
बुटवल– ग्रामिण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै प्रमुख कार्यकारी अधिकृतको ध्यानाकर्षण गराएका छन्।
गत असार २८ गते औपचारीकतामा मात्रै सीमित गरी दशौँ साधारणसभा गरेको तथा मर्जरको निर्णय खारेजीको माग गर्दै संस्थापक महिला शेयरधनीहरुले प्रधान कार्यालय बुटवलमा पुगेर प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाललाई ध्यानाकर्षण गराएका हुन्।
विभिन्न खालका जालझेल र छलछाम गरी राष्ट्रियस्तरको लघुवित्त संस्थालाई तीन जिल्ला कार्यक्षेत्र भएको सानो संस्थासँग मर्ज गर्ने निर्णय तत्काल खारेज गर्न माग गर्दै शेयरधनी महिलाहरुले संचालक समितिलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
शेयरधनी महिलाहरुले सर्लाहीको मलंगवास्थित समाज लघुवित्त वित्तिय संस्था लिमिटेडसँग गाभ्ने साधारण सभाको निर्णय उचित कारण नदेखिएको भन्दै तत्काल खारेज गर्न अपिल गरेका छन्।
ध्यानाकर्षण पत्र बुझाउदै संस्थापक महिला शेयरधनी तथा पूर्वसंचालक जमुना ढकालले संचालक समितिले छलछाम र जालसाजी गरि अन्यायपुर्ण ढंगले साधारण सभा गरेको आरोप लगाउदै अधिकांश महिला शेयरधनीहरुको भावनामाथि खेलवाड गरी अन्यायपुर्ण निर्णय गरेको बताइन्।
लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेकी ढकालले कथित साधारणसभाको निर्णय तत्काल सच्याउन माग गर्दै माग पूरा नभए कडा आन्दोलनमा जाने चेतावनी दिइन्।
उनले भनिन्, ‘पटकपटक स्थान परिवर्तन गरेर, अधिकांश महिला शेयरधनी र कर्मचारीहरुलाई गुमराहमा पारेर गर्न खोजेको के हो? एकातिर बोलाएर अर्कोतिर साधारण सभा गर्ने, प्रवेशका लागि छुट्टै पासको व्यवस्था गरेर झुक्याउने, १० हजारभन्दा बढी शेयर सदस्य भएको संस्थाको साधारणसभा होटेलको पाँचौं तलामा १०र१५ जना बसेर गर्ने? यो सरासर गलत हो, निर्णय सच्याउनु पर्छ।’
यसअघि असन्तुष्ट शेयरधनी महिलाहरुले नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय भैरहवाका प्रमुख रमेश अर्याललाई भेटी ध्यानाकर्षणपत्र समेत दिएका छन्। ध्यानाकर्षण पत्र बुझाउँदै शेयरधनी महिला पुनम लिगलले नेपाल राष्ट्र बैंकलाई समेत गुमराहमा पारेर गरिएको साधारणसभाको निर्णय नमान्ने बताइन्।
‘सामान्य एउटा वित्तीय संस्थाको साधारणसभामा हातहतियार गोलीगट्टासहितका प्रहरीहरु तैनाथ गरेर, संस्थासँग असम्बन्धित व्यक्तिहरु भाडामा ल्याएर गुण्डागर्दी शैलीमा सभास्थललाई घेराबन्दी गरेर, कर्मचारी र शेयरधनीहरुलाई प्रवेशमा रोक लगाएर के गर्न खोजिएको हो? संचालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमाथि तत्काल छानविन गरि कारबाही गरिनुपर्छ,’ उनको माग छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले ५५० जना कर्मचारी नियुक्ती गर्दा गैरकानुनी र अपारदर्शी ढंगले भर्ना गरेको, महँगा गाडी खरिद गरेको आदि विषय उनीहरुले उल्लेख गरेका छन्।
संस्थाको संचालक समितिको बैठक केन्द्रीय कार्यालय बुटवलमा नगरी काठमाडौँको तारे होटेलहरुमा गर्ने, प्रमुख कार्यकारी अधिकृत काठमाडौँ जाँदा आफू जहाजबाट जाने र गाडी सडक मार्गबाट पठाउने गरेको लगायत संस्थाको हितविपरित आर्थिक अपचलन गरेकोलगायतका आरोप लगाएका छन्।
लघुवित्तले भने कर्मचारीको आन्दोलन र शेयरसदस्यहरुलाई समेत बस्न नदिएर कुर्सी साक्षी राखेर साधारणसभा गरेको थियो। उक्त साधारणसभाले समाज लघुवित्तसँग मर्ज गर्ने निर्णय गरेको छ।