई अध्यक्ष लिङ्देनले ‘दाइ पार्टीमा पूर्ववत् रुपमा प्राप्त जिम्मेवारी पूरा गर्न सशक्त भएरे अघि बढ्नुहोस भन्नुभएको हो’’ विज्ञप्तिमा भनिएको छ।

नेता सुवेदीमात्र नभएर भारतमा क्यान्सरको उपचार गरिरहेको बखत महामन्त्री राणालाई संगठन विभागको प्रमुखबाट, सगुन सुन्दर लावतीलाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधानविपरित हटाइएको उनीहरूले बताएका छन्।

संवैधानिक राजसंस्था, सनातन हिन्दू अधिराज्यलगायतका लक्ष्य प्राप्त गर्न निष्ठापूर्वक क्रियाशील नेताहरूलाई यसरी शृंखलावद्ध रूपमा एकलौटी गरिएको कारबाहीबाट पार्टीपंक्ति र जनमानसमा शंका उब्जिएको चार नेताहरूको भनाइ छ।

उनीहरूले विधानको विधि र सीमा नाघेर एकलौटी रूपमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू थप्ने तथा हटाउने कार्य हुँदै आएकोमा भन्दै आपत्ति जनाएका छन्। विधानविपरित भएका निर्णयहरू सच्याउँदै पार्टीभित्र आपसी विश्वास र एकताको वातावरण सिर्जना गर्न उनीहरूले नेतृत्वलाई ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: १ साउन २०८२ २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast