इटहरीका मेयरले मनोमानी गरेको भन्दै विरोधमा उत्रियो एमाले

हिमाल प्रेस १ साउन २०८२ १७:५५
28
SHARES
इटहरीका मेयरले मनोमानी गरेको भन्दै विरोधमा उत्रियो एमाले

इटहरी– इटहरी उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेलले बजेट निर्माणमा मनोमानी गरेको भन्दै नेकपा एमाले विरोधमा उत्रिएको छ।

आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन नसक्नुमा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख पौडेलकै लापरवाही र असंवेदनशीलताले मुख्य भूमिका खेलेको नेकपा एमाले इटहरीले आरोप लगाएको छ।

एमालेबाट उपप्रमुख रहेकी संगीता कुमारी चौधरीसहित एमाले जनप्रतिनिधिहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै अनुसूचीविनाको विनियोजन विधेयक पेस गरी बजेटलाई नगर प्रमुख पौडेलले मनोमानी शीर्षकहरूमा खर्च गरी दुरुपयोग गर्ने गरेको उल्लेख गरिन्।

सोहीकारण महालेखा परीक्षकको प्रतिवेदनमासमेत बेरुजु हुने गरेको देखिएको र विनियोजन विधेयक (अनुसूचीसहितको) ल्याउन पटकपटक प्रयत्न र अनुरोध गर्दा पनि शाखा, महाशाखा, वडा शिक्षालगायतको अनुसूची असार मसान्तसम्म उपलब्ध नगराएकोले अनुसूचीसहितको विनियोजन विधेयक तयार गर्न नसकिएकोले सभामा पेस गर्न असमर्थ रहेको चौधरीले बताइन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार, असार १० गतेभित्र नीति तथा कार्यक्रम नगरसभामा पेस भइसक्नुपर्ने कानुनी व्यवस्था छ। एमालेका अनुसार, बजेट निर्माणका चरणहरू समयमा नै सम्पन्न हुनुपर्नेमा प्रमुख प्रशासकीय अधिकारीको संयोजन र नगर प्रमुखको समन्वयमा त्यसो हुन नसक्दा बजेट नआएको हो।

उपप्रमुखको संयोजकत्वमा रहेको राजस्व परामर्श समितिले आम्दानी, खर्चसहितको श्रोत प्रक्षेपण तयार पारेर सम्बन्धित समितिमा पठाए पनि नगर प्रमुख पौडेलले समयमै कार्यपालिकाको बैठक आह्वान नगरेका कारण नीति तथा कार्यक्रम हतारमा असार १० गते मात्रै नगरसभामा प्रस्तुत गरिएको थियो।

त्यसपछि पटक–पटक नगरसभा स्थगित गरिएको र अन्ततः असार ३० गते सभा बोलाइए पनि नगर प्रमुख र सभाध्यक्ष अनुपस्थित भएपछि सभा सञ्चालन हुन नसकेको एमालेको दाबी छ।

उपप्रमुख चौधरीले विगतमा अनुसूचीविनै विनियोजन विधेयक पारित गरी नगर प्रमुखले मनोमानी ढंगले खर्च गरेको र त्यसकै कारण महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु समेत देखिएको उदाहरण प्रस्तुत गरेकी छन्।

यसपटक पनि अनुसूची नआएकाले बजेट सभासमक्ष प्रस्तुत गर्न नसकिएको चौधरी बताउँछिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast